पृथ्वीको पोट्रेट चित्र

 

समयको क्यान्भासमा
यथार्थको कुचि समातेर
समयलेनै कोरिरहेको छ
पृथ्वीको पोट्रेट चित्र।

चित्रमा अटाएका सबै मान्छेहरू
भिन्चीको मोनालिसा जस्तो सुन्दर छैनन्
अधिकांशमा
फिक्का छ,मानवताको रङ्ग
फिक्का छ,आत्मियताको रङ्ग
बरू
गाढागरी लत्पतिएको छ जताततै,क्रोध र ईष्याको रङ्गहरू।

चित्रमा
देख्न सकिन्छ
त्यो युगदेखि यो युगसम्म निरन्तर बगिरहेको,
मज्दुरको आलो रगत गनाउने
थुप्रै थुप्रै नाइल नदीहरू।

देख्न सकिन्छ
त्यो युगदेखि यो युगसम्म अग्लिरहेको,
भुईँमान्छेको हड्डी गनाउने
थुप्रै थुप्रै सिंहदरबारहरू ‌। ‌

श्रीपेच लाउनेहरू
फुटबल खेलिरहेकाछन्, पृथ्वीको
देखिएको छ पृथ्वी,हावा निस्किएको भकुण्डो जस्तो
खोक्रो,
खोक्रो ।

चित्रमा अटाएका छन्
हिमाल भन्दा अग्ला अग्ला,हाम्रा अहमका पहाडहरू
रुखहरूका भन्दा घना,हाम्रा लालचका जङ्गलहरू

हिँडिरहेकाछन्, विकासको जुत्ता लाएर विनासहरू
चपाउँदै चापाउँदै
पहाड
खोला
सभ्यता

अस्तित्व।

मन्दिर
मस्जिद
चर्चमा
अन्धविश्वासले आस्थाको मृत्युगान गाइरहेछ ।

समयको क्यान्भासमा
यथार्थको कुचि समातेर
समयलेनै कोरिरहेको छ
पृथ्वीको पोट्रेट चित्र।

चित्रमा देख्न सकिन्छ
आधुनिक मनोविज्ञानको होमाग्नीमा
पालैपालो जलिरहेको
रुख
फूल
चराचुरुङ्गी
जीवजन्तु

आदिवासी चिन्तन।

हावामा बहिरहेको छ
खरानीका कणहरू
कणहरूमा छ, विध्वंसको गन्ध
विध्वंसको गन्धमा छ,मानविय प्रवृति ।

पुरै‌ चित्रलाई शिर देखि तीर सम्म नियाल्दा
यति उजाड देखिन्छ कि
मानौँ कसैले उजाडदाता लाई सुन्दरताको मानक मान्यो भने
ब्रमाण्डकै सबै भन्दा सुन्दर चित्र यही हुनेछ ।

यथार्थको कुचि समातेर
यस्तो चित्र कोर्न
समयलाई कसले प्रेरित गरिरहेकोछ??
समय स्वयम आफैले?
पृथ्वीले?
कि
स्वघोषित सर्वश्रेष्ठ प्राणी अर्थात मान्छेले??

समयको क्यान्भासमा
यथार्थको कुचि समातेर
समयलेनै कोरिरहेको छ
पृथ्वीको पोट्रेट चित्र।

(नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित `राष्ट्रिय कविता महोत्सव-२०८०´मा टप २५ मा  छनोट भएकोे कबिता)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार