पथरी । मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले एक डेढ बर्षमा सुकुम्बाासी समस्या एकपटक लागि समस्या समाधान हुने दाबी गरेका छन् ।मंगलबार सिरिजङ्गा स्मृति धार्मिक वन समिति पथरी शनिश्चरेमा चासोक तङ्नामको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सुकुम्बासीहरुलाई निस्सा वितरण गरिसकेको बताउँदै उनले सुकुम्बासी आयोगको अध्यक्ष नियुक्ती भइसकेको र चाँडै नै मोरङको आयोगको जिल्ला अध्यक्ष नियुक्ति हुने बताए । उनले भने, ‘अर्को एक डेढ बर्षमा सुकुम्बाासी समस्या एकपटक लागि समस्या समाधान हुन्छ । ‘ उनले बसन्त भट्टराई आयोग पछाडि ३० वर्षको अन्तरालमा भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानका लागि हुन नसकेेको काम अन्तिम स्टेजमा पुगेेको दावी गरे ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले नेपाल विविध जनजातिको साझा फूलबारी भएकाले सबै जातजातिहरूको भाषा, साहित्य, संस्कृति आदि संविधान प्रदत्त अधिकार संरक्षण गर्न पथरी शनिश्चरे नगरपालिका सदैव तत्पर रहेको अवगत गराए । सिरिजङ्गा स्मृति धार्मिक वनका अध्यक्ष डम्बर चोङ्बाङ, पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की, आदिवासी जनजाति महासङ्घ पथरी शनिश्चरे अध्यक्ष देवेन्द्र वनेम, वडा नम्बर १ का वडा अध्यक्ष भीम कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका छन् । कार्यक्रममा ऐतिहासिक पक्लुङ, लेप्मा, हप्रिङ लक्मा, तिलोङ आप्मा, इडवा थक्मा, भक्पा उम्मा प्रतियाेगिताका उत्कृष्ट खेलाडीहरुलाई पुुरस्कृत गरिएको थियो । हाक्पारे पालाम गीतको प्रस्तुति समेत रहेको कार्यक्रममा के:लाङ प्रदर्शन पनि गरिएको थियो । मंसिर २९ गतेदेखि सुरु भएको चासोक आयोजक किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे र सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समूहको आयोजनामा पुष २ गतेसम्म सञ्चालन भएको थियो ।


118 पटक हेरिएको 











