काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । लिङ्देन राप्रपाका अध्यक्षसमेत हुन। माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री भएकी छन् ।
नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।
राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् ।
उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् ।
एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन् । प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिमण्डलमा ६ जना पहिला पनि मन्त्री भएका अनुहार छन् भने बाँकी दुई तिहाइ बढी नयाँ अनुहार छन् । 



95 पटक हेरिएको 












