पृथ्वीमा एउटा मान्छे
औंशिको रात
पृथ्वी–उल्का–तारा–पिण्डहरू
निधाइसकेका थिए।
टुकी बालेर एउटा मान्छे
आंगनमा हराएको सियो
खोजीरहेको थियो।
औंशिको रात
आंगन पुरै पृथ्वी जति नै
विशाल फैलिएको थियो ।
धुलोमा बिलाइसकेको सियो
टुकीको मधुरो उज्यालोसंग खोज्दा
अचानक उसले भेट्यो।
रातको बाह्र बजे ,
फाटेको तन्ना र सिरकहरू
ओछ्यानमा गएर सिलाउन थाल्यो।
टोटाहरूमा ,
धागोका फन्काहरू सकिए
च्यात्तिएको कपडाहरू बाँकी छन।
बिउँझेको विहानी,
पोखिएका कलिला सुर्य रश्मीहरू
क्षितिज र आँगनमा छरपस्ट छन।
उसकोअनिधो शरीर
,बाख्रा,कुखुरा,सुंगुरखोरगाइभैंसीगोठ
चौपाया तिर तानिरहन्छ।
सायद जिन्दगी,
यसरी नै अस्तव्यस्त बाँचिरहन्छ
जबसम्म उ बाँचिरहन्छ।
जिन्दगी चलिरहन्छ,
औँशिको रात र सुर्योदयपछिको दिन
उसको उतिकै चलायमान जिन्दगी।
धेरै छन कामहरू,
खेतबारी खन्न,अन्नबाली छर्न बाँकीछ
दिन रात भएको पृथ्वीमा ।
२०७७÷११÷२६


349 पटक हेरिएको 









