तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपको ट्रफी सार्वजनिक 

पथरी । मोरङको पथरी शनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ को ट्रफी सार्वजनिक गरिएको छ।
शुक्रबारआयोजक पथरी ११ फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरिएको हो । दुई हातभित्र गोलको प्रतीक रहेको ट्रफी बनाउन डेढ लाख बढी लागेको क्लबका सचिब केशब राईले जानकारी गराए ।

पथरी शनिश्चरेस्थित पथरी रंगशालामा जाँते मोडमा भोलि देखि सुरु हुने प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक पथरी ११ फुटबल क्लब र भारतको युनाइटेड कुर्सेङबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरूसहित भारतको एक क्लब गरी ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।गोल्डकपमा नेपाल पुलिस फुटबल क्लब, थ्रीस्टार क्लब ललितपुर, एनआरटी क्लब, रेडहर्स इलाम, सहलेस युथ क्लब सिराह, झापा ११, युकेएफसी भारत र पथरी ११ फुटबल क्लब सहभागी हुने भएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिताले प्रतियोगिता प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।  प्रतियोगिताको सर्वोत्कृष्ट  खेलाडीले २५ हजार रुपयाँ प्राप्त गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार