चोत्लुङ खोज्ने चोत्लुङ यात्रा

लिम्बू जातिहरुको जीवन जिउने पद्धतिहरुको सबैभन्दा महत्त्वपूर्ण जीवन दर्शन चोत्लुङ हो । चोत्लुङको बारे मुन्धुमी व्याख्या मुन्धुम विदहरुले गरिरहनु भएको छ । यसको खोज अनुसन्धान र व्याख्या विश्लेषण जारी छ । तर चोत्लुङलाई साधारणतया हामी जस्ता साधारण मान्छेले बुझ्ने भनेको लिम्बू जातिहरुले गर्ने हरेक कार्य, कार्य शैली, पद्धति, विधि बिधानसंग सम्बन्धित अनुष्ठान विधि हो ! हाम्रो लिम्बू जातिहरुको श्रुति परम्परामा चल्दै आएको मुन्धुममा चोत्लुङको बारे थुप्रै कुरा आउँछ । मान्छेलाई अनुमान गरेर लिम्बूहरुले बोल्दा र भन्दा “कन मनाल्ले कुजोत्लुङ इन चोन्देरो”, चोत्लुङ फोक्सेओ, कुनै फेदाङमाले अर्काको माङगेन्ना अनुष्ठानका कार्यहरु गरिदिदा माङगेन्ना चोत्लुङ केरेरो र फेदाङबालाई तुम्याङहाङले निर्देशन दिदा चोत्लुङ केत्तेसेओ जस्ता भनाइहरु सुन्छौ । यसबाट के बुझ्न सकिन्छ भने लिम्बूहरुले हरेक कार्यहरू गर्दा चोत्लुङको बारे चै अति विवेक पुर्ण सचेतता अपनाउनु पर्ने हुन्छ । उनीहरुलाई कुनै पनि फेदाङमाले जस्तोसुकै गारो साह्रो अवस्थामा पनि सुरक्षित चोत्लुङ पुर्‍याउनु पर्ने हुन्छ । त्यति मात्र होइन चोत्लुङ पुर्‍याइसके पछि आफ्नो बासस्थानमा पुन सुरक्षित अवतरण गर्नुपर्ने हुन्छ । त्यसैले चोत्लुङ खोज्ने क्रममा चोत्लुङ के हो? चोत्लुङलाई कसरी बुझ्ने? चोत्लुङलाई बनाउदा बन्ने हो या आफै निर्माण हुने हो? चोत्लुङको आवश्यकता किन व्यापक छ? चोत्लुङ र लिम्बूहरुको सम्बन्ध के हो? जस्ता बिषयले हामीलाई सधै गम्भीर बनाउछ । यी र यस्तै चोत्लुङको बिषयहरु खोज्न र निर्माण गर्न २०८१ कार्तिक ३ गते शनिबार पूर्व योजनाअनुसार हामी फेदाप ५ साविक इसिबु ३ बाट म र तिलबिक्रम हुक्पा चोङबाङ बिहान ७ बजे चिजिलिङ वारक तर्फ हानियौ ।

फेदाप १ सिम्लेबाट डिबि आङबुङ दाइको नेतृत्वमा अन्य साथीहरू त्यही स्थानमा आउने सल्लाह थियो । हाम्रो निश्चित गन्तव्य चाहिँ पिप्पुधाप (जुरे) यासकेनी थेगुसम्म जाने भनेर दुई दिन अगाडि पोक्लाबाङमा हाम्रो सल्लाह भएको थियो । फोन गर्दै हामी अघि बढ्यौ । इसिबुबाट करिब २ घण्टा पैदल हिडेर चिजिलिङ वारक पुगिन्छ भने पोक्लाबाङबाट १ घण्टामा त्यहाँ पुगिन्छ । हामी निर्धारित समयमै नौ बजे त्यहा पुग्यौ तर साथीहरू आउन ढिलाइ गर्नुभयो । त्यस बिचमा आठराई डाँडागाउँबाट रुद्र फोम्बो र उहाँको भाइ कान्छा गायस फोम्बोसंग त्यहा आइपुग्नु भयो । उहाँहरुलाई पनि डिबि दाइले बोलाउनु भएको रहेछ । निरन्तर पोक्लाबाङका साथीहरूलाई फोनमार्फत कता पुग्नुभयो भनेर सोध्ने काम मात्र हुन्थ्यो । फोनको के विश्वास पुग्न लाग्यौं भनेको दुई घण्टामा मात्र साथीहरू त्यहा आइपुग्नु भयो । जम्बो टोली बनेछ सिम्लेका साथीहरूको । त्यसैले ढिलो भयो होला मैले सोंचे मनमनै ! माङगेन्ना चेलीहरुसहित आउदा निक्कै राम्रो यात्रा हुन्छ भन्ने थियो । उहाँहरुको टोलीमा आधा संख्या जति माङगेन्ना चेली हुनुहुन्थ्यो । सबै त्यहाँ आइ पुगिन्जेलमा रुद्र फोम्बो र हामीले माथी भ्युटावर र त्यहाँ स्थापना गरिएको मुक्कुमलुङ माङ लगायतको स्थानहरु घुमिसकेका थियौ । हामी सबै ठाउँका सबै क्षेत्रका व्यक्तिहरु डिबि आङबुङ, रुद्र फोम्बो, तिल बिक्रम हुक्पा चोङबाङ, सेसेहाङ हुक्पा चोङबाङ, बिजय निङलेकु, अरुण निङलेकु, दिलिप निङलेकु, सुर्य निङलेकु, श्रीप्रसाद निङलेकु, राजन आङबुङ, सन्तोष चेलिफुङ, सबिन आङबुङ, अतीत चेलिफुङ, रोमन चेलिफुङ, कुशल चेलिफुङ, सुशन लिम्बु, सेसेहाङ सिगक, दिपेश कुरुम्बाङ, उज्वल लिम्बू, मिराक सिंगक, श्रीसा लिम्बू, माया लिम्बू, आइन्द्रा आङदेम्बे, मनिता फोम्बो, सुकुम लिम्बू, देउमान पंयागु, सुकुम लिम्बु, सोलुङ लिम्बु, फुङसा लिम्बू, गायस लिम्बू, धर्ती लिम्बू, सेसेना लिम्बू, मिम्निसा लिम्बू, इतुङ लिम्बू, श्रेया लिम्बू गरि ३५ जना जम्मा भएर चिजिलिङ वारकको उत्तर पट्टीको डाँडामा चुम्लुङ बस्यौ । लिम्बुहरुको हरेक कार्य थालनी गर्नु भन्दा पहिले चुम्लुङ बसेर के गर्ने? कसरी गर्ने? के नगर्ने? भन्ने बिषयमा छलफल गर्ने परम्परा छ । सामुहिक र सामुदायिक निर्णय गर्नु परे चुम्लुङ बस्छन लिम्बूहरु । त्यही मुताविक हामीले चुम्लुङ बसेर चिजिलिङ वारकलाई मिक्की वारक मान्दै हामी अघि बड्ने निर्णय गर्‍यौं । मिक्की वारक जीवनको पोखरी हो । जुन पोखरीको पानी सुक्नु हुदैन । त्यसैले चिजिलिङ पोखरी सम्पूर्ण फेदापेहरुको जीवनको पोखरी हो । यसको संरक्षण गर्नु जरुरत रहेको निष्कर्ष सहित अघि बढ्यौ । बाटो देखाउने गाइडर चाहिँ तिलबिक्रम र मेरो जिम्मा भयो । हामी अघि बड्यौ । यतिखेर त्यहीँ १ बजिसकेको थियो । देउराली पुगेर खाजा खाने सल्लाह गरेका थियौ । चिजिलिङ वारकदेखि अलि माथि पेदक लुङ माङ छ । माङलाई धुप बत्ति बालेर धागोले तीन फन्को बेरेर पुजा गर्‍यौ । अस्ति बिजय जी र मैले त्यसको नाम सिरिजंगा लिपिमा लेखेको थियौ । लेखेको अक्षरमा इनामेल कलर गरेर त्यहाँबाट पनि अघि बढ्यौ । अलि माथी सानो देउराली आयो । त्यसमा पनि धागो बाधेर शक्ति मागी हिड्यौ । १ बजेर चालीस मिनेट जादा हामी देउराली निस्कियौ । देउराली एउटा पुरानो ऐतिहासिक बाटो र ठाउँ हो/ थियो । उहिले सडक नबनुन्जेल धेरै ठाउका मान्छेहरु देउराली हुँदै तेह्रथुमको सदरमुकाम मेयङलुङ जाने आउने बाटो थियो । तर आजभोलि पैदल हिड्ने यात्रीहरु गाडी मै हिड्ने हुदा यसको अस्तित्व सकिन्दै गएको हो । हेरौं हामी यस्ता ठाउहरुको जीवन्तताको लागि हिडेका छौ । त्यहा हामीले खाजा खाने निर्णय गर्‍यौ । रुद्र फोम्बो जीले ५ हजार रुपैयाँ बराबरको खाजा स्पोन्सर गरिदिनु भयो ।

खाजा खाइसकेपछि हामी उकालो लाग्यौ । उकालो लाग्नु भन्दा अघि हामीले त्यो ठाउँलाई पक्लुम देन मानेर अघि बढेका थियौ । पक्लुम लिम्बू युवायुवतीहरुले खेल्ने खेल हो । चोत्लुङसंग पनि यसको सम्बन्ध छ । फोटो खिच्नलाई गायस फोम्बो र अरुण निङलेकु हुनुहुन्थ्यो । अरुले आ-आफ्नो मोबाइलबाट आफ्नै पाराले फोटो खिचे । उकालो देउराली काटेपछि दोबाटो आयो । सजिलो बाटो पछ्याउने हुदा बाटो भुलिएछ । त्यहीँ बाटो खेदाउँदै जादा चैते निस्किएर उकालो चडियो । ओयाक्जुङको चैते र इसिबुको तालखर्कको संगम स्थल देउराली आइपुगियो । त्यहा पुन केही खानेकुरा खाने सल्लाह गरेपछि एक छिन बसियो । हुन पनि चोत्लुङ पुर्‍याउन वा जान आराम पनि चाहिन्छ । मुन्धुममा आराम गर्दै, सुसेल्दै, साथी पर्खिन्दै जाउ है भन्ने पनि आउँछ । त्यहाँको माङदेनमा पनि हामीले धागो बाधिराख्यौ । उक्त स्थानमा फलैचा र चौतारी थियो । बडो आनन्दको ठाउँ । त्यहा हामीले सुम्जिरी सुम्लाम्दो बनाएर अघि बढ्ने निर्णय गर्‍यौ । सुम्जिरी सुम्लादोको अर्थ हुन्छ । कुनै मानिसहरुलाई चोत्लुङ लादा फेदाङमाले त्यो बाटो हुदै लान्छ । त्यहा तीन वटा बाटो आउँछ । एउटा दाहिने पट्टीको बाटो फेजुकुम फेदाङमाको हुन्छ भने देब्रे पट्टीको बाटो मृतकहरुको हुन्छ र बिच बाटो तुत्तु तुम्याङहाङको हुन्छ । जसलाई चोत्लुङ पुर्‍याउन लगिएको व्यक्ति हुन्छ र मृतकको बाटो छोडिराखेर अघि बढिन्छ । हो त्यसैलाई सुम्जिरी सुम्लाम्दो भनिन्छ । त्यहाँबाट तुत्तु तुम्याङहाङको बाटो हुदै हामी अघि बढ्यौ । बाटामा कुनै ठाउँ अफ्ट्यारो, सजिलो मुन्धुममा वर्णित फेयारी चेन्जेङबा लाम जुन बाटो बाट वारिपारी दुबै पट्टीको गाउँ ठाउँ वा हिमाल देखिने बाटो त्यो बाटो अफ्ट्यारो हुन्छ बिस्तारै जाउ है भन्ने हुन्छ । त्यसरी अघि बढ्दा बाटामा सिङजागो फुङ, सेक्मुरी फुलहरु, सेमिक्ला, पक्मिक्ला बासहरु भेटिन्थे । हामी हिड्दा हिड्दै ४ बजे मात्र हाम्रो गन्तव्य स्थल पिप्पुधाप थेगु पुग्यौ । जसको उचाई समुन्द्री सतहबाट २४३४ मिटर अग्लो उचाई रहेको छ । फेदाप गाउपालिकाको नै सबैभन्दा अग्लो डाँडा हो भन्ने हाम्रो दाबी हो । त्यहाँ पुगेपछि सबै जना खुशीले गदगद बने । हुस्सु लागिरहेको थियो । खुल्ला मौसमको समयमा सबै क्षेत्र देखिने जस्तै मुक्कुमलुङ, फक्ताङलुङ, सेन्छेलुङ, सेवालुङ, मिक्लाजोङ, मेन्छ्यायेम आज देखिन्दैन । जसले गर्दा दृश्य अवलोकनमा समस्या बन्यो ।

हामी सबैले आ-आफ्नो जिम्मेवारीअनुसार काममा लाग्यौ । कसैले चोत्लुङ गाढ्न ढुङ्गा खोज्ने कसैले लिङगो काट्ने कसैले पुजा सामाग्री बनाउने कसैले स्थान सरसफाइ गर्ने कार्य गर्न थालियो । सबै काम सकिएपछि हामीले चोत्लुङ गाढेर त्यसमा धागो बाध्यौ । धागोसंग लिम्बू जातिमा प्रगाढ सम्बन्ध छ । लिम्बूहरुको इष्ट देवी युमाले धागोको आविस्कार गर्‍यो भन्ने दावी छ । मुन्धुममा युमाले तान बुनेको कथाहरु प्रसस्त आउँछ । त्यसपछि सामुहिक पुजा गर्न थाल्यौ । हाम्रो फेजिकुम फेदाङमाको काम तुम्याङहाङ मुन्धुम विद डिबी आङबुङ ज्युले गर्नुभयो । अया चोत्लुङ हेनादेखि तङसिङ खमा मुन्धुमसम्मको काम डिबि दाइबाट भयो । यो ऐतिहासिक खुशी रहन गयो सबैका लागि । हाम्रो माङगेन्ना चोत्लुङ उभियो र खोज्न हिडेको चोत्लुङ भेटियो । चोत्लुङ यात्रीहरुले मुक्तिको सास फेरे ! यति गरेपछि पाच बजे तिर जुन बाटो आएका थियौ मुन्धुम अनुसार त्यही बाटो भएर सबैजना घर फर्कियौ ।
अन्त्यमा यो चोत्लुङ खोज्ने चोत्लुङ यात्रा एक दमै ऐतिहासिक बन्यो । हामी तीन गाउँका याक्थुङहरु झण्डै झण्डै तीन पुस्ताका थियौ । उमेरको हिसाबले पहिलो पुस्ता पचास बर्षको हाराहारीका भने दोस्रो पुस्ता तीस बर्ष हाराहारी र अन्तिम पुस्ता पन्ध्र बर्ष हाराहारीकाको सहभागिता थियो । यसले मुन्धुम पुस्तान्तरणलाई अत्यन्तै दर्बिलो टेवा दियो । अहिले हाम्रो हरेक संस्कार संस्कृतिहरु पुस्तान्तरण हुन जरुरी छ । पुस्तान्तरण भयो भने मात्र हाम्रो लिम्बू समुदाय जीवित हुन्छ । होइन भने त मृत सरी जस्तो मात्र हाम्रो समुदाय बन्छ । त्यसैगरी नालिगेन थाङबेन सिसागेन मेन्छिम सबैको बराबरी प्रतिनिधित्व हुनु सबैभन्दा उत्तम बिषय बन्यो । लिम्बू समुदायमा महिला र पुरुषको अधिकार समान छ । अझ लिम्बूहरुको मुन्धुमले त महिलालाई बिशेष प्राथमिकता दिने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार