सखुवारा(पथरी)। `वडा नम्बर ८ को इच्छा, छोराछोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा´ भन्ने कार्यक्रम पथरी शनिश्चरे वडा नम्बर ८ ले ल्याएको छ ।

कार्यक्रम अन्तर्गत बुद्ध माध्यमिक बिद्यालयमा सोमबारदेखि अभियान थालिएको छ । वडा कार्यालय र बिद्यालयले कक्षा ११ मा पूर्ण नि:शुल्क भर्ना अभियान आरम्भ गरिएको हो । आर्थिक वर्ष २०८०/२०८१ देखि कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुको शुल्क वडा कार्यालयले तिर्नेछ । वडा अध्यक्ष नवीन जङ्ग कार्कीले कक्षा ११ र कक्षा १२ का सय/सय गरि जम्मा २ सय विद्यार्थीको भर्ना र मासिक शुल्क वडा कार्यालयले तिरिदिने बताउँछन् । भन्छन्,`बुद्ध माबिमा पढ्ने जुनसुकै पालिकाबाट अध्ययन गर्न आउने विद्यार्थीको भर्ना शुल्क र मासिक शुल्क सबै वडा कार्यालयले तिर्छ ।´वडामा रहेका बिद्यालयका लागि नि:शुल्क शिक्षा प्रदान गर्न वडा कार्यालयले ५ लाख बजेट विनियोजन गरेको छ ।

२०२४ सालमा स्थापना भएको वडा नम्बर ८ को एक मात्र माध्यमिक बिद्यालय बुद्धले २०६४ सालदेखि कक्षा ११ को अध्ययन अध्यापन सुरु गरेको थियो । २३ दरबन्दी शिक्षकको अलबा निजि शिक्षक समेत रहेको बिद्यालयमा ८ सय बढी विद्यार्थी छन् । कक्षा ११ र १२ मा सरदर १ सय ५० विद्यार्थीले अध्ययन गर्ने बिद्यालयमा पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९, छिमेकी पालिका सुनबर्षी नगरपालिकाको साथै तेह्रथुम र भोजपुरका विद्यार्थी अध्ययन गर्ने गरेको प्रधानाध्यापक बोध राज सिग्देल बताएका छन् । बुद्धमा व्यवस्थापन तथा शिक्षा/मानविकी शास्त्रमा अध्ययन गराइन्छ ।`कक्षा ११ का एक विद्यार्थीले १० हजार १ सय तिर्नु पर्दथ्यो।´प्रधानाध्यापक सिग्देल भने,`अब विद्यार्थीले भर्ना र मासिक शुल्क तिर्नुपर्दैन।´ आन्तरिक तथा बाह्य परीक्षा, पुस्तक, टाइबेल्ट शुल्क गरि एक विद्यार्थीले करिब ४ हजार मात्रै भुक्तानी गर्नुपर्ने बिद्यालय प्रशासनले बताएको छ ।



257 पटक हेरिएको 












