कविताः कुसुमे रुमाल

भन्दैछ तराई, पहाड र हिमाल

भन्दैछ सिङ्गो देश नेपाल

घर-घरमा बाँडिदिनु है काठमाडु!

अहिलेसम्म नबाँडिएको कुसुमे रुमाल

जो दाजुले मात्र पायो मलाई छैन नभनियोस्

त्यो रुमाल कसैको पेवा मात्र हो, मेरो हैन नभनियोस्

बरु मनले मनहरुलाई समेट्ने बैना भनियोस्

समग्रको आवाज स्वीकार्ने ऐना भनियोस्

काठमाण्डु! तिम्रो रुमाल निर्दोष मुस्कुराउने नानी जस्तो होस्

जो हातमा लिउँ-लिउँ लागोस्

ढुङ्गे धराको निर्मल पानी जस्तो होस्

जो पिउँ-पिउँ लागोस्

नेपाली मन त के मित्र देशको मनलाई पनि सिकेर यस्तै रूमाल सिउँ-सिउँ लागोस्

अर्थात कुसुमे रुमालभित्र जिउँ-जिउँ लागोस्

त्यो रुमाल या मैच्याङ र ठुलीले बुनेको होस्

या नेवारी चेलीले कुनेको होस्

या त संविधानको ठेलीले बुनेको होस्

तर सत्तहतरवोटै जिल्लाको मुटुले तुनेको होस्

संसारले हेरेर चुमेको होस्

नचुमोस पनि कसरी

यसको सुगन्ध प्रत्येकले फेर्ने स्वासप्रस्वासमा पुगेको होस्

हो, काठमाण्डु तिम्रो रुमाल खोलेर हेर्दा

सबैले ओढ्न मिल्ने टोपी होस्

आमाले सन्तानलाई दिने ढिंडो र रोटी होस्

गुँडविहीन चराहरुको घरबारी होस्

मिडियाले दिन नसकेको साझा फूलबारी होस्

त्यो भन्दा पनि ठुलो कुरा

माया नै मायाले भरिएको एउटा समझदारी होस्

तिम्रो कुसुमे रुमाल भित्र इन्द्रेणी बस्ती समेटियोस्

जो कोहिले पनि आफूले आफूलाई खोज्दा भेटियोस्

बिन्ती छ काठमाण्डु!

मनले मनहरुलाई नरेटियोस्

यहाँ सुन्नहोस् त

हाम्लाई छिमेकी देशको आँठा नसम्झियोस्

माया बाँड्दा टाढा नसम्झियोस्

भनेर रुँदै थियोे दार्चुला र ओलाङ्चुङ्ले

यस्तै-यस्तै गुनासो सुनाउनु है भन्दै थियो डोल्पा र ताप्लेजुङले

काठमान्डू! यो भेट नै सुअवसरको यामजस्तो लाग्यो

हजुरलाई सुनाउने मेरो काम जस्तो लाग्यो

भोलि गाउघरले आँशु तपतपाउँदै सोध्ला के मागिल्यायौ भनेर

हजुरले दिए त लगिदिने हो नि कुसुमे रुमाल

नदिए त के लानु र उस्तै छ रोइरहने गाउँ-घरको हाल🇳🇵🇳🇵🇳🇵🇳🇵

-ताप्लेजुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार