रैनादेवी छहरामा दुर्घटना ६ जनाको मृत्यु

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका-८मा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ ।
मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
रातिको समयमा हुस्सु लागेको र बसले च्यापिएकाले उद्धारमा केही कठिनाइ भएको दिलबहादुर गाहाले बताए । उनका अनुसार बिहान ६ बजेमात्र बसले च्यापिएका शव टोचनको सहायताले निकाल्न सकिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार