उपेन्द्र यादव एउटा नेता मात्र नभई समग्र मधेश र मधेशीको लागि विचार हो, सोच हो । उनले मधेशकों विकास निर्माणका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षणलगायतका अधिकारहरु सुनिश्चित गराउने काम गर्नुभयो । आज मधेशीका छोराछोरीहरु भटाभट लोक सेवाबाट नाम निकालेर सरकारी जागिर खाइरहेका छन, त्यो उपेन्द्र यादवको देन हो । आरक्षण कोटामा छोराछोरीले डाक्टर, नर्स, इञ्जिनियरिङ पढ्न पाएक छन, त्यो पनि उपेन्द्र यादवको नै देन हो ।
उपेन्द्र यादवको देन होइन भने कसैले प्रमाणित गरेर देखाओस् । त्यति मात्र होइन, छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो । मधेशी जनता अर्थात् कालो अनुहारलाई भैया, मर्सिया, मदिसे ईत्यादी उपनामले अपमानित हुनु परेको थियो । तर उपेन्द्र यादवले ती मधेशीलाई आज गर्व गर्न लगायक बनाउनु भएको छ । प्रदेश २ नम्बर मधेश प्रदेश नामाकरण गराउने व्यक्ति सिर्फ उपेन्द्र यादव हुनुहुन्छ । सात प्रदेशमा उपेन्द्र यादव जस्तो काम अरु कसैले गर्न सकेनन ।
जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारु, अल्पसंख्यक समुदाय, पिछडा वर्गलगायत उत्पीडित, सिमान्तकृत समुदाय, जातिहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि जनता समाजवादी पार्टी नेपालको अध्यक्षको रुपमा निरन्तर सङ्घर्षको मैदानमा हुनुहुन्छ । उहाँको जन्म, शिक्षादीक्षा समेत सप्तरीमै भएकोले मातृभूमिको साइनो त छ नै सप्तरीको माटोसँग । मधेश आन्दोलनको प्रमुख केन्द्र सप्तरी नै भएकोले बढी समय दिनु स्वाभाविक नै थियो । २०७४ सालमा प्रतिनिधि सभाको चुनाव लड्न सप्तरीबाटै लड्न आग्रह भएपछि उम्मेदवारी दिएर जब मैदानमा होमिनुभयो, तब धेरैको निद्रा हरायो ।
उपेन्द्र यादव घेराबन्दीमा
गत मङ्सीर ४ गतेको निर्वाचनमा चुनाव लड्न मधेश प्रदेशका लगभग सबै जिल्लाबाट उपेन्द्र यादवको नाम सिफारिस भएको थियो । तर सप्तरीका पार्टी, कार्यकर्ता तथा आम जनताले उपेन्द्र यादवलाई त्यहीबाट चुनाव लड्न आग्रह गरेका थिए । उपेन्द्र यादवले सप्तरीको आग्रहलाई अस्विकार गर्न सक्नुभएन । जब उहाँले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिए तब शुरु भयो षडयन्त्र । अति शालिन, भद्र एवम् वौद्धिक नेता उपेन्द्र यादवको विरुद्धमा चौतर्फी घेराबन्दी शुरु भयो । स्वाभिमानी नेतालाई हराउन देशी विदेशी शक्ति त लागेको थियो नै । जातीय तथा धार्मिक लगायतका हतकण्डाहरु अपनाउने कार्य भईरह्यो । यहाँसम्म कि कतिपय आफ्नै सहकर्मीहरुले विश्वासघात गरेको तथ्य पनि बाहिर आएको छ ।
पटक पटकको जेलनेल, बुट र लट्ठीको कुटाई तथा थरिथरिका दुःखको अनुभूति भोगिसक्नु भएका उहाँ चौतर्फी घेराबन्दी र षडयन्त्रका बीच पराजय व्योहोर्न बाध्य हुनुभयो । नेल्सन मण्डेला झैं जीवनमा हार नमानी उहाँले सङ्घर्षको यात्रालाई जारी राख्नुभयो । जीत–हारले उहाँको राजनीतिक यात्रामा खासै महत्व रहेन तर सप्तरीको चौतर्फी विकास र समृद्धिको यात्रामा विराम लागेको चिन्ताको विषय बनेको छ । हो पनि, आज सप्तरी २ बाट उहाँ पुनः निर्वाचित भएको भए विकासीय कार्यहरुले थप गति लिने थियो भने नयाँ कामहरुको श्रीगणेश हुने थियो । दुर्भाग्य नै भन्नुपर्दछ जुन नेताले मधेश र मधेशीको पहिचान र अधिकार स्थापित गराउनुभयो तीनै नेता पराजित हुनुभयो ।
उहाँको पराजयले सङ्घीयता र पहिचानवादी पक्षधर शक्तिहरुलाई कमजोर पार्ने दुष्प्रयास भएकै हो । यतिमात्र होइन, कथित वैज्ञानिक डा. सीके राउतको नाममा हौवा फैलाएर मसिहा बनाउने काम भइरहेको छ । जबकी मधेश आन्दोलन होस वा अन्य कुनै पहिचानवादी आन्दोलन सीके राउतको कतै पनि उपस्थिति देखिएको थिएन । सिके राउत स्वतन्त्र मधेश अर्थात अलग देश बनाउने मुद्दा लिएर अगाडि बढ्नु भएको थियो । प्रहरी हिरासतमा बस्नुपर्ने डरले सीके राउतले रातारात नेकपा एमालेका अध्यक्ष एवम तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आउनुभयो । उहाँले प्रहरी दमनका पुराना भिडियोहरु प्रोजेक्टरमा देखाएर दलित एवम विपन्न वस्तीका सोझासाझा जनतासँग ईमोशनल ब्ल्याकमेलिङ्ग गर्नुभयो चुनावमा । अहिले पनि बाराबासीबीच भ्रामक प्रचारबाजी गरेर ठग्ने प्रयासमा रहनुभएको प्रष्ट बुझ्न सकिन्छ ।
उपेन्द्र विरोधी सीके
उपेन्द्र यादव हारे पछि त सीके राउतले उहाँसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उहाँ मूल शत्रु उपेन्द्रलाई मानेर मधेश विरोधी क्रियाकलापमा लाग्नुभएको छ । सीकेको लडाई त राज्य सत्तासँग हुनुपर्ने थियो । तर उहाँ र उहाँका नेता तथा कार्यकर्ताले उपेन्द्र यादवसँगै हो भने कुरा पुष्टि भईरहेको छ । सिके राउतले आफ्नो प्रधान सत्रु उपेन्द्र यादवलाई मान्नुभएको छ । यस्तो तुच्छ सोचले आफैमा लडेर मधेश र मधेशीलाई कमजोर पार्ने बाहेक अरु केही हुन सक्दैन ।
चुनाव जितेपछि उहाँले आफ्नो ध्यान मूल रुपमा निर्वाचित भएको जिल्ला सप्तरीको विकास र समृद्धिका लागि ध्यान केन्द्रित गरी कामहरु अगाडि बढाउनुपर्ने थियो तर त्यसतर्फ उहाँको कुनै चासो छैन । चुनावताका नै विशेष पहल गरी उपेन्द्र यादवले कृषि विश्वविद्यालयमा बीएससी एजी अध्ययनका लागि भर्ना खुल्ला गर्नुभएको थियो । जसरी नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रङ्गभेदी, जातिभेदी नेतृत्व विरुद्ध अनवरत लड्नु भएको थियो । त्यसरी नै छालाको रङ्ग, बोली भाषाको आधारमा गरिँदै आएको विभेद र असमानता विरुद्ध सङ्गघर्ष गर्दै आउनु भएको नेता उपेन्द्र यादव उप–निर्वाचनमा बारा २ बाट चुनावी प्रतिष्पर्धामा उत्रिनु भएको छ ।
प्रतिनिधि सभामा सङ्घीयता र धर्मनिरपेक्षता विरोधीहरु सलबलाउन थालेकोले मधेशी जनताको बलिदानीबाट स्थापित सङ्घीयता तथा मधेशी जनताको स्वाभिमान रक्षाका लागि बाराका आम जनताले आग्रह गरेर ससम्मान चुनावी मैदानमा उहाँलाई ल्याइएको हो । मधेशको पहिचान स्थापित गराउने आफ्ना नेतालाई हर्षोल्लासका साथ चुनावी प्रतिष्पर्धामा उम्मेदवारी दिन लगाउनु भएको छ । भावी सन्ततीको भविष्य सुनिश्चितता तथा बाराको समग्र विकासका लागि उपेन्द्र यादवबाहेक अर्को विकल्प छैन । उहाँ कुरामा होइन काममा विश्वास गर्नुहुन्छ ।
जसरी राम वनवासबाट फर्केर आउँदा अयोध्यावासीले स्वागत गरेका थिए त्यसरी नै बारावासीले स्वागत गरेर मिशाल कायम गरेका छन् । सप्तरीको मुहार फेर्न मिशन र भिजनका साथ काम गर्दैआएको जसपा अध्यक्ष उपेन्द्र यादवको अबको गन्तब्य स्वाभाविक रुपमा बारा बन्ने छन् । बारा २ का महान जनताले सिङ्गो पहिचानवादी आन्दोलनको उचाइँ थपेका छन् । -अमुर्त अनलाइन


235 पटक हेरिएको 










