विराटनगर । न्यूनतम साझा कार्यक्रम ल्याउने तरखरमा छ १ नम्बर प्रदेश सरकार । जसको मस्यौदा बनाउन पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा समिति गठन भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सहभागी बैठकले आङ्बोको नेतृत्वमा मस्यौदा समिति गठन गर्ने सहमति गरेको हो । समितिमा एमालेबाट पूर्वमन्त्री रामबहादुर राना मगर र सत्ता गठबन्धनका अन्य दलहरु राप्रपा र जसपाबाट एक एक जना सदस्य रहनेछन् । समितिले छिट्टै मस्यौदा बनाएर सरकारलाई दिने संयोजक आङ्बोले बताए ।
पुस २५ मा प्रदेश १ सरकार गठन भएपनि हालसम्म सरकारले पूणर्ता पाएको छैन । नियुक्त भएका ६ जना मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन ।
प्रदेश १ सरकारलाई पूणर्ता दिन तथा दलहरुबीचको भागबण्डा टुंग्याउने विषयमा सत्तारुढ गठबन्धन दलको बैठक दुई दिनयता लगातार बसिरहेको छ । नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज बस्ने बैठकले निष्कर्ष निकाल्न सक्ने बताए ।


133 पटक हेरिएको 












