पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन नगर्ने भएको छ ।
पुर्व निर्धारित आन्दोलनलाई कोशी प्रदेश सभाको बैठक केन्द्रित गर्ने भएको छ । `यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन्`बिज्ञप्तिमा भनिएको छ,´यसैबिच वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनलाई प्रदेश सभाको बैठक केन्द्रित गरी सो बैठकबाट प्रदेशको ‘कोशी’ नाम खारेज गराउने गरी र प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको पुन: नामकरण गर्ने गराउने गरी निर्णायक आन्दोलन गर्ने रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।´
येस्तो छ बिज्ञप्तिको पुर्ण
प्रेस विज्ञप्ति
प्रदेश नम्बर १ का जनताहरूले दशकौँदेखि लडिरहेको ऐतिहासिक आधारमा पहिचानको आन्दोलनलार्ई बेवास्ता गर्दै, गत पाँच वर्षमा प्रदेश नम्बर १ को प्रदेश सभाले किन नामकरण गर्न सकेन भन्ने सवाललाई तत्वबोध नगरिकन, नामकरणको सवालमा ७२ घण्टाअघि सबै दल र सरोकारवालाहरूलाई जानकारी गराउनु पर्छ भनेर संवैधानिक रूपमा ऐनमा उल्लेख भएको व्यवस्थालाई कुल्चेर, निषेधित क्षेत्र निर्धारण गरी, सञ्चार माध्यमलाई निषेध गरी, बन्दुकको घेराबन्दी भित्र, दलीय निर्देशन अनुसार, गोप्य मतदान गर्नु पर्ने ठाउँमा खुल्ला मतदान गराएर अलोकतान्त्रिक र तानाशाही शैलीमा लादिएको राजनीति भूगोलका हिसाबले नेपालको सीमानादेखि दक्षिणतिर भिमनहर ब्यारेजदेखि सुर्केलाघाटसम्म मात्र चिनिने शासक जातीय एवम् गोत्रीय एकल पहिचानको ‘कोशी’ नाम कुनै हालतमा स्वीकार्य हुँदैन ।
प्रदेश नम्बर १ को सभाले गत फागुन १७ गते कथित ‘कोशी’ नाम राखेपछि ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ निरन्तर आन्दोलनमा रहेको सर्वविदितै छ । आन्दोलनकै क्रममा ४२ वर्षीय युवा पदमकुमार लिम्बू ‘लाजेहाङ’ले सहादत प्राप्त गरिसकेका छन् ।
कथित ‘कोशी’ नाम विरुद्ध प्रदेशको १४ जिल्लामै गाउँगाउँबाट आन्दोलन भइरहेको छ । यसै क्रममा प्रदेशको नाम ‘कोशी’ खारेजीको लागि संयुक्त सङ्घर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्की, सभामुख बाबुराम गौतम लगायतलाई अन्टिमेटम पत्रको साथै स्मरण पत्र समेत दिएको सबैमा जगजाहेर छ ।
यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन् । यसैबिच वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनलाई प्रदेश सभाको बैठक केन्द्रित गरी सो बैठकबाट प्रदेशको ‘कोशी’ नाम खारेज गराउने गरी र प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको पुन: नामकरण गर्ने गराउने गरी निर्णायक आन्दोलन गर्ने रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।
यस अवधि अर्थात् वैशाख ११ देखि २१ गतेसम्म संयुक्त सङ्घर्ष समिति गठन हुन बाँकी रहेका प्रदेशको हरेक वडा वडामा समिति गठन गरिसक्ने, पूर्व घोषित कार्यक्रमहरू प्रदेशको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, ८२ जना प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउने, सरकारी कार्यालयहरूमा कोशी लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा ‘कोशी’ नाम विरुद्धको कार्यक्रमहरू निरन्तर गर्ने, ‘कोशी’ प्रदेश नाममा मत दिएका प्रदेश सांसदहरूलाई भेटेर हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने, ८२ सांसदहरूको विरुद्धमा विरोध सभा गर्ने, विराटनगरमा ती सांसदहरूलाई कोठा भाडामा नदिन घरवालाहरूलाई अनुरोध गर्ने कार्यक्रम गरिने छ ।
सङ्घर्षरत सङ्गठनका नेताहरू गाउँगाउँ गएर “कोशी नाम खारेजी अभियान” सञ्चालन गर्दै निर्णायक आन्दोलनको तयारी गर्ने यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदछौँ ।
वैशाख ९ गते पहिचानको प्रथम सहिद लाजेहाङको शव यात्राको क्रममा विराटनगरको रोडशेष चोकमा प्रहरीले गरेको अवरोध र आक्रमणमा परी किरात याक्थुङ चुम्लुङ सङ्घीय अध्यक्ष प्रेम एक्तेन, किरात राई यायोक्खा सङ्घीय उपाध्यक्ष देवान राई, सचिव नगेशचन्द्र राई, चन्द्रकुमार राई, डेनिस राई, दया राई, शन्तकुमार शेर्मा, मनिता याक्खा, मोमु केछाङ, खगेन याक्खा लगायतका घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछौँ । रोडशेष चोकमा सहिद लाजेहाङको शव यात्रामा सहभागी मलामीहरूलाई रबरको गोलीका साथै विभिन्न घरको छतहरूबाट अश्रु ग्यास लगायतले प्रहरीले गरेको आक्रमणको घोर भत्र्सना गर्दछौँ ।
प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)
२०८० वैशाख १० गते



112 पटक हेरिएको 








