मेरो भाषाको सम्मान खोइ ?

मलाई सुँगुर र मुसाको मासु छोड्न, खस भाषा घोक्न सिकाउनेहरुका नाममा
मेरो भाषाको सम्मान खोइ ?

इन्दु थारु

सुँगुर र मुसा खान छोडेर देखाउन चाहन्थेँ– हेर सुँगुर र मुसा खाने थारु म होइन, तिमीहरुको उच्च संस्कृति अङ्गाल्ने भएको छु ।
आधुनिक देखिने नाममा मेरो लेहँगा, चोलिया, फरिया लोप हुँदै गयो, अचेल त पाउनै मुश्किल । आफ्नैप्रति वितृष्णाको भाव जगाउने त यो विभेदकारी समाज रहेछ, अहिले थाहा पाउँछु ।
अहिलेका तथाकथित शिक्षित र सभ्य भनिनेहरु जो खस नेपाली भाषा बोल्दा विदेशी लवज घुसाउँछन् तिनीहरुको तुलनामा त मेरो ‘टपाईँ’ अनि ‘टिमी’मा बढीभन्दा बढी मौलिकता पाउँछु ।

मैले सुँगुरको मासु खान सानै हुँदा छोडेको । छोड्नुको एउटा विशेष कारण थियो, साथीहरुले सुँगुरको मासु खान्छ भनेर जिस्क्याउँथे । मलाई साह्रै हिनताबोध भएर आउँथ्यो । सुँगुर खाएर गर्नै नहुने अपराध गरेजस्तो । मुसाको हकमा पनि त्यही भयो । सुँगुर र मुसा खान छोडेर देखाउन चाहन्थेँ– हेर सुँगुर र मुसा खाने थारु म होइन, तिमीहरुको उच्च संस्कृति अङ्गाल्ने भएको छु ।
मलाई राम्ररी याद आउँछ विद्यालय भर्ना भएको सुरुका दिनहरुमा कक्षाकोठाको सबैभन्दा पछाडि गएर बस्थेँ, केवल खस नेपाली भाषा बोल्न नजानेकै कारण । घरमा सधैं आमालाई ‘डाई’ भन्ने मेरो बालमस्तिष्कमा ‘आ– आमा’ थोपरियो । ‘नमहा’लाई ‘ख– खरायो’ भनेर पढाउँदा म झन दङ्ग परेको थिएँ । अरु धेरै कुराहरुले मलाई दङ्ग पारेको हुनपर्छ । अहिले याद छैन । अझैसम्म पनि थारु गाउँहरुमा कति बच्चाहरु दङ्ग परिरहेका होलान् । मेरो आफ्नै अत्यधिक थारु बाहुल्यता भएको गाउँमा अझै पनि डाईलाई आमा, नमहालाई खरायो, करछुललाई पन्यु भनि दङ्ग पार्दै बच्चाहरुलाई पढाइन्छ । पढ्दा दङ्ग नपर्ने कति बच्चाहरु स्कुल जान छोड्छन् या फेरि ‘अनिवार्य नेपाली’मा फेल हुन्छन् । कयौं बच्चाहरु कक्षा कोठाको सबैभन्दा पछाडि बस्न बाध्य हुन्छन्, खस भाषा नजानैकै कारण, मैँले जस्तै ।
सिक्नैपर्ने भो खस भाषा । नसिकी सुखै भएन, राष्ट्रिय भाषा न पर्यो । धेरै प्रयासपछि जब बोल्न थालेँ, सबै हाँस्न थाले । सबैले मजाक उडाउन थाले । मैले ‘तपाइँ’ शब्दलाई ‘तपाइँ’ अनि ‘तिमी’ शब्दलाई ‘तिमी’ नै भन्न खोजेको हो । तर मैले बोल्दा तपाईँ ‘टपाई’ हुने रहेछ अनि तिमी ‘टिमी’ हुने रहेछ । दाइ ‘डाई’ हुनेरहेछ, जुन डाई शब्द म सधैं मेरी आमालाई बोलाउन प्रयोग गर्छु । यहाँ आफूभन्दा ठूलो केटा मान्छे दादालाई दाइ भनिने रहेछ । सकी नसकी सिकेको खस भाषा सिकेर पनि मजाकको विषयवस्तु भएझैं लाग्यो । फेरि खस भाषा नजानेकोमा अर्को हिनताबोध । फेरि थप अर्को गर्नै नहुने अपराध गरेजस्तो ।
आफ्नो परम्परागत पोसाकदेखि वितृष्णा जाग्न थाल्यो बिस्तारै मलाई । गवार अनि अनपढ भएको महसुस हुन थाल्यो, आफ्नो पोशाक लगाउँदा । कता कता लाज पनि लाग्न थाल्यो । अर्को समुदायको पोसाक लगाउँदा नै गर्व हुन थाल्यो । मानौँ अर्काको पोसाक लगाएमा मात्रै म आधुनिक देखिन्छु, सभ्य देखिन्छु, शिक्षित देखिन्छु या फेरि नेपाली देखिन्छु ।
यही आधुनिक देखिने नाममा मेरो लेहँगा, चोलिया, फरिया लोप हुँदै गयो, अचेल त पाउनै मुश्किल । खासमा भन्ने हो भने ममा आफ्नैप्रति अनि आफू हुनुमा वितृष्णाको भाव जगाउने त यो विभेदकारी समाज रहेछ, अहिले थाहा पाउँछु । मैले मेरो पहिरन लगाउँदा कहिल्यै नेपाली देखेन यो समाजले । मेरो पहिरन जो मेरो पहिचान हो, यो मेरो पहिचानलाई कहिल्यै नेपाली पहिचानसँग जोडिएन । बरु मेरो पहिचानलाई नेपाली हुनुको पहिचानबाट सधैं तल्लो स्तरमा राखियो । त्यसकै प्रतिकुल प्रभाव पर्दै जाँदा आफूलाई आफ्नो पहिचानबाट टाढा राखी अरुको संस्कृति अङ्गाल्दै गए । यति मात्रै कहाँ हो र, मेरो पहिरन सँगसँगै मेरो ढिक्री, मेरो घोंघी पनि हेपाइमा पर्यो । दिनप्रति दिन ओझेलमा पर्दै गयो । अनि मेरो ढिक्री र घोंघीको ठाँउमा सेलरोटीको महत्व बढ्दै गयो । चाहे कसैलाई तेलमा बनाएको परिकार मन नपरोस् तर आफूलाई माथिल्लो स्तरको नेपाली देखाउन भए पनि सेलरोटी बनाउनै पर्ने बाध्यता ।
यही त गर्यो यो समाजले मेरो पहिरन, मेरो भेषभुषा, मेरो भाषा, मेरो खानपिन सबै सबै यो समाजमा तल्लो स्तरको बनाइयो । मेरो मौलिक संस्कृति यो समाजमा असभ्य, अशिक्षित, गवार, पाखे अरु कुन्नी के के भन्छन्, सबै बन्यो तर नेपाली संस्कृति बन्न सकेन । मेरो संस्कृतिलाई नेपाली संस्कृति बन्नै दिइएन । सबै संस्कृतिका आफ्नै छुट्टै पहिचान हुन्छन् अनि सबै संस्कृतिका आआफ्नै छुट्टै विशेषता हुन्छन् । मेरो संस्कृति पनि आफ्नै छुट्टै विशेषता बोकेको संस्कृति, जो विश्वमै एउटा अनुपम संस्कृतिको रुपमा रहेको छ, कहिल्यै सम्मान दिइएन ।
आज महसुस हुन्छ, मैले नै आफ्नो संस्कृतिलाई सम्मान दिन जानिन् भने अर्कोबाट के आशा गर्नु ? साँच्चै भन्ने हो भने आजसम्म संस्कृतिलाई गरिने सम्मान वा अपमानबाट म अनभिज्ञ थिएँ । अहिले थोरै भए पनि बुझ्दैछु आफ्नो पहिचान, आफ्नो मौलिकता अनि संस्कृतिको बारेमा । ठूला ठूला गाजलु ती आँखामा मात्र सुन्दरता देख्ने यो समाजमा मेरा साना आँखाले मेरो पहिचानको सुन्दरता खोज्दैछु ।
साँच्चै एउटा जाति विशेषको धर्म, भाषा, संस्कृति, साहित्य, गीतसङ्गीतको अधिपत्य स्थापित यो समाजमा मैले मेरो पहिचान खोज्न कम चुनौतीपूर्ण छैन् । ठूला आँखामा मात्रै सुन्दरता देख्छ यो समाजले । कतिसम्मको जातीयता भने सुन्दरताको परिभाषा पनि एउटा जाति विशेष हुने अरे । अनि मैले हाँस्दा देखिने मेरा ठूला दाँत देखिँदाचाहिँ सुन्दरता कम हुन्छ र ? हाँस्दा, बोल्दा देखिने मेरा ठूला दाँत पनि मेरो पहिचान हो, मेरो समुदायमा अधिकांशका दाँत ठूला हुन्छन् अनि आँखा साना हुन्छन् । आज यही साना आँखा, ठूला दाँत भएको शरीरमा मेरो लेहँगा, चोलिया, फरिया लगाउँदा संसारकै सुन्दर मानव भएको अनुभूति हुन थालेको छ । किनभने मेरो अनुहारमा भएको मेरा साना आँखा अनि ठूला दाँतले मेरो मौलिक परिचय दिइरहेको हुन्छ । मेरो छुट्टै पहिचान कसैले स्विकारोस् चाहे नस्विकारोस्, मेरो अनुहारले नै बोलिरहेको हुन्छ, चाहे म मौनतामा नै किन नबसूँ ।
अब त म मेरो बोलीमा पनि छुट्टै मौलिक पहिचान पाउँछु । जब म तपाईँ भनिरहेको हुन्छु तर एकाएक ‘टपाईँ’ भइदिन्छ, हो त्यसमै मेरो पहिचान झल्किन्छ । मेरो समुदायको अर्को व्यक्तिले यसरी नै बोलेको सुन्दा छुट्टै खालको मिठास पनि पाइरहेको हुन्छु । जसरी कलकल बग्ने खोला अनि चरीको चिरबिर आवाजमा आफ्नै मौलिकता छ । युगौं बिते पनि त्यो खोलाको कलकल र चरीको चिरबिराहटमा कुनै किसिमको बनावटीपन आउँदैन । तर अहिलेका तथाकथित शिक्षित र सभ्य भनिनेहरु जो खस नेपाली भाषा बोल्दा विदेशी लवज घुसाउँछन् तिनीहरुको तुलनामा त मेरो ‘टपाईँ’ अनि ‘टिमी’मा बढीभन्दा बढी मौलिकता पाउँछु ।
साँच्चै भन्ने हो भने त वास्तविक मौलिकता मैले नै जोगाएको छु । आफूमा मात्र होइन, एउटा मधेसी मूलको मान्छेले आइरहेछु, खाइरहेछु भनी बोल्दा, उसको बोलीको मिठास अनि उसको मौलिकतादेखि म दङ्ग पर्छु । मलाई बाँसुरीको धुन, खोलाको कलकल, मादलको ताल, चरीको चिरबिराहट अनि विभिन्न जातजातिका उनीहरुका आफ्नै मौलिक लवजले मन्त्रमुग्ध पार्छन् । कसैले मजाक उडाए नै भने पनि आफ्नो छुट्टै पहिचानप्रति गौरव महसुस हुन थालेको छ ।

मेरो फरक पहिचान, मेरो फरक अस्तित्व, मेरो फरक संस्कृतिमाथि सदैव प्रहार अनि विभेद भइनै रह्यो कुनै न कुनै रुपमा । समयको विभिन्न कालखण्डमा विभिन्न किसिमका परिवर्तहरु भए तर यो समाजमा विभेद् भने कायमै रह्यो । कुन्नी किन हो, जहाँतहीँ विभेदमात्रै देख्छु मैले– जातीय विभेद, वर्गीय विभेद, धार्मिक विभेद, लैङ्गिक विभेद, क्षेत्रीय विभेद, कति हो कति विभेद । विभेद पनि थरीथरीका । प्रत्येक समाजमा । समाजको प्रत्येक तह र तप्कामा । फूलको आँखामा फूलै संसार भन्छन्, मैले त फूल देख्नै सकिन केवल विभेद मात्रै देख्छु । मेरा आँखा फूल बन्न नसकेका पो हुन् कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार