पथरी । नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बैशाख २० देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोले जातेमोड स्थित प्रस्तावित रंगशालामा उद्घाटन हुने महोत्सव बैशाख ३० गते समापन हुने बताइएको छ ।
कुन-कुन खेल समाबेश छ?
महोत्सवमा फुटबल (पुरुष/महिला), भलिबल (पुरुष), क्रिकेट (पुरुष), बुद्धिचाल (चेस), कराँते, म्याराथुन (महिला/ पुरुष), भारोत्तोलन (महिला/पुरुष) र पौडी (महिला/पुरुष) गरी आठ वटा खेलमा प्रतिष्पर्धा गराइने आयोजक नगर खेलकुद समितिका अध्यक्ष दीपक राईले बताए ।
पुरस्कार राशी कति ?
नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति कार्यक्रम अन्तर्गत हुने खेलकुद महोत्सवमा १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको सचिव खुलालले बताए । पुरुष फुटबलतर्फ विजेताले १ लाख, उपविजेताले ५० हजार, महिला फुटबल विजेताले १५ हजार, उपविजेताले ७ हजार, भलिबल विजेताले ३१ हजार, उपविजेताले २१ हजार पाउनेछ । क्रिकेट विजेताले ३५ हजार, उपविजेताले २० हजार, कराँते (पुरुष/महिला) विजेताले ५/५ हजार, मिनि म्याराथन प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, सान्त्वनाले २ हजार प्राप्त गर्नेछ। बुद्धिचालतर्फ प्रथमले १० हजार, द्वितीयले ६ हजार, तृतीयले ४५ सय, चौथोले ३५ सय, पाँचौले २५ सय तथा पौडी प्रथमले ५ हजार, दोस्रोले ३ हजार, तृतीयले २ हजार प्राप्त गर्नेछन् । विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र अन्य विधागत पुरस्कार प्रदान गर्नेछ ।
न्यू स्टार र नाजिरिन एफसी भिडने
पहिलो फुटबल खेल न्यू स्टार एफ सी र नाजिरिन एफ सीबिच हुनेछ । खेल भोलि ३ बजेदेखि हुने आयोजकले वताएको छ ।
कुन खेल कहाँ हुदैछ ?
फुटबल खेल प्रस्तावित जातेमोडस्थित रंगशालामा हुदैछ । जातेमोडमै भलिबल प्रतियोगिता पनि हुनेछ । क्रीकेट भने जिरीखिम्तीमा हुने आयोजकले जानकारी गराएको छ। कराते बालकल्याण माबि कीर्तिपुरमा र पौडी र बुद्धिचाल प्रतियोगिता सिन पार्टी प्यालेसमा हुने बताइएको छ ।
नगरपालिकाले युवाहरूमाझ खेलकुदको माध्यमबाट सहकार्य, नेतृत्व विकास र सामुदायिक सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दै आएको जनाएको छ ।


87 पटक हेरिएको 









