लिपि परिचय
लिपि भनेको समाजमा बोलिएको भाषालाई चित्रात्मक (Symbolic) हिसावले प्रस्तुत गरि दृष्यबाट सो भाषालाई बुझ्ने कलात्मक माध्यम हो । यसको अर्थ सबै जसो लिपिहरु भाषालाई प्रतिनिधीत्व गर्दै भाषाको आधारमा विकास गरिएका छन् । यस्ता लिपिहरु संसारमा अनगिन्ती रहेका छन् । ति लिपिहरुले निश्चित भाषालाई प्रतिनिधीत्व गर्दछन् ।
विश्वमा हरेक भाषाको आफ्नै विशेषताहरु र चरित्रहरु छन् । उदाहरण्को लागि तामाङ भाषामा आकार लागेर शब्दहरु बन्ने गरेका छन् । उक्त भाषामा मर्यो नभनेर मार्यो भनेर उच्चरण हुन्छ । यसको अर्थ त्यहा अकार ध्वनी पाउन गाह्रो छ भन्ने देखिन्छ । यसैले, तामाङ भाषालाई प्रतिविधीत्व गर्न या समात्न लिपिको विकास पनि त्यसरी नै हुन्छ । देवनागरी लिपिको क, ख, ग जस्ता अकार ध्वनी भएका लिपि संकेतहरुले उक्त भाषालाई समात्न सक्दैन । संसारकै लिपिहरु त्यसरी नै भाषाको विशेषता र चरित्रको आधारमा विकास भएका छन् ।
विश्वमा लिपिको शुरुवात चित्रात्मक लिपि(Pictographic wrtiting) बाट शुरु भयो । चित्रात्मक लिपिको समय लगभग ६ हजार बर्ष पुरानो मान्ने गरिएको छ । त्यसपछि संकेतात्मक लिपि (Ideographic writing) को विकास भयो । त्यसपछि ध्वनीआत्मक लिपि (Phonetic writing)को विकास भयो र त्यसपछि बर्णात्मक लिपि (Symbolic or Alphabetic writing) को विकास भयो । यिनै विभिन्न प्रकारका लिपिहरुलाई भ्रुण लिपि, किलाक्षर लिपि, माहिरोग्याफिक्स, हिरेटेकि, डेमोटिक, कप्टीक, अरवी हुदै सिनायटिक लिपिहरुमा विभाजन गरियो । युरोपमा विभिन्न लिपिहरुको विकास भए भने एशियाको अन्य भाग, अफ्रिका लगायत विश्वका विभिन्न भागमा विभिन्न खाले लिपिहरुको विकास भयो । भारतिय उपहाद्धिपमा भने खरोष्टी, ब्राह्मी, गुप्त, कुटिल, शारदा, टाकरी, बंगला, पश्चिमी, मध्य प्रदेशी, तेलुगु–कन्नाडा, ग्रन्थ, कलिंग, तामिल, कैथि, मैथिल, उडिया, गुजराती, मौडी, मलयालम, तुलु, गुरमुखी, सिन्धी, उर्दु आदी लिपिहरु विकास भए । भारतिय उपमहाद्धिपका सबै लिपिहरु खरोष्टी र ब्राह्मी लिपिको प्रभाव र तिनको आधारमा विकास भएको मानिन्छ । कतिपयले ब्राह्मी लिपिको विकास ईसा पुर्व ७÷८ शताब्दीमा विकास भयो होला भनेर अनुमान गरेका छन् ।
भारतिय उपमहाद्धिपमा लिपि विकासको क्रम
भारतिय उपमहाद्धिपमा लिपि विकासको क्रमलाई हेर्दा खरोष्टी लिपि कहिले विकास भयो भन्ने थाहा नभए पनि यो लिपि ईसा पुर्व तेस्रो शताव्दीमा लोप भयो र त्यसको स्थान ब्राह्मी लिपिले लियो । ब्राह्मी लिपिको निर्माणको समय पनि थाहा छैन तर धेरै विद्धानहरुले यो लिपि फोनेसियन लिपिबाट विकास भयो भन्ने विश्वास गर्दछन् । कतिपय विद्धानहरुले ब्राह्मी लिपिको विकास ईसा पुर्व ७–८ शताव्दीमा भयो होला भनेर अनुमान गरेका छन् । त्यसपछि गुप्त लिपि उत्तरी भारतमा ईस्वीको ४–५ शताव्दीमा अस्तित्वमा आयो र प्रचलित भयो । वास्तवमा यो लिपि बुद्धगयाको गुफा र सांचीको अभिलेखमा प्रयोग भएको लिपिलाई ईतिहासकार तथा विद्धानहरुले गुप्तकालको लिपि भनि गुप्त लिपि नाम दिएका हुन । ब्राह्मी लिपिबाट नै थोरै फरक बिशेषताको आधारमा प्रयोग भएको लिपिलाई गुप्त लिपि भनिएको हो । त्यसपछि विभिन्न भाषालाई अनुकुल हुने विभिन्न लिपिहरु बन्न थाले र आ–आफ्नो डोमेनमा प्रचलित हुन थालेको देखिन्छ । त्यसपछि,
–ब्राह्मी लिपिबाट उत्तर भारतमा ईस्वीको ६–९ शताव्दीमा कुटिल लिपिको बिकास भयो र प्रचलनमा आयो भने पश्चिमी लिपि ईस्वीको ५–९ शताव्दीमा विकास भयो । यसैगरि मध्य प्रदेशी लिपि पनि ५–९ शताव्दीमा विकास भयो ।
–ब्राह्मी लिपिबाट ९ औ शताव्दीमा देवनागरी लिपिको बिकास भयो र प्रचलनमा आयो ।
–ईस्वीको ९–१० शताव्दीमा मोरवी (काठियावाड) लिपिको विकास भयो ।
–ब्राह्मी र कुटिल लिपिबाट ईस्वीको १० शताव्दीमा शारदा लिपिको विकास भई प्रचलनमा आयो । यसै शारदा लिपिबाट टाकरी लिपिको विकास भयो ।
–देवनागरी लिपिबाट ईस्वीको ११ औ शताव्दीमा बंगला लिपिको विकास भयो ।
–ब्राह्मीबाट ५औ शताव्दीमा तेलुगु लिपि विकास भयो ।
–ब्राह्मीबाट ७ औ शताव्दीमा ग्रन्थ लिपि विकास भयो । यसैगरि, ७–१० शताव्दीमा कलिंग लिपिको विकास भयो भने यहि ग्रन्थ र ब्राह्मी लिपिबाट तामिल लिपिको विकास भयो । यहि ग्रन्थ लिपिबाट मलायलम र तुलु लिपिको विकास भयो ।
–ब्राह्मी लिपिबाट १२–१३ शताव्दीमा कैथी लिपिको विकास भयो ।
–बंगला लिपिबाट ११ औ शताव्दी पछि मैथिल लिपिको विकास भयो । यहि बंगला लिपिबाट उडिया लिपिको विकास भयो ।
–ब्राह्मीबाट गुजराती लिपि विकास भएको मानिएको छ । यसैगरि, नागरिक लिपिबाट मौडी लिपिको विकास भयो ।
–शारदा लिपिबाट १६ औ शताव्दीमा गुरमुखी लिपि विकास भएको मानिन्छ । अरवी लिपिबाट प्रभावित भएर १० औ शताव्दीमा सिन्धी लिपि र १२–१३ औ शताव्दीमा उर्दु लिपि विकास भयो ।
भारतिय उपमहाद्धिपमा लिपिहरुको विकास क्रमलाई हेर्दा ईसापुर्व ७–८ शताव्दीदेखि एकको सिको अर्कोले गर्दै ईस्वीको १६ औ शताव्दीसम्म लिपिहरुको विकास भएको देखिन्छ । यसले के देखाउछ भने लिपिको आविष्कार स्वतन्त्ररुपमा भएको देखाउदैन । हरेक लिपि अर्को लिपिलाई हेरेर आफ्नो भाषा अनुकुल विकास गरेको देखिन्छ ।
तिव्वत, बर्मा, थाईल्याण्ड र कम्बोडियामा लिपि विकास क्रम
भारतिय उपमहाद्धिपका लिपिदेखी बाहेक तिव्वति लिपि ७ औ शताव्दीमा विकास भयो । यो लिपिमा पनि ब्राह्मी लिपि र गुप्त लिपिकै प्रभाव देखिन्छ । यसैगरि बर्माको लिपि ८ औ शताव्दीमा विकास भयो जस्मा तेलुगु कन्नाडी लिपिको प्रभाव देखिन्छ । बर्माको मेकङ क्षेत्रमा प्रयोग हुने मोसो लिपि १३ औ शताव्दीमा विकास भएको मानिन्छ । थाईलैण्डको थाई लिपि चिनीया प्रभाव स्वरुप ७ औँ शताव्दीमा विकास भयो भने त्यसमा तेलुगु कन्नाडीको प्रभाव पनि देखिन्छ । बर्तमान थाई लिपि भने १० औँ शताव्दीमा विकास भएको थियो । कम्बोज लिपिको जन्म १२ औँ शताव्दीमा भएको मानिन्छ । जावाको लिपि पनि पछिल्लो काल १५ औँ शताव्दीमा विकास भएको भन्ने मत रहेको छ ।
लिम्बु समुदायमा लिपि सम्बन्धमा असमझदारी
यतिखेर लिम्बु समुदायमा लिम्बु भाषालाई प्रतिनिधीत्व गर्ने लिपिलाई के नाम भन्ने सम्बन्धमा असमझदारी देखिएका छन् । कसैले यो सिरिजङ्गा पहिलोले विकास गरेको र सिरिजंगा दोस्रोले प्रचलनमा ल्याएकोले यस लिपिको नाम सिरिजङ्गा लिपि भनिनु पर्ने त केहीले याक्थुङ लिपि त केहीले किरात लिपि, किरात सिरिजङ्गा लिपि भनिनु पर्ने राय व्यक्त गरेका छन् ।
यो लिपि अठारौँ शताव्दीमा सिरीजङ्ग सिं थेबेले ओडारमा पाएर प्रचार प्रसार गरि प्रचलनमा ल्याए पनि यसको निर्माण तथा विकासबारे मतभेदहरु रहेका छन् । यो लिपि करिव नवौ – दशौ शताव्दीतिर सिरिजङ्गा पहिलो भन्ने राजाले निर्माण गरेका हुन भन्ने एकथरीहरुको मत रहेको छ । कसै कसैले यो सिरीजंग अरु कोही नभएर साताँै शताव्दीका तिव्वतका राजा श्रङचङ गेम्पो हुन । उनैले विकास गरेको लिपिलाई अठाराँै शताव्दीमा सिरीजंग सिं थेबेले लिम्बु भाषाको अनुकुल हुने गरि परिवर्तन र परिमार्जन गरेर प्रचार प्रसार गरेका हुन भन्ने मत रहेको छ ।
भारतिय उपमहाद्धिप र तिव्वत तथा बर्मा कम्बोडियासम्मको लिपि विकासको क्रमलाई हेर्दा सिरिजङ्गा या किरात सिरिजङ्गा लिपि पनि स्वतन्त्ररुपले विकास भएको लिपि हैन भन्ने स्पष्ट देखिन्छ । सिरीजंग सिंह थेबेले प्रचार प्रसार गरेको २० वटा बर्णमा आकार ध्वनी सिम्बल देखिए पनि हालको लिपिमा आकार ध्वनीलाई प्रतिनिधीत्व गर्ने ध्वनी चिन्ह या सिम्बल छैन । सिरीजंग सिं थेबे पनि त्यहि अकार ध्वनी भएको सिम्बललाई आकार लगाएर आकार ध्वनी पढ्दा का, खा, …. भन्ने मात्र रहेको देखिन्छ । एउटै सिम्बलले आकार ध्वनी प्रतिनिधीत्व गरेको देखिन्न । पछिल्लो सिरिजङ्गा लिपिमा देवनागरी लिपि तथा ब्राह्मी लिपिकै अकार ध्वनी क, ख, ग, …. आदीलाई प्रतिनिधीत्व गर्ने ध्वनी चिन्ह रहेका छन् । तिव्वत–बर्मी भाषा परिवारमा अकार ध्वनी कम पाईए जस्तै लिम्बु भाषामा पनि अकार ध्वनी पाउन गाहे छ । भाषाविदहरुका अनुसार लिम्बु भाषामा प्राय आकार ध्वनी नै पाईन्छ । यि सहित अन्य धेरै कुराले यो लिपि अन्य लिपिमा आधारित लिपि हो भन्ने स्पष्ट हुन्छ । रह्यो कहिले विकास भयो होला भन्ने प्रश्न ।
यो लिपि १०÷११ औ शताव्दी पछि नै विकास भयो होला भन्ने कुरा २ वटा आधारमा भन्न सकिन्छ । पहिलो हो, यो अठारौ शताव्दी भन्दा अघि कहि प्रचलन र अस्तित्वमा देखिन्न । लिम्बुवानको ईतिहासमा आठ राय र दश लिम्बुको ईतिहास आउछ । ति आठ राय र दश लिम्बु (थिबोङ याक्थुङ) हरुले उनीहरुको राज्यमा कुनै लिपि र लिखत प्रयोग गरेको ईतिहास आउदैन । बरु बिजयपुर राज्यले मैथिल भाषा प्रयोग गरेको लिखतहरुले देखाउछ । त्यसमा लिपि देवनागरी नै प्रयोग भएको पाईन्छ । दोस्रो हो, मुन्धुममा पनि लिपि भएको र प्रयोग गरेको कुरा आउदैन । यदी नवौ देखी १३÷१४ औ शताव्दीमा यो लिपि अस्तित्वमा भएको भए त्यस बेला विकास भएका मुन्धुममा कहि न कहि आउनु पर्दथियो । कतिपयले यो लिपिलाई नवौ शताव्दीमा पहिलो सिरिजङ्गाले विकास गरेको लिपि भन्ने गर्दछन् । यो भनाईलाई पुष्टी गर्न माथी भनिएको २ वटा आधारमा पुष्टी गर्नु पर्ने हुन्छ भने सिरिजङ्गा भन्ने व्यक्ति या राजा थिए भनेर भन्ने आधार पनि स्पष्ट गर्नु पर्ने हुन्छ । कतिपयले मुन्धुममा ताङगेरा निङवाफुमाङले हरिणको छालाामा मन्त्र लेखेर दिएको बर्णन आउछ भन्ने कुरा गर्दछन् । त्यसैले लिपि थियो भन्ने कुरामा जोड दिन्छन् । यसले सृष्टिकालमै लिपि थियो भन्ने देखाउछ जुन सम्भव होईन । चिनको चित्रात्मक लिपि नै ईसापुर्व ६००० बर्षतिरको हो भने पछि त्यो भन्दा अघि मानिससंग लिपि हुनै कुरै भएन हुदैन । कथा त कसैले कहि कहि जोड्न सक्छन तर बैज्ञानिक हिसावले ति कुरा सावित हुदैनन । रह्यो कुरा के नाम दिने या यो लिपिलाई सिरिजङ्गा लिपि या किरात सिरिजङ्गा लिपि के भन्ने प्रश्न ।
सिरिजङ्गा या लिम्बु या किरात या किरात सिरिजङ्गा लिपि
३२–३४ पुस्तासम्मका किरात राजाहरुको पुस्ता हिसाव र सम्बत १०७ (ईस्वी १८५) को जय बर्माको अभिलेखको आधारमा नेपालमा किरातकाल ईसापुर्व ९–१० शताव्दीदेखि ईस्वीको १ शताव्दीसम्म हो भन्ने अनुमान गर्न सकिन्छ । बौध ग्रन्थ ललित बिस्तरमा किरातहरुको लिपि भएको कुरा उल्लेख भएको पाईन्छ । लिपि विकासको ईतिहासले उक्त किरातकाल (ईसापुर्व ९–१० शताव्दीदेखी ईस्वीको १ शताव्दीसम्म) मा भारतिय उपमहाद्धिपमा ब्राह्मी लिपि बाहेक अन्य लिपि थिएन । किरातकालमा किरातीहरुले लिपि प्रयोग गरेको अभिलेख पाईएको छैन । किरातकाल लगत्तै पछि लिच्छवीहरुले लिच्छवी लिपि प्रयोगमा ल्याएका थिए । नेपालमा यो लिपिको प्रयोग ईस्वीको १–२ शताव्दीबाट नै भएको थियो भन्ने कुरा जयबर्माको सम्बत १०७ (ईस्वी १८५) को हाडीगाउमा सोही लिपिमा पाईएको ढुंगे अभिलेखबाट थाहा लाग्छ । शायद यहि लिपिलाई बौध ग्रन्थ ललितबिस्तरमा किरात लिपि भनेको हुन सक्छ । ईतिहासकार तथा लिपि विज्ञहरुको बिचारमा गुप्त लिपि नै लिच्छवी लिपि हो भन्ने रहेको छ । सम्राट अशोकले लुम्बीनी तथा कर्नाटक लगायत धेरै ठाउमा राखेका शिला स्तम्भहरुमा लेखिएको अभिलेखहरु ब्राह्मी लिपिमा रहेको छ । सम्राट अशोकको समय ईसापुर्व २६८ देखी २३२ (तेस्रो शताव्दी) हो । सोही लिपि केहि परिष्करण सहित नेपालका लिच्छवीहरुले प्रयोग गरेका हुन भन्ने देखिन्छ । आधारभुतरुपमा ति लिपिहरु ब्राह्मी लिपि नै भए पनि थप बिशेषताको आधारमा गुप्त, लिच्छवी तथा अन्य विभिन्न नामका लिपि भनि नामाकरण भएको देखिन्छ ।
लिपि विकासको टे«ण्ड ९त्चभलम० र लिपिको नामाकरण सम्बन्धित भाषालाई अनुकुल हुने गरि थप बिशेषता सहित परिमार्जन गरेको आधारमा नामाकरण गरेको देखिन्छ । यसरी हेर्दा, सिरिजङ्गा लिपि या किरात सिरिजङ्गा या किरात लिपि भनि बहस तथा विवाद गर्नुको धेरै अर्थ छैन । १८ औ शताव्दीमै भए पनि सिरिजङ्ग सिं थेबेले तिव्वतियन र ब्राह्मी तथा गुप्त लिपिको आधारमा लिम्बु भाषालाई अनुकुल हुने गरि केही परिवर्तन सहित एक लिपि अस्तित्वमा ल्याएको र प्रचार प्रसार गरेको देखिएकोले उनैको नामबाट सिरिजङ्गा लिपि भन्नु उपयुक्त नै हुन्छ । यस लिपिको प्रयोग अन्य सबैले गर्ने र बिस्तार हुने अर्थमा किरात सिरिजङ्गा लिपि भने पनि खास फरक पर्छ भन्ने देखिन्न । थप भएका लिपि या बर्ण लिम्बूको लागि अर्थ रहन्न । जस्तै लिम्बू भाषा प्रयोगमा ट, ट, ड, ढ र ण हुँदैन जुन सिरिजङ्गा लिपिमा छैन पनि । तर अन्यलाई आवश्यक पर्ने बर्णहरु थप गरेर प्रयोग गर्न सक्छन् । लिम्बुले पुरानै बर्णमाला चलाउछ, त्यसैमा विकास गर्छ र सिरिजङ्गा लिपि नै भन्छ । वर्णहरु थप गरि प्रयोग गर्नेहरुले किरात सिरिजङ्गा लिपि भन्न सक्छन् । हामीले धेरै सकुचित दायराबाट सोच्नु पनि हुन्न । सिरिजङ्गाले विकास गरेको लिपिलाई आधार मानेर अन्य आवश्यक र्व थप गरि बनाएको लिपिलाई किरात लिपि मात्र भन्न भने अलिक मिल्दैन । कहि न कहि सिरिजङ्गा त राख्नै पर्ने हुन्छ । लिपि भन्ने कुरा कसैको पेवा पनि हुन्न । लिपि नहुनेहरुले जसरी देवनागरी लिपि प्रयोग गरेका छन् त्यसरी नै सिरिजङ्गा लिपि पनि लिपि नहुनेहरुले स्विकार्य हुने उपयुक्त नाम राखी प्रयोग गर्दै व्यापक बनाउनेतिर नै सोच्नु राम्रो हुन्छ । चिनीया, जापानिज र कोरियनहरुले चलाएको लिपि आधारभुतरुपमा फाउण्डेसन एउटै हो तर चिनले चिनीया लिपि (हान्जी), जापानले जापानिज (कान्जी) र कोरियनहरुले कोरियन (हान्जा) लिपिकै रुपमा बर्णन गर्दछन् । यो पनि हाम्रो सन्दर्भमा सम्भव कुरा नै हो ।
असोज २०७८
तान्छोप्पा कार्तिक बाट


769 पटक हेरिएको 












