हामी दैनिक जीवनमा नुहाउने, खानपान गर्ने, लुगा लगाउने, पढ्ने, पूजापाठ गर्ने आदि नियमित कामहरू गर्दछौँ । यसका साथै विशेष अवसरहरूमा विशेष खालका विधिहरू पनि हामी सम्पादन गर्दछौँ जस्तै न्वारन, पास्नी आदि । जन्मदेखि मृत्युसम्म गरिने यस्ता विविध विधि विधानहरू नै संस्कारहरू हुन् । संस्कारहरू जाति, समुदाय वा धर्म सम्प्रदायअनुसार फरकफरक हुन्छन् । लिम्वू जातिको पनि आफ्नै मौलिक संस्कार छन् ।
नेपालको सन्दर्भमा लिम्वू जाति पूर्वी नेपालका आदिवासी हुन् । उनीहरूको आफ्नै धर्म–दर्शन छ । उनीहरूको धर्म – दर्शनको मूल आधार मुन्धुम् हो । त्यहीँ दर्शनमा आधारित उनीहरूको संस्कार छ । हुन त दर्शनले मात्रै संस्कार निर्देशित गर्ने होइन कतिपय अवस्थामा संस्कारले दर्शन निर्माणमा पनि भूमिका खेल्न सक्छ । यो दोहोरो अवस्था लिम्वू जातिको धर्म–दर्शन र संस्कारमा के कति छ त्यो त अर्को खोजी कै विषय भयो । संस्कार निर्मणमा राज्य शासनले पनि महत्वपूर्ण भूमिका खेल्छ । यही अवस्था लिम्वू जातिमा पनि अनुभूत गर्न सकिन्छ । लिम्वू जातिको इतिहासलाई अध्ययन गर्दा येÞत्हाङ (आठराजाहरू) को शासनकालले लिम्वू संस्कारहरू निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । पछि दश लिम्वू राजाहरूले आठ राजाहरूलाई पराजित गरेपछि पनि ती संस्कारहरू मूल रूपमा निरन्तर रहेको कुरा इमानसिंह चेम्जोङले आफ्नो कृति ‘किरात इतिहास’ मा उल्लेख गरेका छन् ।
यसर्थ लिम्वू जातिको संस्कारको मार्गदर्शक सिद्धान्त येÞहाङ मुन्धुम हो भने उपरोक्त संस्कार कार्यान्वयनमा येÞत्हाङ (आठराजा) हरूको प्रवल भूमिका रहेको देखिन्छ । यहाँ लिम्वू जातिले पालन गरिल्याएका संस्कारहरूको सङ्क्षिप्त परिचय र यसमा देखिएका केही समस्याहरूको चर्चा गरिनेछ ।
लिम्वू जातिले परम्परागत रूपमा सम्पादन गर्दै आएका संस्कारहरूलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
(अ) जन्मपूर्व गरिने संस्कार अर्थात् साप्पोक् चोमेÞन् ः– लिम्वू समाजमा बालक या बालिकाको जन्मपूर्व गरिने संस्कारलाई साप्पोक् चोमेÞन् भनिन्छ । साप्पोक् चोमेÞन् गर्भमा रहेको भ्रुणको रक्षा र सरल प्रसवको लागि विभिन्न माङ (देवीदेउता) हरूको अनुष्ठान गरिन्छ । यो अनुष्ठानमा वजङ्मा, पक्चामा, युमा, थेवा, काप्पोबालगायतका माङहरूको आराधाना गरिन्छ । यो संस्कार गर्भ रहेको ५÷६ महिनापछि गरिन्छ । अनुष्ठानको अवसरमा फेÞदाङ्माद्वारा दोजियाले गर्न हुने या नहुने, खान हुने या नहुने, हेर्न हुने या नहुने विविध नियमहरू जानकारी गराइन्छ ।

(आ) जन्मपछि गरिने मुख्य संस्कारहरूः – याङ्दाङ फोःङ्मा, चाङ्वाःन् लेÞक्मा, मेखिम खःमा मुख्य रूपमा गरिने संस्कारहरू हुन् ।
याङ्दाङ फोःङ्मा ः याङदाङ फोःङ्मा शिशु जन्मपश्चात् गरिने पहिलो अनुष्ठान हो । याङ्दाङ फोःङ्माको अर्थ न्वारन गर्नु हो । शिशु बालक भएमा जन्मेको चार दिनमा र बालिका भएमा तीन दिनमा याङ्दाङ फोःङ्मा अनुष्ठान हुन्छ । नुबुन्वा र सिङ्दुम्पक्वा लुङ्दुम्पक्वा ( सातमूलको पानी र आकाशे पानी) ले घर र सुत्केरी गराउनमा संलग्न सुँडेनी र अन्य व्यक्तिहरूलाई चोख्याइन्छ । याङ्दाङ फोःङ्मा संस्कार गर्नुअघि शिशुलाई कुनै कपडा नलगाइदिने सेÞत्लो या थाङ्नाले मात्र बेर्ने र न्वारनपछि पनि पुरानो कपडाको भोटो सिलाएर लगाइदिने पुरानो चलन अहिले हराउँदै गएको छ । याङ्दाङ फोःङ्मा गर्दा कतिपय ठाउँमा फेÞदाङ्माले गर्छ भने कतिपय ठाउँमा अगुवा लिम्वू महिलाहरूले गर्ने चलन छ । यो अवसरमा शिशुलाई घरको दैलोमा या बाहिर फेरो लगेर आकाशको तारामण्डल, संसार देखाउने चलन छ । याङ्दाङ फोःङ्मा अनुष्ठानकै काममा शिशुको नाम राख्ने, शिशुको सुस्वास्थ्यको कामनासहित माङ्गेन्ना (शिर उठाउनी) गरिदिने विधि पनि गरिन्छ ।
शिशु मावलीमा जन्मिएमा शिशुको पितापट्टिको घरबाट विभिन्न कोसेलीपात लिएर शिशुको मुख हेर्न जाने र शिशु पितापट्टिकै घरमा जन्मिए मावलीबाट कोसेलीपात लिई नवजात शिशुको मुख हेर्न आउने चलन छ । यसलाई ‘नारा अमप्मा ’ अर्थात् ‘मुख हेर्ने’ विधि भनिन्छ । यसको लागि कुनै समय अवधि तोकिएको हुँदैन समय अनुकुलताको आधारमा सामान्यतया एक महिनाभित्र यो विधि पूरा गरिन्छ ।
चाङ्वाःन् लेक्मा ः चाङ्वाःन् लेÞक्माको अर्थ ‘वस्त्र फेर्ने’ हो । १४÷१५ वर्षसम्ममा कुनै पनि समयमा वालवालिकाको जन्मदिन पारी यो संस्कार सम्पन्न गरिन्छ । यसले वालवालिकाहरूलाई कर्तव्यवोध गराउने काम गर्छ । केटाको चाङ्वाःन् लेक्मा गर्दा तागा या लघेत् सुःम्बा (दौरासुरूवाल), कमरमा पटुका, शीरमा पागा (फेटा) र फूल लगाइदिई मन्त्रोचरणसहित फेÞदाङ्माले पवित्र जलले अभिषेक गर्दछ र नाहाङ्मा (शीर उठानी) मा जस्तै हाङ्साम्लाङ् (रणनाच) नाच्न लगाउँछ ।
यसरी नै छोरीको हकमा पनि फेदाङ्माले चाङ्वाःन लेÞक्मा गर्ने केटीलाई थान छेउमा उभ्याएर मन्त्रोचरण गर्दै पवित्र जलले अभिषेक गरी वयस्क महिलाले लगाउने लुगा लगाउन आदेश दिन्छ । त्यसपछि उमेर पुगेका लिम्वू महिलाले लगाउने मेख्ली वा गुन्यूचोली र गरगहना पहिराइन्छ ।
यही अवसरमा फÞेदाङ्माले केटा र केटीको कर्तव्य बताउने, उनीहरूको प्रयोग गर्ने सरसमानको परिचय गराउने, केटाले साइनो लाग्ने केटीसँग र केटीले साइनो लाग्ने केटासँग जिस्किन नहुने, फूलले हानाहान गर्ने नहुनेजस्ता परम्परागत कुरा पनि श्रवण गराइन्छ ।
(इ) मेख्खिम (विवाह) ः विवाह गर्न भागेर जाने छोरीचेलीले पेÞःक्को (चोयाको बाकस) मा सिन्का चिनो छोड्ने या मगनी विवाहमा पनि पेÞःक्को सा?मा (पेको हेर्ने) रित तिर्नु पर्ने कुराले लिम्वू समाजमा परपूर्वकालमा पनि वयस्क भएपछि मात्रै विहेबारी हुन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ । काप्लान फिलिप सेगान्तले भनेजस्तै लिम्वू समाजमा तीनप्रकारका विवाहहरू हुन्छन् ः मागी विवाह, चोरी विवाह र जारी विवाह ।

लिम्वू समाजमा मागी विवाहको पहल वेहुलाको पक्षबाट हुने गर्छ । कुनै केटाको विवाह गर्ने कुरा निश्चित भएपछि इङ्मिबा (कलिया) लिएर केटी मगनी गर्न गइन्छ । केटी मगनी गरी विवाह गर्दा केटाको पक्षले चारकलम र दशरीत बुझाउनुपर्छ । केटी मगनी गर्दा युप्पारुङ रितको महत्वपूर्ण भूमिका हुन्छ ।
(मागी) विवाहको २ दिनअघि इङ्मिबा र १ जना साथीसहित बेहुला बेहुली लिन बेहुलीको घरमा जान्छ । भोलिपल्ट बेहुलीका गाउँका केटीहरू, अगुवा स्वास्नी मानिसहरू र ३÷४ जना माइतीपक्षसहित बेहुली लिएर बेहुलाको घरमा गइन्छ । यसरी आउने सम्पूर्णलाई बेहुलाको गाउँमा बन्दुक पड्काउँदै र च्याब्रुङ बजाउँदै सगुनपानी दिएर स्वागत गरिन्छ । यसलाई ‘लाम् लाक्मा’ या ‘लाम् ताःक्मा’ भनिन्छ । यसपछि सबै पाहुनालाई नवनिर्मित डेरामा राखिन्छ । अनि लाङ्भेवा चिम्मा मेजमान खुवाइन्छ । बेहुलीपक्षको सम्पूर्ण कामको अगुवाइ जेठोपाको महिलाले सम्हाल्छिन् । भोलिपल्ट वेहुलाबेहुली अन्माइन्छ र विवाहभोज चल्छ । त्यहीं दिन वेहुलीलाई घरभित्र भित्र्याउने र राती लगन गरिन्छ । कतिपय ठाउँमा वेहुली अन्माएर ल्याउने वित्तिकै घरमा भित्र्याउने र फेरि बाहिर ल्याई विवाहभोज खुवाउने चलन छ भने कतिपय ठाउँमा विवाहभोज पछि मात्र वेहुली भित्र्याउने चलन छ । लगन गर्ने विधिलाई लिम्वू जातिले ‘मेक्काम् थिम्’ भन्छन् । वेहुली भित्र्याएको भोलिपल्ट विहान दिइने भोजलाई बेहुली भतेरको रूपमा लिइन्छ र त्यसलाई लिम्वू भाषमा ‘पाड्लिहुक्वा’ भनेर सम्वोधन गर्दछन् । यसपछि बेहुलीको घरमा सबै लोकन्दीहरू, वेहुला, वेहुली चारकलम र रितका सामानहरू लिएर जान्छन् ।
चोरी विवाहमा वेहुली भित्र्याउने, मेक्काम् विधि, विवाह भोज आदि हुन्छन् । विवाह भएपछि त्यसको जानकारी स्वरूप साँप्रा (मेक्खिम् सेÞराङ) बेहुलीको माइतीघरमा पठाइन्छ । त्यसपछि सहमतिअनुसार चारकलम र दशरित पूरा गरिन्छ ।
जारी विवाहमा पनि विवाहभोज गर्ने, वेहुली भित्र्याउने, मेक्काम या लगन गर्ने काम हुन्छ । जारी तिर्ने काम हुन्छ तर मगनी र चोरी विवाहमा जस्तो चारकलम र दशरीत भने बुझाउनु पर्दैन । का?इ तोःम्मा या साइनो गाँस्ने रितभने पूरा गर्नुपर्छ ।
(ई) मृत्यु संस्कार ः लिम्वू जातिमा मृत्युलाई दुई तरिकाले हेर्ने गरिन्छः स्वभाविक मृत्यु र अस्वभाविक मृत्यु ।
उमेरको हिसाबले पाको भएर कालगतिले मृत्यु वरण गर्ने व्यक्तिको मृत्युलाई ‘कुदोप्मा लाम्’ या प्राकृतिक मृत्यु भनिन्छ । प्राकृतिक मृत्यु वरण भए पनि युवा अवस्थामै हुने मृत्युलाई ‘तङ्अम्बा’ भनिन्छ । शवलाई चेधाप (शव बोक्ने खाट) राखी विधिपूर्वक इःप्पुङ (चिहानघारी) मा लगी चिहान खनेर शवको टाउको पश्चिम दिशामा फकाई गाडिन्छ । आजभोलि घाटमा लगी पोल्ने चलन पनि चलेको छ तर परम्परागत हिसावले लिम्बूू जातिमा मृतकको शव गाड्ने नै हो । यसपछि मलामी आएका व्यक्तिहरू र तुम्म्याङ्हाङहरूको सल्लाहबमोजिम बर्खन्तको मिति निर्धारण गरिन्छ । सोही अनुरूप ‘साम् सामा’ गरी मृतकका छोरा, छोरी, श्रीमान्, श्रीमती वा सो नभएमा नजिकका आफन्तले किरियापुरी भई कोरामा केटा भए चार दिनमा र केटी भए तीनदिनमा फराक्लो गरी बर्खन्त सिध्याउने चलन छ । कतिपयले भने युम् निःङ्गे (नून–तेल) मागी पछि मात्रै बर्खन्तको फराक्लो गर्ने चलन पनि छ । बर्खन्तमा मृतकका मामामावली, चेली माइती वा नातेदारहरू पाहुना बोलाउने र उनीहरू र तुम्म्याङहाङहरूको रोहबरमा फराक्लो गरिन्छ । कतिपयले यसपछि लगत्तै खेमा? तङ्सिङ राख्ने गर्दछन् । यसमा येवा÷येमाले मृतात्मा र जीवितहरूको सातो छुट्याउने र मिक्वा साङ्मा वा आँशु पुच्छ्ने विधि गर्दछन् ।
अप्राकृतिक मृत्युलाई लिम्वूभाषीहरूले ‘ताप्फेÞम्बा लाम्’ भन्दछन् । न्वारन गर्नुभन्दा अगाडि नै शिशुको मृत्यु भएमा त्यसलाई ससिक भनिन्छ । यसरी नै न्वारनपछि दुधे दाँत उम्रनु अगावै शिशुको मृत्यु भएमा यस्तो मृत्युलाई सुसुना भनिन्छ । दुधेदाँत उम्रेपछि शिशुको मृत्यु भएमा त्यसलाई ताङ्लिङ्हाङ्सा भनिन्छ । ससिक र सुसुना मृत्यु वरण गर्नेको लागि बर्खन्तको कुनै रित गरिँदैन ताङ्लिङ्हाङ्सा मृत्यु वरण गर्नेको नाममा भने नुन तेल माग्ने र परिवार नातेदारलाई चोख्याउने काम फेÞदाङ्माले गर्दछन् ।
कोहीले आत्महत्या गरेमा, लडेर, पानीमा डुबेर मरेमा त्यसलाई सोघा भनिन्छ । यसरी नै सुत्केरी हुँदा मरेकालाई सुगुत् भनिन्छ । लडाइँमा परी मरेकालाई नाहाङ (जे.आर्. सुब्बा ः२००५–७२) भनिन्छ । यी तीनप्रकारका मृत्यु वरण गर्नेहरूको लागि येबा÷येमाले सोघा या सुमुत् मार्ने संस्कार गर्दछन् । सामान्यतया यस्ताहरूको बर्खन्त गर्ने चलन हुदैन । तर कतिपयले भने सोध÷सुमुत् सेप्मा र बर्खन्त दुवै गरेको पनि पाइन्छ । सोघा या सुमुत् मार्दा चढाइने पशुवलीलाई हेÞल्लाङ्सा भनिन्छ ।
(उ) संस्कार सम्पादनकर्ताहरूः लिम्वू जातिमा परम्परागत रूपमा चलिआएका संस्कारहरू सम्पादन गर्ने कार्य लिम्वू पुरोहितले गर्ने गर्दछन् तर उनीहरूले ती कार्यहरू पाःन् तुम्म्याङ (पञ्चभलाद्मी) हरूको रोहबरमा गर्नुपर्दछ । यस्ता पुरोहितहरूलाई फेÞदाङ्मा (पुरूष), साम्बा (पुरुष), येबा (पुरूष)÷ येमा (स्त्री) र युमा (स्त्री) गरी चार समूहमा विभाजित छन् ।
फेदाङ्माः फेÞदाङ्मा स्त्रीलिङ्गी शव्द भए पनि व्यक्तिचाहिँ पुरूष हुने गर्दछ । फेÞदाङ्माले गर्ने कामहरूमध्ये पूजा विधिहरू मुख्य हुन् । माथि उल्लेखित विधिहरूमध्ये साप्पोक चोमेÞन्, याङ्दाङ फोःङ्मा, मेक्खिम खमा, माङ्गेन्ना गर्ने, खाउमा या फराक्लो गर्ने आदि संस्कारहरू फेÞदाङ्माद्वरा सम्पादन गरिन्छ । फेÞदाङ्मालाई लिम्वू मुन्धुमअनुसार प्रथम लिम्वू धार्मिक पुरोहित मानिन्छ ।

येबा÷युमाः अकालमा मरेकाहरू जस्तेै सोघा, सुगुत् र ससिक भएकाहरूलाई ठेगान लगाउने येबा÷येमाहरूले काम गर्दछन् ।
साम्बा मुन्धुम या दर्शनशास्त्रका ज्ञाताहरू हुन् । उनीहरूको काम मुन्धुम तथा धार्मिक अनुष्ठानहरू सम्पन्न गर्नु हो भने युमा साम् युमा (लिम्बू जातिको मूल माङ या भगावन् तागेरा निङ्वाभुमाङको सांसारिक स्वरुप) को सेवा वा पूजापाठ गर्ने पुरोहित वा पुरोहिताको रूपमा लिइन्छ । यी चारै प्रकारका पुरोहितहरू जन्मसिद्ध रूपमा प्रकट हुने पुरोहितको रूपमा मानिन्छन् ।
(ऊ) लिम्वू संस्कारका समस्याहरूः मानवशास्त्रीय एवम् समाजशास्त्रीय रूपमा अध्ययन गरिएमा लिम्वू जातिले मान्दै आएका संस्कारहरूको मोटामोटी उत्पत्ति समय, त्यसको प्रभाव र संस्कारमा देखिएका विकृतिहरूको किटान गर्न सकिन्छ नै । यद्यपि हालसम्म यसरी व्यवस्थित अध्ययन हुन सकेको छैन । यहाँ सामान्य रूपमा देखा परेका लिम्वू संस्कारका समस्याहरूलाई प्रस्तुत गरिएको छ ।
गैरलिम्वू जातीय संस्कारको संक्रमणः घोषित रूपमा नेपालमा लिम्बुवान एकीकरण भएपछि खसहरूको संस्कार र संस्कृतिहरू लिम्वू जातिमा शासकहरूले जवरजस्त थोपरे । शासकहरूले थोपरेका संस्कारहरू अनिवार्य रूपमा पालन गर्नैपर्ने अवस्था सिर्जना भयो जस्तै विवाहपछि दुलहीको घरमा पहिलो टिका, दोश्रो टिका र तेस्रो टिका लगाउन जानैपर्ने नियम ।

लिम्वू जातिको संस्कारहरूमा पशुवली दिने चलन पनि एउटा विकृतिकै रूपमा लिन सकिन्छ । मुन्धुममा पशुवलीको स्पष्ट उल्लेख नभए पनि याङ्दाङ फोःङ्मा, माङ्गेन्ना, मेक्खिम माङ्गेन्ना, विवाह, बर्खन्त, सोघा या सुगुत् मार्दा कुखुरा, राँगा अदि पशुको बली चढाई या बध गरी मासु प्रयोग गर्ने चलन रहिआएको छ । हाल आएर यसमा केही सुधार भने भएको छ ।
धर्म परिवर्तनले ल्याएका समस्याः लिम्वू समुदायको जम्मा जनसङ्ख्या पुगनपुग ४ लाख छ तर त्यो जनसङ्ख्या करिब २५÷२६ धर्म र धार्मिक पन्थहरूमा विभाजित छ । यसले लिम्वू परम्परागत धर्म संस्कारमा व्यापक ह«ास ल्याएको छ ।
पन्थहरूको जन्मले ल्याएको समस्याः किरात लिम्वू जातिले मान्ने धर्ममा विभिन्न पन्थहरू जन्मने क्रम दिनानुदिन बढ्दो छ । त्यसमध्ये फाल्गुनन्द लिङदेनले सुरू गरेको सत्याहाङ्मा पन्थले परम्पररागत लिम्वू संस्कारमा व्यापक हस्तक्षेप गरेका छ । सत्यहाङ्मा पन्थले चलाएको पशु वली दिन नहुने अभियानलाई सकारात्मक रूपमा लिन सकिए पनि यसले लिम्वू जातिको मौलिकतालाई त्याग्दै हिन्दू संस्कार विधिहरू भित्र्याएको छ । १० लिम्वूवान १७ थुमका लिम्वू अगुवाहरूलाई भेला गरी फाल्गुनन्दले तयार गरेको सत्यधर्म मुचुल्काको मूल आधार परम्परागत लिम्वू जातिको मुन्धुम भए पनि त्यसको व्याख्या र पुनर्लेखन हुँदा त्यसको मौलिकता प्रायः समाप्त नै भएको छ । यसले पनि लिम्वू जातिको मौलिक संस्कारमा गम्भीर असर पारेको छ ।
कथित आधुनिकताले ल्याएको समस्याः आज भोलि आधुनिकताको हवाला दिएर अनि भूमण्डलीकरणको फुइँ लाएर नयाँ पुस्ताले आफ्नो परम्परागत संस्कारहरू त्याग्दै गइरहेका छन् । उनीहरूले आफ्नो मौलिक परम्परागत संस्कारहरूप्रति हेय दृष्टि राख्ने र अरूको मूलतः पाश्चात्य संस्कार र संस्कृति अँगाल्ने काम भइरहेको छ । यसले पनि परम्पारगत संस्कारहरूको निरन्तरतामा समस्या खडा गरिरहेको छ ।
टुङ्ग्याउनी ः लिम्बू जातिको संस्कारमा रहेका कतिपय विकृत पक्षहरूको समयसापेक्ष सुधार गर्नु आवश्यक छ । महिला र पुरुषमा रहेको ३ दिन र ४ दिनको विभेदको मुन्धुमी आधार खोजिनु पर्छ र त्यसमा सुधार ल्याइनुपर्छ ।
अन्त्यमा, लिम्वू जातिको संस्कारभित्रै रहेको र बाहिरी कारणले देखा परेका समस्याहरू भए पनि यसको मौलिकतालाई बचाई राख्नु हाम्रो कर्तव्य हो । विविध नेपाली संस्कार संस्कृतिमध्ये लिम्वू संस्कार र संंस्कृति एक हो । जसरी सबै रङ्गहरू मिलेर मात्र सुन्दर सप्तरङ्गी इन्द्रेनी बन्न सक्छ त्यसरी नै सम्पूर्ण नेपाली जातजातिका अनेक संस्कृति मिलेर एक सुन्दर नेपाली संस्कृतिको निर्माण हुन सक्छ । त्यही सुन्दर संस्कृतिको एउटा आधार लिम्वू जातिको संस्कार संस्कृतिको जगेर्ना गर्नु लिम्वू जातिको मात्र हैन राज्य कै कर्तव्य हो ।
चित्रहरुः ललितपुर चुम्लुङ हिमका भिते चित्रहरु
स्रोत ः वर्ष २६, अङ्क ६, वि. सं. २०७८ असार बाट


222 पटक हेरिएको 










