कार्यदलले न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री कार्कीलाई बुझायो

विराटनगर । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम बुझाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कार्यदल संयोजक आङ्बो, स्वास्थ्य मन्त्री निर्मला लिम्बु, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष राजकुमार यादबलगायत कार्यदल सदस्यहरुको उपस्थितिमा बुझाएको थियो ।
एमाले-माओवादी-राप्रपा-जसपासहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने कार्यक्रम तय गरी मंगलबार बुझायो । गठबन्धनले ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ को लक्ष्य प्राप्तिका लागि ११ क्षेत्रलाई समेटेर साझा कार्यक्रम तयार गरेको हो । न्यूनतम साझा कार्यक्रममा प्रदेशको नामकरण गर्ने, प्रदेश सरकारका प्रशासनिक संरचना निर्माण गर्ने, संवैधानिक अधिकार प्रदेश मातहत ल्याउनेलगायत विषय समावेश छन् । त्यस्तै लोकसेवा आयोगलाई सुदृढ गरी प्रदेशको जनशक्ति आपूर्ति गर्ने, प्रादेशिक गुरुयोजना तयार गरेर आयोजना सुरु गर्ने, कृषि उर्जा सडक पूर्वाधार लगायत क्षेत्रमा गौरबका आयोजना सञ्चालन गर्नेलगायत विषय न्यूनतम साझा कार्यक्रममा समावेश छन् । प्रदेशको कूल गार्हस्थ्य उत्पादन ७ खर्ब ६३ अर्बमा ७० प्रतिशत वृद्धि गरी १२ खर्ब २० अर्ब पुर्‍याउने, प्रदेशका नयाँ गौरवको आयोजनाहरू प्रारम्भ गर्ने ,रैथाने कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने, पूँजीगत खर्च बढाउने, प्रदेशको राजस्वको वृद्धि गर्ने, सरकारी खर्चमा आत्मनिर्भरता कायम गर्न उच्चस्तरीय राजस्व अध्ययन समितिको निष्कर्ष लागू गर्ने, कार्यक्रम समेटिएको छ ।
‘समृद्ध किसान प्रदेश १ को शान, आत्मनिर्भर कृषि हाम्रो अभियान’, ‘ऊर्जामा लगानी, समृद्धिको खानी’, ‘प्रदेश निर्माणको आधार, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार’लगायत नारा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार