‘सिलीदुङ’मा मार्क्सवादी चेतसँगै पहिचानको आवाज छ: समीक्षकहरू

बिजयपुर ।  ‘सिलीदुङ’ कविता सङ्ग्रहमा मार्क्सवादी चेतसँगै पहिचानको आवाज रहेको बताइएको छ । कवि गीलु राताेसकाे सङ्ग्रहले प्रगतिशील धार र पहिचानको मुद्दा दुवैलाई सन्तुलित रूपमा बाेकेकाे समीक्षकहरुले बताएका हुन् ।

शनिबार राखेको कृति विमर्शमा बाेल्दै वरिष्ठ कवि कुन्ता शर्माले सङ्ग्रहले मार्क्सवादी साैन्दर्य चेतनालाई आत्मसात गरेपनि जनजातीय विम्बलाई आधार बनाएको बताइन् । ‘राताेसकाे कविताहरूमा जनयुद्ध लडेको पीडा छ । प्रगतिशीलता छ । त्याेसँगै पहिचानको कुरा छ । समुदायको विम्ब छ,’ उनले भनिन् । उनले माओवादी जनयुद्धले पहिचानको मुद्दालाई उठाएर व्यवस्थापन गर्न नसकेपनि चेतना ल्याउन सफल भएको र त्यसकाे प्रतिविम्ब कृतिमा देखिएको बताइन् । नेपाल पत्रकार महासङघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जातीय मुद्दा र पहिचानको आन्दोलनलाई सम्बाेधन नगरी वर्गीय मुद्दा पूर्ण नहुने जनाए । उनले ‘सिलीदुङ’मा प्रचुर मात्रामा सामुदायिक साँस्कृतिक चेत भएको दाबी गरे । ‘सिलीदुङमा प्रचुर किराती चेतना छ । मिथ, विम्ब र भाव छ । यसले नेपाली साहित्यलाई अरू खँदिलो बनाउनेछ,’ राईले भने, ‘गिलु जस्ता सचेत कविहरूलाई हेर्दा साहित्य अरू फराकिलो हुँदैछ भन्ने विश्वास लागेको छ । एकात्मक राज्यसत्ताकाे मनाेविज्ञानलाई कृतिले चुनाैती दिएको छ ।’

कलरव धरानले हाेटल पूर्वी स्टारमा भएको विमर्शलाई कवि एवम् साँस्कृतिक अभियन्ता अमित थेवेले सहजीकरण गरेका थिए । कार्यक्रममा बाेल्दै कवि राताेसले कृतिबारे बाेल्दै पहिचानको मायाले पुस्तक निस्किएको बताए ।  ‘युद्ध लड्दा देखेकाे, भाेगेकाे कुरा छ । साथै, म हुर्किएकाे माझ किरातकाे परिवेश छ । सिलीदुङ काे अर्थ सिलीकाे समय या युग हाे,’ पूर्व जनमुक्ति सेना समेत रहेका राताेसले भने । उनले सङ्ग्रहबाट ‘बाटोमा नदेखाइएका आत्माहरू’ कविता सुनाए । वरिष्ठ कवि बम देवानले समापन मन्तव्य राख्दै नेपालमा सामाजिक साँस्कृतिक र जातीय समानताकाे आन्दोलनले राजनीतिलाई प्रभावित गरिरहेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, कविहरू हेमन यात्री, पराजित पाेमु, हेन्सेन याक्खा, निला तामाङ, हिक्मत खड्का, श्रेष्ठ परिक्रमा, चेवन श्री, सविता फागाे चाेङवाङ, छविना लुङ्गेली मगर, दीपा मग्रान्ति, वर्षा भण्डारी, नाट्यकर्मी प्राज्ञ विष्णु माेक्तान, लेखक हितराम तिल्लिङ, युवा नेताहरू उपार्जुन चाम्लिङ, ललिता फागाे, पत्रकार मनिता चाम्लिङ, भाेजराज श्रेष्ठ, विकास चाम्लिङ लगायत थिए ।

४४ कविताहरू समेटिएको ‘सिलीदुङ’ कवितासंग्रह थेबा–ला पब्लिकेशनले प्रकाशन गरेको हाे । रातोसको यो पहिलो कृति हो जुन पुसमा सार्वजनिक भएको थियोे । कृतिकाे परिचर्चा पूर्वकाे पान्थरकाे फेदेन, इलाम, झापाकाे बिर्तामोड र दमक, पाेखरा, चितवन र काठमाडौंमा भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार