धेरै लामो सयमबाट ढाका व्यवसाय गर्दै आउनु भएका उज्ज्वलता सुब्बाको तेह्रथुमको सदरमुकाम म्याङलुङको मुख्य चोकमा ढाका कपडाको पसल रहेको छ । आज भन्दा ३० वर्ष अगाडि एउटा तानबाट सुरु गरेको सुब्बाले अहिले तानको फ्याक्ट्री नै सञ्चालनमा ल्याउनु भएको छ । तेह्रथुमको तुम्बाहाम्फे माइती रहेको उज्ज्वलता सुब्बाको कर्मघर भने ताप्लेजुङको थेचम्बुको मेन्याङ्बो परिवार हो । थेचम्बुघर भएता पनि तराई झापाको झिझिलेतिर बस्दै आएका थिए । २०४० सालतिर श्रीमान्को मोटर दुर्घटना परेर मृत्यपछि एक्लै भएका उज्ज्वलता सुब्बा माइती आईन् । सुब्बाका अनुसार सुरुमा घर छिमेकका दिदी बहिनीहरुसँगै मिलेर ढाका व्यवसाय सुरु गर्दा आफूले उत्पादन गरेको ढाका कपडा घुमन्ते व्यापारीहरुले स–साना परिमाणमा लैजान्थे र कतिपय भने गाउँकै एउटा व्यापारीले धरानसम्म लगेर बिक्रि गरिदिन्थे । समयसँगै अगाडि बढदै जाँदा व्यापारले देशमा मात्र नभएर विदेशमा सम्म व्यापार विस्तार भएको बताउनु हुन्छ ।
उज्ज्वलता सुब्बाले तेह्रथुमको टुँडिखेल नजिकै एउटा कारखाना समेत खोल्नु भएको छ । खास गरेर हाते तान मार्फत ढाका उत्पादन गरिन्ने उहाँको उद्योगमा अहिले पनि करिब ५० जना जति कामदारहरु रोजगारी गरिरहेको बताउनु हुन्छ । सुब्बाले हालसम्म हजारौँ जनालाई सीप सिकाएकी बताउनु हुन्छ । थोरै लगानीबाट पनि यो पेशा अङ्गाल्न सकिन्ने भएकाले यसमा महिला दिदीबहिनीहरुको चासो हुने गरेको सुब्बा बताउनुहुन्छ । यसरी सीप सिक्न आउने र उद्योगमा काम गर्ने महिला दिदीबहिनीहरु एकल महिला र परिवारबाट पीडित भएकाहरु धेरै रहेको बताउनु हुन्छ । यहाँकोमा दैनिक जस्तो विभिन्न एनजीओ, आइएनजीओ, मिडियाहरु चासो लिएर पुग्ने गर्दछन् । सुरुमा म्याङलुङमा एक मात्र ढाकाको उत्पादन गर्ने सुब्बा मात्र थिईन, तर अहिले भने उहाँबाट सिकेर अहिले म्याङलुङ बजारभरी दजनौँ सङ्ख्यामा ढाका उद्योग र पसलहरु सञ्चालनमा रहेको पाइन्छ । सुब्बाको ढाका व्यवसायबाट औषतमा महिनामा करिब १२–१५ लाखको कारोबार हुने गरेको बताउनु हुन्छ । ढाका व्यवसायको क्षेत्रमा सफल व्यवसायीको रुपमा चिनिन्नुहुने उज्ज्वलता सुब्बासँग तेह्रथुमको म्याङलुङ बजारमा रहेको उहाँको आफ्नै ढाका पसलमा पुगेर भूपेन्द्र खुदाङ लिम्बूले गरेको कुराकानी प्रस्तुत छ ः
तपाइँले यो ढाका व्यवसाय कहिलेबाट सुरु गर्नु भो ?
आजभन्दा करिब ३० साल अगाडि २०४२ सालतिर सुरु गरेको हो । त्यो समयमा मेरो श्रीमान्को सवारी दुर्घटनामा परी मृत्य भएपछि म एक्लो थिएँ । त्यतिवेला हामी झापाको झिलझिलेतिर बस्थ्यौँ । श्रीमान् त्यतिवेला संसदमा उठ्ने तयारीमा हुनुहुन्थ्यो । तर चन्द्रगडिमा सवारी दुर्घटनामा परी मृत्यु भएपछि म र स–साना बालबच्चा मात्र मेरो साथमा थिए । यसरी एक्लो भएपछि आमा, दिदीबहिनीहरुले यहाँ माईती नै बोलाउनु भो । त्यसपछि म यहाँ माईतीमा आएँ । त्यतिबेला आमा, दिदीबहिनीहरुले खाँडिको कपडाहरु बन्नु हुन्थ्यो र पछि सबैले यो ढाका कपडा बुन्नु सुरु गर्यौँ ।
ढाका व्यवसाय गर्ने प्रेरणाको स्रोत के हो नी ?
घरमा आमा, दिदीबहिनीहरुले नी बन्नुहुन्थ्यो । केही कपडाहरुबाट अर्थापार्जन हुने गर्थ्यो । त्यसबेला बालबालिकाको भविष्य हेर्नुपर्ने जिम्मेवारी पनि थियो । रहर भन्दा पनि बाध्यताहरुबाट यो पेशामा लागेँ ।
त्यतिखेरको बजारको अवस्था कस्तो थियो ?
गाउँकै एउटा व्यापारी दाइ थियो । व्यापारको लागि उहाँले हामीसँग भएको कपडाहरु लगेर धरानमा बेच्ने गर्थ्यो । पछिपछि यहाँ नै विभिन्न ठाउँहरुबाट ढाका कपडा पाइन्छरे भन्दै खोज्दै आए र ढाका बुन्ने दिदीबहिनीहरु पनि सङ्ख्यात्मक रुपमा बढ्दै गयौँ । पछि धेरै जना दिदीबहिनीहरुले बन्ने भएपछि फ्याक्ट्री नै खोल्ने विचार गरेँ र यहाँ बजारनेर नै खोलेँ ।
तपाइँको उद्योगमा ढाकाको के के सामाग्री उत्पादन हुन्छ ?
सामान्य रुमालदेखि टाइ, कुर्ता सुरुवाल, साडि चोलो, तागा मेख्ली, लेहेङ्गा, टोपी, बर्को(पथाङ), दउरा सुरुवाल, कोट पेन्ट लगायत अडर बमोजिमको डिजाइन गरी उत्पादन गछौँ ।
ढाका कपडा महँगो हुन्छ भन्छन्, तपाइँकोमा कस्तो छ ?
ढाका कपडा हातको माध्यमले बुनिन्ने भएकोले यसमा मिहेनत बढी लाग्ने गर्छ र स्वभाविक हिसाबमा केही बढी मुल्य देखिन्ने गर्दछ । तर यहाँ अडर, डिजाइन बमोजिम बनाउने गर्दछौँ । हामीसँग रु ५० रुपयौँदेखि ५ हजारसम्मको टोपीहरु छन् भने साडि चोलो र दउरा सुरुवाल ५ हजारदेखि डिजाइन अडर बमोजिम महँगो महँगो पनि तयार गर्छौँ । कुनै समयमा ६ सय जना कामदारहरु राखेर समेत उत्पादन गरेका थिएँ ।
त्यति धेरै सङ्ख्याले उत्पादन गरेको कपडाको बजार कहाँ थियो ?
काठमाडौँमा मिरा भट्टराईलाई दिन्थेँ । उनले विभिन्न देशहरुमा सप्लाइ गर्ने गर्थ्यो । तर पछि आउनु जानु गाह्रो भएको म्याङलुङ केन्द्र्ति भएँ । तर यहाँबाट अहिले पनि काठमाडौँमा निरु आङबुङ लगायत विभिन्न पसलहरुले लैजाने गर्दछ ।
सबै भन्दा बढी विक्रि हुने कपडा कुन हो ?
तुलनात्मक हिसाबमा साडि, मेख्ली, कुर्ता सुरुवाल, टोपी र रुमाल हो । तर अरु पनि त्यतिकै मात्रमा माग भइरहेको हुन्छ ।
अहिले बजारको अवस्था कस्तो छ नी ?
यहाँ म्याङलुङमा नै माग पुर्याउनु धाउधाउ छ । मागहरु धरान, काठमाडौँदेखि विदेशसम्म मागहरु बढिरहेको छ । हातको माध्यमले बुन्ने भएकोले उत्पादन कम मात्र हुन्छ ।

अनि, यतिधेरै माग बढिरहेको बेला उद्योग बढाउदाँ हुन्थ्यो होला नी ?उद्योग बढाउने तपाइँको भावी योजना छैन् ?
अवस्थाले बढेस्काल लागेको महसुस गरिइरहेको छु । छोरा बुहारीले यो विषयमा सोच्दै छन् । अब उनीहरुले नै यस व्यवसायलाई हेर्छन् ।
तपाइँको परिवारमा को को हुनुहुन्छ ?
दुई भाई छोरा र एक बहिनी छोरी छन् । छोरी अष्ट्रेलियामा ग्रिनकार्ड पाएर उतै बस्छ । जेठा छोरा बुहारी कान्छा छोरा यहाँ नै बस्छन् । म जति सक्दो ढाका उत्पादन वितरण व्यवसाय गरेँ अब यीनै छोरा बुहारीको पालो ।
तपाइँले यसरी उद्योग सञ्चालन गरिरहनु भएको छ, कस्ता किसिमको र कुन समुदायको महिला दिदीबहिनीहरु आउनु भएको छ ?
काम गर्नु आउनेहरु खास गरेर गाउँघरतिरको दुःख पाएका, बुढाले छाडेका, एकल महिला, उत्पीडित महिलाहरु धेरै आउने गर्दछन् । थोरै लगानीबाट पनि यो पेशा अङ्गाल्न सकिन्ने भएकाले यसमा महिला दिदीबहिनीहरुको चासो हुने गरेका छ । मैँले सुरु गरेपछि यहाँ धेरै महिलाहरुले आफैँ व्यवसायहरु सञ्चालनमा ल्याएका छ । अहिले म्याङलुङमा मात्र दर्जनौँ सङ्ख्यामा ढाका उद्योग र पसलहरु छन् ।
यतिधेरै उत्पीडित महिलाहरुलाई समेत सीप तथा रोजगारी दिनु भएको छ । जिन्दगीको अनुभव कस्तो लाग्छ ?
जीवनको कुनै एक समयमा म स्वयम् पनि केही आर्थिक हिसाबमा समस्यामा थिएँ । तर पछि मैँले ढाका व्यवसाय अङ्गालेँ । त्यही व्यवसायबाट हजारौँ उत्पीडित नारीहरुलाई सहयोग पुर्याउन सकेँ । सीप सिकाएर स्वलम्बी बन्नु पर्छ भन्ने कार्यमा साथ दिन सकेँ । यसरी म जस्तै महिला दिदीबहिनीहरुलाई सहयोग गर्ने पात्रको रुपमा आफूलाई पाउँदा अत्यन्तै खुसी लाग्छ । यहि अनुभूतिलाई निरन्तरता दिन जीवनभर ती उत्पीडित महिलाहरुलाई साथ दिनेछु ।


301 पटक हेरिएको 












