काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन् ।
बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधि सभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए । उनले भने, “अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।”
रामचन्द्रजीलाई आठ दलको मात्र होइन, १० दलको समर्थन उनले खुलासा गरे । गठबन्धनमा रहेका दलका साथै स्वतन्त्र सांसदहरू, आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन रहेको उनको भनाइ छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ” प्रधानमन्त्रीले भनेका छन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गरेका थिए ।


69 पटक हेरिएको 








