गजल

मुसुक्क हाँस्दै बजार झर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो !
कतै अचानक ओझेल पर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो !

समीप आयौ घसेर लाली अधर दबाई हिया पगाल्न
लजाई आफैं भुतुक्क मर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।।

नशालु देख्छु नयन असाध्यै छ मन्द मुस्कान् कटक्क पार्ने
लुकेर आभा सुवास छर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।।

हिजो अपर्झट खबर पठायौ म! भेट्न आएँ सबेर दौडी
न ओठ खोल्छौ न दूर सर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।।

सजा दिलाऊ बरु मलाई म जान्न टाढा तिमी रुवाई
हिया जलाई प्रेमाश्रु भर्छ्यौ अचेल भिन्नै छ चाल तिम्रो।।

✍️ २०८१ – ३ – २०
बहर – जमील मुसम्मन सालीम
अर्कान – १२१२२ १२१२२ १२१२२ १२१२२

-मोरङ पथरी शनिश्चरे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार