दिदीले मनसरा हेर्ने मन गर्नुभयो । तेरो भेना जांदैन, म एक्लो छु भन्नुभयो । म पनि दोस्रो पटक हेर्ने सुरमा थिएँ । दिदी भाइको सल्लाह मिल्यो ।
मनसरा हाम्रो समयको एउटा उत्कृष्ट फिल्म हो । कवि उपेन्द्र सुब्बाले निर्देशन र लेखन गरेको मनसराले सुब्बालाई निर्देशकमा स्थापित गरेको छ । यस अगाडिको जारी उनको डेब्यु निर्देशन थियो । यसले उनलाई उत्कृष्ट निर्देशकको रुपमा स्थापित गरेको छ ।
मनसरामा के हेर्ने ? सन्तान त्यो पनि छोरा प्राप्तिको लागि तड्पिने दम्पतिको कथा हो । एकल आमा, जो गाउँ छाडेर काठमाडौ शहरमा छोरा हुर्काउन संघर्षरत लिम्बुनी महिलाको कथा हो । प्रेमिकाको खोजीमा शहरमा भौतारिहिंड्ने मानहाङ चेम्जोङ (दयाहाङ राई) को कथा हो । जो गाउँमा ख्याली पालाम गाईहिंड्छन मुन्धुम कहली हिंड्छन । फिल्ममा धेरै कुरा छ । महिला सशक्तीकरण, अन्तर जातीय बिबाह/अन्तर्घुलन, शहरमा गर्नुपर्ने संघर्ष, अन्तर संस्कृति सम्बन्ध मूलधारको फिल्ममा नआउने विषयहरू मनसरामा हेर्न पाईन्छ ।
फिल्ममा कलाकारहरुको अभिनय सबैको स्वभाविक लाग्छ । उत्कृष्ट छ । मुख्य कलाकारहरु मात्रै होइन, आधा दर्जन छोराको बाउ हुने कवि विप्लव प्रतिक र डाक्टरको अभिनयमा गायक सत्यराज आचार्यको अभिनय समेत उत्कृष्ट छ । दयाहाङ राईको भुमिका छोटो भयो भनेर मनसरा हेर्न नजानेहरु पनि पढ्न पाइयो । प्रविन खतिवडाको तुलनामा राईको भुमिका छोटो त छ तर बुलन्द छ । चाहे गाउँको प्रेमीको रूपमा होस वा शहरमा प्रेमिका खोजी गर्दागर्दै थकित हुन थालेको प्रेमीको रूपमा होस्, नोटिस हुने काम गरेका छन् ।
फिल्ममा स-सानो कुरा र कथा यसरी बुनिन्छन् कि हेर्नेलाई आनन्द आउँछ । नानीमैयाले (नेवार समुदाय) पोखरेल बाजेसँग झगडा गरेर घर छाड्छिन् । फिल्मको अन्तमा नानीमैयाले नेवार खानेकुराको दोकान गरेर गरिखाएको देखा पर्छिन् । संवाद छैन, तर दर्शकले बुझ्छन् । अर्कोतर्फ अर्को नायिका मेरुना मगरले शहरमा गरेको दुःख र पिडाले दर्शकलाई भावुक बनाउँछ ।
केही के के तालमेल नमिलेको कुरा पनि छन् । जस्तो: पसलमा पत्रिका पढ्ने सन्दर्भ पहिलो संविधानसभाको अन्त तिर वा थरुहट आन्दोलनको समयतिरको कथा रहेछ जस्तो लाग्छ । तर नगर प्रहरीले सडक व्यापारीको सामान खोस्ने सन्दर्भ यो पछिल्लो एक दुई वर्षको अर्थात मेयर बालेन शाहको समयको कथा हो । परिवेश अनुसार लुगा कपडा लगाउने कुरामा कमजोरी भएको हो कि जस्तो लाग्छ ।
फिल्ममा देखाइएको लिम्बुले नाच्ने “चर्कोबा नाच” चर्कोबा हो कि होइन भनेर सामाजिक सन्जालमा विवाद भएको देखेको थिएँ । यसको उत्तर सम्भवत जापान हुने मित्र मुक्साम लावती जीले दिइसक्नुभएको छ । मलाई पनि जिज्ञासा लाग्यो र दिदीलई सोधें । मेरी दिदी मेरी फुपूहरुको संगतमा पनि हुर्कनुभएकोले केही पुरानो कुरा थाहा छ । दिदीका अनुसार पान्थरतिर केटाहरु मात्रै त्यसरी नाच्ने नाचलाई ‘कुजत्ना वा केजप्पा ला:ङ’ भन्थे । हाम्रो फेदापतिर चाहिँ केटाकेटी सबै त्यसरी तर बिस्तारै नाच्ने नाचलाई ‘लाम् उङ:मा वा लाम्बारी उङ:मा ला:ङ’ भनिन्थ्यो, जो अहिले हरायो । ठाउँ अनुसार फरक भनिने रहेछ भनेर बुझ्दा भो होला । जेहोस् यसरी मनसरामा लोप हुँदै गएको चर्कोबा वा कुजत्ना लाङ् पनि देख्न पाईन्छ । जसलाई हुल्लड केटाहरु ‘दुङ्दुङ्गे बोका प?अअ’ भन्दै नाच्दा ढोकानेर बाल कलाकारले खुट्टा चालेर नाचेको देखिन्छ । यो लोप हुन लागेको संस्कृतिको पुस्तान्तरण हुनुपर्ने सन्देश पनि हुनसक्छ । मेरो दिदी चाहिँ सुदुरको कुरा सम्झिनु हुन्छ, ‘पानथरे नाचै बुरुक बुरुक बुरुक, दालेङ नु तकिन् हुरुप हुरुप हुरुप’ ।
यस्तो राम्रो फिल्म हेर्न छुट्ला । आजै, भोलि नै हेरिहाल्नुहोला है । युट्युबमा केही महिनापछि त आउला तर हलमा हेरेजस्तो मज्जा आउँदैन ! म चाहिँ अब ३० वा ५० दिन पुग्यो भन हेर्छु र कलाकारहरुको फिल्म नाम याद गर्छु । सार्है भएन !!