निर्माणाधीन गान्धी सडक फेरि बन्द

पथरी । कान्छाराम कन्ट्रक्सनले सम्झौताअनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले शनिबार मोरङको पथरीशनिश्चरे हुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन: बन्द गरेका छन् ।

ठेकेदारले सहमति अनुसार काम नगरेको भन्दै मोरङ पथरीशनिश्चरे नगर ९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होप पाइप, ढुङ्गाहरु र बाँसले बारेर सडक अवरोध गरेका हुन् । पुन: काम नथालेसम्म सडक नखोल्ने सडक संघर्ष समितिको सहसंयोजक सुमन वनेमले बताए ।

मोरङ पथरीशनिश्चरे नगर १० स्थित मनमोहन गान्धी सडक शिविरडाँडाबाट दक्षिण रंगेली जाने सडक हो । बर्खामा हिलोमा डुब्नुपर्ने र हिउँदमा धुलोले पुरिनुपर्ने समस्या छ ।सडक चाँडाे बनाउन र हिलो, धुलोबाट मुक्त गर्न माग गर्दै करिव छ महिना अघि (२०८० मंसिर १२) सोही स्थानमा उपभोक्ताहरुले करिव हप्तादिन सडक बन्द गराएका थिए । सडक चाँडो निर्माण गर्न पटक पटक पहल गर्दापनि सुनुवाइ नभएपछि पीडितहरुले वीरेन्द्र गुरुङको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेरै आन्दोलन गरेका थिए ।

मंसिरमा कान्छाराम कन्ट्रक्सन कम्पनीका मेनेजर दीपक थिङ, पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापाे आन्दोलनकर्मीहरुको तर्फबाट संयोजक बीरेन्द्र गुरुङ, सहसंयोजक सुमन वनेम, वडा अध्यक्षहरु बसेर सहमति भएको थियो । कम्पनीले सडकमा दैनिक पानी लगाएर धुलो उड्न नदिने, बैसाखसम्म कालोपत्रे गरिसक्ने, बैसाखसम्म कालोपत्रे नभए ९, ८ र ४ नं. वडा अध्यक्षहरु क्रमस: वीरबहादुर राई, नवीन कार्की र लोककिरण न्यौपानेसहित सडक आन्दोलनमा आउने सहमति भएको संघर्ष समितिका सहसंयोजक सुमन वनेमले बताए ।सहमति अनुसार केही महिना काम गरेपनि फेरि छाडेर हिँडेको, काम ढिला गरेकोले पुन: सडक बन्द गर्नुपरेको वनेमले बताए ।

पथरीशनिश्चरे नगरको भुटानी शरणार्थी शिविर मुख्य सडक दक्षिण रंगेलीसम्म २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइको निर्माण हुने सडकको ठेक्का पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो । कान्छारामले १ करोड ९४ लाख ९४ हजारमा टेन्डर पारेको स्थानीय प्रेम वनेम लिम्बूको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार