पथरी । अनियमित विद्युत कटौतीबाट उत्पन्न समस्याको समाधानका लागि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख सागर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।
आज उर्लाबारीस्थित विद्युत प्राधिकरण कार्यालयमा नगर प्रमुख तुम्वापोसहित वडा नं. २ का वडाध्यक्ष नैना राई तथा वडा सदस्य चन्द्रकुमार राई (सिके) सहितको टोलीले वितरण केन्द्रका प्रमुख पोखरेलसँग भेट गरी विद्युत आपूर्तिसम्बन्धी समस्याबारे छलफल गरेको हो । भेटका क्रममा नगर प्रमुख तुम्वापोले अनियमित विद्युत कटौतीका कारण नगरका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले दैनिक रूपमा सास्ती भोग्नुपरेको उल्लेख गर्दै समस्याको कारण र समाधानका उपायबारे गम्भीर छलफल गरे । जवाफमा वितरण केन्द्र प्रमुख पोखरेलले ३३ केभी उर्लाबारी लाइनका दुई स्थानमा जम्पर जलेको तथा पथरी शनिश्चरे क्षेत्रमा विद्युतको अत्यधिक मागका कारण ओभरलोड समस्या देखिएकाले विद्युत आपूर्ति पटक–पटक अवरुद्ध भएको जानकारी दिए। उनले समस्या समाधानका लागि प्राधिकरणको टोली निरन्तर खटिएको बताउँदै आगामी आइतबारसम्ममा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउने विश्वास व्यक्त गरे ।
छलफलका क्रममा पथरी शनिश्चरे क्षेत्रमा देखिएको विद्युत आपूर्ति समस्याको तत्कालीन तथा दीर्घकालीन समाधानका लागि अवलम्बन गर्न सकिने दुईवटा योजनाबारे समेत विस्तृत विचार–विमर्श भएको थियो ।


2 पटक हेरिएको 




