शशिप्रभा स्मृति पुरस्कारका १० श्रेष्ठ पुस्तक सार्वजनिक

सिलगढी । सन् 2022 देखि हाम्रो किताब घरले प्रदान गर्दै आइरहेको शशिप्रभा स्मृति पुरस्कारको लागि दस श्रेष्ठ पुस्तक सार्वजनिक गरेको छ।

प्रथम चरणको ज्युरीहरूको छनौट अनुरुप हाम्रो किताब घरले ‘टप टेन’ किताबहरू सार्वजनिक गरेको हो। पूजा आचार्यको अनुवाद ‘यहाँ एउटा जङ्गल थियो’, डा. वीणा हाङ्खिमको समालोचना ‘शरद छेत्रीका खण्डकाव्यकृतिगत अध्ययन’, ममता राईको कथा सङ्ग्रह ‘अमूल्य वरदान’, प्रवीण राई जुमेलीको कविता सङ्ग्रह ‘मेडिटेसन’, प्रवीण खालिङको निबन्ध सङ्ग्रह ‘चिया गफ’, डा कृष्णकुमार सापकोटाको समालोचना ‘विनिर्माण र लीला’, अबीर खालिङको कथा सङ्ग्रह ‘विस्थापन’, महेश दाहालको कविता सङ्ग्रह ‘धस्काइहरूमा उभिनु छ’, विनीता छेत्रीको कथा सङ्ग्रह ‘एक्लो लुङ्दर’ र प्रेम प्रधानको उपन्यास ‘चिन्ता सल्केको पहाड’ छनौट भएको हो ।
यता टप टेन पुस्तक सार्वजनिक भएपछि हाम्रो किताब घरका संयोजक छेवाङ योञ्जनले भने , ‘भारतका विभिन्न प्रान्तहरूबाट पठाइएका १ सय ७ पुस्तकहरू यस चोटि ‘हाम्रो किताब घर’-लाई प्राप्त भएको थियो । जसमध्ये ज्युरीको पहिलो चरणका छनौट अनुरूप तयार गरिएको सर्ट लिस्टमा उक्त कृतिहरू परेका छन्।’ छनौट भएका यी दश किताबहरू अब अन्तिम चरणको ज्युरी समक्ष जाने उनले थप जानकारी दिए। उनले भने, – ‘यी पुस्तकहरूमध्ये एकलाई मुख्य ज्युरीहरूको अन्तिम चरणको छनौटपछि ‘शशिप्रभा स्मृति पुरस्कार 2024’ प्रदान गरिनेछ।’
मिरिक निवासी आख्यानकार विजय बान्तवा कैलाशीले वर्ष 2022 देखि प्रत्येक वर्ष आफ्नी दिवङ्गत पत्नीको स्मृतिमा यो पुरस्कार प्रयोजन गर्दै आइरहेका छन्। पुरस्कारमा नगद राशि पचास हजार सहित स्मृति चिन्ह साथै प्रशस्ति पत्र प्रदान गरिने गरेको छ। दश श्रेष्ठ किताबहरूको छोटो सूची सार्वजनिकबारे हर्ष व्यक्त गर्दै पुरस्कारदाता विजय बान्तवा कैलाशीले भने, ‘प्रत्येक वर्ष उत्कृष्ट किताबलाई पुरस्कार प्रदान गर्दै आइरहेका थियौँ। यस वर्ष पनि हामीले गजबको किताब सूची पायौँ। सम्पूर्ण सर्जक साथै प्रकाशकहरूप्रति हामी कृतज्ञ छौँ’।
अन्तिम चरणको ज्युरीबाट श्रेष्ठ एक किताबको निर्णय आएपछि एक समारोहबीच पुरस्कार प्रदान गरिने कैलासीले जानकारी दिए।
स्मरण रहोस्, हाम्रो किताब घरले वर्ष 2021 देखि भारतमा प्रथम चोटि नेपाली किताबहरू घरघर पुऱ्याउने अभियान सुरु गरेको थियो। नेपाली साहित्यका पाठकहरूलाई सुविधा अनुसार यथास्थानमा नै किताब पुऱ्याउने यो अभियान आजसम्म पनि सक्रिय रूपमा चलिरहेको छ। आफूहरूको अभियान बारे किताब घरले जनाएको छ, – ‘पहिले पहिले केही गाह्रो थियो। तर अहिले सिस्टम सुचारु भइसकेको छ। यस्तो लाग्छ, अब हामीले सर्जक र पाठक दुवैको विश्वास पाइसकेका छौँ।’
हाम्रो किताब घरले गत वर्षदेखि किताब प्रकाशनको दिशामा पनि सक्रिय रूपमा काम गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार