उपराष्ट्रपति यादव र बेलायतका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। उपराष्ट्रपती रामसहाय प्रसाद यादव र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनको शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षी सम्बन्धका विविध आयामका विषयमा महत्वपूर्ण संवाद भएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको बताए । नेपाल र संयुक्त अधिराज्यबीच भएको शान्ति तथा मैत्री सन्धिको १००औं वर्षगाँठ सन् २०२३ मा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको उनले सुनाए । उनले संयुक्त अधिराज्यलाई नेपालको प्रमुख विकास साझेदारको रूपमा उल्लेख गर्दै विपद्का घडीमा नेपाललाई प्रदान गरिएको सहयोगको लागि धन्यवाद दिए । ‘हाम्रा दुई मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा रहेको मित्रता अद्वितीय छ, पछिल्ला दिनहरुमा यो थप प्रगाढ हुँदै गएको छ’ उपराष्ट्रपति यादवले भने, ‘ब्रिटिस गोर्खाले द्विपक्षीय जनस्तरको सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको सराहना गर्दछु । ’ पूर्व ब्रिटिस गोर्खाका जायज गुनासा सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेका छलफललाई समयमै टुंगोमा पुर्याउन आवश्यक रहेको बताए ।

उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत संयुक्त अधिराज्यका राजा चाल्र्स र महारानी क्यामिलालाई व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार