सेवारो!
ओ पेङ्दोर्जे विमोचन भएपछि विराटनगर गएर लिएँ । थोरै कवि मात्रै होलान जो यतिबेला निडर भएर भुईँमान्छेको कविता लेख्छन् । त्यस्तै थोरै कविहरू मध्ये एक निडर कवि लाग्छ राजु स्याङ्तन । सामाजिक सञ्जालहरूमा पढ्न पाएका उनका कविताहरूबाटै उनका कविताहरू पढ्ने रुचि बढेको हो ।
आज संग्रह पढि सकियो र केही लेखौँ लाग्यो …….
टोटोलाको फूललाई तामाङ समुदायले साँस्कृतिक प्रतीकको रुपमा लिन्छ । हरेक संस्कार-सँस्कृतिमा र औषधिका रूपमा तामाङहरूले यो फूल प्रयोग गर्ने गर्छन । अर्थात तामाङ समुदायमा टोटोलाको महत्व अत्यन्तै पवित्र रुपमा रहेको छ । यही कारण यो कविता सँग्रह “ओ पेङ्दोर्जे” को आवरणको रङ्ग टोटोलाको फूलको रङ्ग जस्तै बनाइएको हो भन्ने मेरो बुझाइ छ । तामाङ समुदायको अत्यन्तै पवित्र र प्रिय बाजा डम्फुलाई आवरणमा बनाइएको छ । आवारण बाटै यहाँ भित्र कस्ता कविता होलान? केही हद सम्म अनुमान लगाउन सक्छौँ ।
उनले ५१ वटा कवितालाई ६ खण्डमा बाँडेर सँग्रहित गरेका छन् । यो सँग्रहमा सत्ताको दमन विरुद्ध राजु स्याङ्तनको विद्रोही स्वरुप देख्न सकिन्छ । इतिहासको हरेक घट्ना र ती घट्नालाई गरिएको दस्तावेजिकरणहरूमा उनी प्रश्न गर्न चाहान्छ । कविता मार्फत सशक्त प्रश्न गरिरहेका छन् । उनले सँग्रहमा तामाङ् समुदायको मात्रै नभएर समग्र भुईँमान्छेको अस्तित्वको लागि आवाज उठाएकाछन् । आधुनिकताले चिथोरेको मौलिकताको घाउलाई नजिकबाट नियालेर लेखिएका कविताहरू थुप्रैछन् । यो सँग्रह मार्फत इतिहासको पुन लेखन र स्वलेखन गर्नु पर्छ भन्ने कित्तामा उनी उभिएको प्रष्ट छ ।
अहिले प्रदेशको नामकरणलाई लिएर सत्ताले देखाएको हिँस्रक स्वरुप र प्रवृत्ति विरुद्ध यो सँग्रह एउटा गतिलो प्रतिरोधको रुपमा मैले बुझेको छु ।

यस सँग्रहमा सँग्रहित रामबहादुर मार्ग, आमा तिमी मात! , नागरिकता, गाउँ हराएको कथा, पिपाको हुङ्कार लगायतका सबै कविताहरू अत्यन्तै शक्तिशाली छन् ।
अधुरो यात्री र नयाँ वर्ष यी दुई कविता चाहिँ साँच्चै कम्जोर लाग्यो ।”अधुरो यात्री” मा भावना ज्यादा हाबि भयो भन्ने लाग्यो । “नयाँ वर्ष” कवितामा चाहिँ कविलाई कसैले जबरजस्ती प्रेम कविता लेख्न लाएको जस्तो अनुभुति भो । कविताको तदम्यतै नमिलेको लाग्यो । (यो मेरो पाठकिय अनुभुति मात्रै हो । अधुरो यात्री र नयाँ वर्ष अरु पाठकको लागि फेब्रेट कविता पनि हुन सक्छन्)
” बालसखा” कविताको एउटा अंश छ:
समयको लामो अन्तरालपछि
आज सुनेँ
तिमी त सिंहदरबार पुग्यौ रे
म त गरिब कोखमा जन्मिएँ
गरिबकै बस्तीमा पुगेँ
यस कविता पढ्दै जाँदा ” म त गरिब कोखमा जन्मिएँ” यो अंशमा अर्थको अनर्थ लाग्न सक्ने सम्भावना देखेँ । यो अंशले गरिब आर्थिक स्थिति भएको परिवारनै बताउन खोजेको भएपनि कोख पनि गरिब भन्ने हुन्छर? जस्ता प्रश्न मनमा कता कता आउँदो नै रहेछ ।
कविताहरू लामो आकारका छन् तर शील्प सुन्दर भएकोले पढ्न मज्जा आयो । केही कविताहरुमा प्रत्येक स्टान्जामा अर्को अलग कविता महशुस गर्न पनि सकिन्छ ।
सँग्रहबाट एउटा कविता:
बलात्कारी
———
कसैको अनैतिक गर्भ बोकेर
त्रिशूलीमा फाल हानिन्
फूलमाया विक
सरकारले गिरफ्तार गर्यो मंगलेलाई
मंगलेले रुँदै भन्यो–
‘सरखार !
म त गोठालो मान्छे
उनकै लागि प्रेमपत्र बोकेर
पर्खिरहेछु वर्षौदेखि’
सरकारले घेरा हाल्यो गाउँलाई
गाउँले एक स्वरले बयान दियोे–
‘हजुर !
फूलमाया कलाकार थिइन्
दुःखका गीत गाउँथिइन् एक्लै
सुन्य बनाएर गएकी थिइन् सहर’
सरकारले समायो सहरलाई
सहरले बयान दियो–
‘श्रीमान !
हातमा अस्वीकृत प्रमाणपत्र च्यापेर
दिनभर भौतारिन्थी कतै
साँझ आएर उ त्यो गल्लीमा
बस्थिइन् एक्लै धुमधुम्ती’
सरकारले पक्राउ पुर्जी थमायो गल्लीलाई
गल्लिले बयान दिँदै भन्यो–
‘अत्याचारको आँधीले लुछेको
एउटा फूल थिइन् फूलमाया
उडाएर लग्यो हुरीले टाढा’
त्यसपछि बन्द भयो
एउटा मुल्तबी मुद्दा
…
आज फेरि सुनियो
कसैको अनैतिक गर्भ बोकेर
सुनकोशीमा फाल हानिन्
दिलमाया तामाङ
यस पटक ‘सुसाइट नोट’ फेला पर्यो
नोटमा थियो बलात्कारीको नाम
लेखिएको थियो
‘राज्य’
….
(ओ पेङ्दोर्जे,पृष्ठ ३०)
सडक र भुईँमान्छेको कविता लेख्छन् कवि Raju Syangtan।यसैले पनि राजु स्याङ्तन मलाई मन पर्ने कवि हुन् । उनको संग्रहलाई संग्रहित गर्न पाउँदा आनन्द लागिरहेको छ ।
मेरो स्थायी शिक्षक भए पछिको पहिलो तलबले किनेको पहिलो पुस्तकको पठन अनुभूति गज्जब रह्यो ।
कवि Raju Syangtan Raju Syangtan लाई हार्दिक बधाई तथा शुभकामना । 🌸💜
नोगेन!
सेवारो!
(फोटो:-उनकै कविता सुन्न दमक (२७ किमि) जाँदा खिचिएको तस्बिर)


175 पटक हेरिएको 










