सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुनेछ: प्रधानमन्त्री दाहाल

पथरी । सहिदहरूको सपनालाई साकार पार्ने कार्यमा सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेकोे प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन ।
आज बिहान् शुभकामना शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले भनेका छन, `सहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामवद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने संकल्प गर्न म आम जनसमुदायमा हार्दिक अपील गर्दै जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।´ उनले हालैको उपलब्धी शहिदहरुको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव बताउदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन ।
सन्देशको पूर्ण पाठ

शुभकामना सन्देश

तानाशाही र निरंकुश व्यवस्थाका विरूद्ध संघर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूको बलिदानी भएको दिनलाई हामीले सहिद दिवसको रूपमा स्मरण गर्दै आएका छौँ । आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो । यस सन्दर्भमा परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरणसहित उच्च सम्मान व्यक्त गर्दछु । आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु ।

राणाकाल सुरू हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत् नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु ।

सहिदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक छ । सहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामवद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने संकल्प गर्न म आम जनसमुदायमा हार्दिक अपील गर्दै जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित छ । आजको यस ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित फेरि एकपटक सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न म स बैमा हार्दिक आव्हान गर्दछु ।

१६ माघ, २०७९

पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार