माङसेबुङ(इलाम)। इलामको माङ्सेबुङमा भएको १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ को उपाधि सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङले चुमेको छ ।
बुधबार आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङलाई सडनडेत्थमा ६–५ गोल अन्तरले पराजित गर्दै सिरिजंगाले उपाधि चुमेकोे हो । उपाधि चुमेसँगै सिरिजंगाले नगद ३ लाख ११ हजार १ सय ७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको लेटाङले भने नगद २ लाख ११ हजार १ सय ७२ रुपैयाँका साथ ट्रफी र मेडलमा चित्त बुझाएको छ ।
खेलको निधारित समयमा दुबै टिमले गोल रहित बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत बराबरी भएपछि नतिजा सडनडेत्थमा पुगेको थियो । प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट लेटाङका निरज परियार, सर्वाधिक गोलकर्ता सिरिजंगाका संजय धिमाल, उत्कृष्ट गोलकिपर सिरिजंगाका प्रनिश गच्छदार, उत्कृष्ट डिफेन्स सिरिजंगाका विशाल भण्डारी र उत्कृष्ट कोच सिरिजंगाका चेतन खतिवडा भएका छन् । उनीहरुले जनही ८ हजार १ सय ७२ रुपैयाँका साथ ट्रफी प्राप्त गरेका छन् ।
यसैगरी उदीयमान खेलाडी आयोजक युथ अफ माङसेबुङका अनम लिम्बू र गगन लिम्बू भएका छन् । उनीहरुले जनही ८ हजार १ सय ७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ आयोजित सो प्रतियोगिता मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ को अवसरमा आयोजना गरिएको हो ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन भएको थियो ।


73 पटक हेरिएको 




