लिम्बु समुदायमा चासोक तङनामको महत्त्व

  प्रेम पयाङ्गु लिम्बु (विक्रम)  55 पटक हेरिएको

चासोक तङ्नाम प्रकृतिपूजक याक्थुङ लिम्बु समुदायको अत्यन्तै महत्त्वपूर्ण मौलिक पर्वको रूपमा मनाइन्छ । लिम्बु भाषामा चासोक तङ्नामलाई नेपाली भाषामा न्वागी अर्थात उधौली पुजा पनि भनिन्छ । शब्दिक अर्थमा `चा´ भनेको अन्न, `शोक´ भनेको चढाउनु र `तङ्नाम´ भनेको पर्व भन्ने अर्थ लाग्छ । त्यसैले नयाँ बाली भित्राउने क्रममा `माङ´ अर्थात देउतालाई चढाउने अनि मात्र आफुले खाने भन्ने अर्थमा मनाइने पर्व हो ।

चासोक तङ्नाम सबै लिम्बुहरुले सामुदायिक रूपमा पुजा अनुष्ठान गरि मनाउने थालेका छन् । चासोक तङ्नाम वा न्वागी पुजा अन्न बाली सप्रीयोस, रोग व्याधी नलागोस, दीर्घायू र सुख, शान्ति आओस् भनेर प्रकृतिको पुजादेखि लिएर विभिन्न देबी देउवाहरु (कुदापकुइ, तकलङ्वा, चिरिङ्मा, तेन्छामा, वजङ्मा, मिसेक, थङ्दाङ्बा, चोखोवा, दापोवा, फाक्मुरा, युमा माङ, थेबा माङ्)को पुजा आराधना गरि नयाँ पाकेका अन्नबालीहरु पकाएर खानु भन्दा अगाडि चोखो चढाउने गरिन्छ । लिम्बुहरुले केहि दशक अघि देखि मात्रै सामुदायिक रूपमा मनाउन थालेको चासोक तङ्नाम विभिन्न पौराणिक, सास्कृतिक सामाग्रीहरुको प्रदर्शनी, खेलकुद, धान नाच/पालाम, हाक्पारे, ख्याली, के:लाङ जस्ता रमाइलो नाचगान प्रस्तुतिको साथमा मिठामिठा पकवानहरु पकाएर बाढेर खाने र शुभकामना आदानप्रदान गरि मनाउने चलन छ । पहाड तिर पङ्यु फुल्न थालेपछि आकाशमा चराचुरुङ्गीहरु, खोलाहरुमा माछाहरु उधो दक्षिण तिर लाग्न थाल्दा उधौली भन्ने गरिन्छ । यसै समयमा पाकेका अन्न बालीहरु थन्काएर आफ्नो परिश्रमको फल खाने, रमाइलो र उपयुुक्त हावापानी भएकालेे चासोक तङ्नाम अर्थात् उधौली पर्वलाई निक्कै महत्त्वपूर्ण छ ।

याक्थुङ मुन्धुमअनुसार कृषि युग हुन भन्दा अगाडि लिम्बुहरुको आदिम पुर्खा सावायेहाङहरुले कन्दमुल काचै खाएर जीवनयापन गर्दथे । त्यसैले कुपोषण जस्ता अनेकौं रोगहरुको सिकार हुन्थे । यस्तो समस्याबाट मुक्ति पाउन सर्वशक्तिमान तागेरा निङ्वाभुमाङ्को पुजा आराधना गरे । फलस्वरूप माङको कृपाले उनीहरूले पेना, ताक्सारो, तुम्री, सिवेरा आदि छर्न रोप्न सिकाए । यसरी सावायेहाङ्हरुले खेतीपाती गर्न सिकेर खेतीपाती गरेपछि फलेको अन्नपातहरु आगोमा पकाएर खान थाले । त्यसपछि सवायेहाङका सन्तानहरु कुपोषण जस्ता रोगव्याधीबाट मुक्ति पाएपछि खुसी हुँदै हरेक साल अन्नबालीहरु सिवेरा एक्थुक्मा, सिवेरा याबुगेङ्मालाई सबै माङ्लाई, देबीदेउताहरुलाई, प्रकृतिलाई चढाएर मात्रै खान थाले । यसरी सुरुवात गरिएको अन्न बाली चढाएर खाले प्रथा नै आज आएर चासोकको रूपमा मान्ने गरिन्छ ।

(लेखक किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरेका अध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार