स्व. सुबास नेम्बाङ, राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द र सुबास नेम्बाङ्को मृत्यु बारे भविष्यवाणीको सन्दर्भ ।

डकेन्द्र सिङ थेगिम
आज भदौ २८ गते उनको अन्त्येष्टिका दिन त लेखिहाल्नु नपर्ने थियो कि चित्त नबुझेर लेख्न शुरु गरें। किरात धर्मका संरक्षक सदस्य , पुर्ब सभामुख , संबिधानसभा अध्यक्ष स्वर्गीय सुबासचन्द्र नेम्बाङको आज पशुपति आर्यघाटमा भएको दाहसंस्कारमा जाने इच्छा हुँदाहुँदै पनि जान जुरेन। यो दुर्भाग्य रह्यो। बि सं २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा महागुरु फाल्गुनन्द लिङ्देनलाई नेपाल सरकारबाट राष्ट्रिय बिभूति घोषणा गराउनको लागि सबै डकुमेन्ट तयार गरेर म उहाँलाई भेट्न काठमाडौ गएँ। सबै डकुमेन्ट देखाएँ। गहिरो अध्ययन गर्नुभो र भन्नुभो ” डकेन्द्रजी ! निकै मेहनत गरेर कागजात तयार गर्नुभएको रहेछ। म प्रधानमन्त्रीसँग कुरा गरेर भेट्ने समय मिलाउँछु। यसो २/४ जना अरु साथीभाइ पनि तयार गर्नुस् । पीएमसँग कुरा राखौं । काम हुन्छ भन्नुभयो । बि सं. २०६६ साउन महिना थियो । यसै कामको पर्खाइमा म २/४ दिन काठमाडौमा बसें। नभन्दै साउन ८ गते ४.०० बजेतिर सभामुखले मलाई फोन गर्नुभो र भोलिपल्ट ११.०० बजे सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट्ने समय मिलेको जानकारी दिनुभो। त्यसैले भोलिपल्ट २०६६ साउन ९ गते सभामुख लगायत अरु २/४ जना किरात धर्मका पदाधिकारी लिएर सिंहदरबार छिर्‍यौं। प्रधानमन्त्रीको देब्रे दाहिनेपट्टि मिलेर बस्यौं र सबैभन्दा पहिले प्रतिनिधि मण्डलमा रहेका सबैको परिचय भयो । त्यसपछि सभमुखले मतिर फर्केर भन्नुभो, “ल डकेन्द्रजी तपाईंको कुरो के के हो प्रधानमन्त्रीज्यूलाई राख्नोस् । ” मैले प्रधानमन्त्री सामुन्ने सबै डकुमेन्ट राखेको फायल अगाडि बढाएर २ हात जोड्दै महागुरु फाल्गुनन्दलाई राष्ट्रिय बिभूति बनाउनुपर्ने औचित्य बारे दर्शाएँ। मैले आफ्नो कुरो राखि सकेपछि सभामुख आफैंले कुरो यसरी बढाउनु भो ” डकेन्द्रजीले राख्नुभएको कुरो एकदम ठिक छ। कुरा तिनै हुन् । यो काम अहिलेको सरकारले गर्नुपर्छ। महागुरु फाल्गुनन्दको योगदानलाई हेर्दा राष्ट्रिय बिभूति घोषणा गर्दा कहिं कतैबाट बिबाद हुँदैन । प्रधानमन्त्रीज्यूले यति काम गर्नुभो भने बिना परिश्रम सदाको लागि इतिहासमा नाम लेखिन्छ। ” प्रधानमन्त्री नेपालको जवाफ पनि सहज र आशाजनक थियो। यति भैसकेपछि हामी आशा र भरोसा सहित बाहिर निस्कियौं। छुट्टिने बेलामा सभामुखज्यूले बीचमा सम्पर्कमा रहौं। म प्रधानमन्त्रीलाई सम्झाउँदै गर्छु भन्नुभो। दुई महिना तीन महिना बितिसक्दा पनि केही सूचना नभएपछि एउटा जुक्ति खियाएँ।

२०६६ साल मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्द लिङ्देनज्यूको ५६ औं शुभजन्मोत्सबमा प्रधानमन्त्री माधबकुमार नेपाललाई प्रमुख अतिथि बोलाएर महागुरुलाई बिभूति घोषणा गराउन बाध्य बनाउनुपर्छ भन्ने सोच एक्कासि आयो। यहि कुरो लिएर पुजनीय किरात धर्मगुरुज्यूलाई यसपटकको गुरु शुभ जन्मोत्सवमा पिएमलाई प्रमुख अतिथि बोलाउदा एउटा कोसेली लिएर प्रधानमन्त्री आउनुपर्छ। महागुरुलाई राज्यबाट राष्ट्रिय बिभूति घोषणा गराउन मौका यहि हुनसक्छ भन्ने प्रस्ताव मैले गुरु चरणकमलमा बिन्ती राखिसकेपछि गुरुज्यूबाट सहमति भयो र प्रधानमन्त्री नेपाललाई प्रमुख अतिथि, सभामुख सुबासचन्द्र नेम्बाङलाई बिशिस्ट अतिथिको पत्र लिएर गएँ। निम्तो ओके भयो र म फर्किएँ। पछि गएर मैले जे अनुमान गरें त्यहि भयो। साउन १६ गते म काठमाडौ नै थिएँ। नेपाल यातायात बसमा पुतलीसडकबाट चढेर बागबजार आइपुगेको थिएँ। एकैचोटि मलेसियाबाट मलाई फोन आयो। महागुरुलाई राष्ट्रिय बिभूति घोषणा भएको हो अध्यक्षज्यू ? अहँ मलाई थाहा छैन भनें। होइन कान्तिपुर टेलिभिजनमा दिइसक्यो त, भनेपछि म त खुशीले झन्डै पागल नै भएँ। सम्हालिएँ। त्यो दिनको जस्तो मलाई खुशी फेरि मेरो जीवनमा आएको छैन। म मात्रै होइन किरात धर्मगुरुआमाज्यू लगायत गुरु परिवार र महागुरुका विश्वभरीका सबै अनुयायीहरु खुशीभैयो। म सोझो मान्छेले त्यहि दिन मात्रै एउटा नयाँ कुरा थाहा पाएँ कान्तिपुर टेलिभिजन बाहिरी देशमा पनि हेरिदोरहेछ।
महागुरु फाल्गुनन्द लिङ्देनलाई राष्ट्रिय बिभूति घोषणा गराउन स्वर्गीय संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्बाङको अहम् भुमिका थियो। यो कुरा किरात धर्मले कहिल्यै बिर्सने छैन। उहाँ जीवित रहँदा चुनावी प्रतिस्पर्धाको बेलामा र हालको पहिचानको आन्दोलनलाई जोडेर महागुरुलाई राष्ट्रिय बिभूति घोषणा गराउन एमाले पार्टीलाई समेत जोडेर आफ्नो ठुलो योगदान रहेको बारम्बार भन्नुहुन्थ्यो । उहाँको योगदान सही कुरो थियो। किरात धर्ममा उहाँको यहि योगदानको कारण माङसेबुङ लारुम्बाले उहाँलाई सदा सम्झिरह्यो र यो बारेमा सदा सम्झिने नै छ।

आज उहाँको दाहसंस्कारकै २८ गतेकै दिन पुर्ब निर्धारित किरात धर्मको बृहत् बैठक थियो। त्यहि बैठकले उहाँको बारेमा शोक प्रस्ताव पनि पारित गरियो। बि.सं २०७८ पुस महिनाको अन्तिमतिर झैं लाग्छ किरात धर्मगुरुज्यू दर्शन गर्न म माङसेबुङ गएको थिएँ। गफको सिलसिलामा नेपालको राजनीति र नेताजीहरुको बारेमा कुरो चल्यो। गुरुज्यूले सुबासचन्द्र नेम्बाङ् लगायत केहीको आयु लगभग समाप्त भएको बारेमा अचानक बताउनु भयो। त्यतिखेर मैले मदन भण्डारी दासढुंगा काण्डदेखि राजदरबार हत्याकाण्ड सम्मको धर्मगुरुज्यूको भविष्यवाणी सम्झन पुगें र झस्किएँ। किनकि गुरुज्यूको वाणीसिद्धि बारेमा मलाई प्रष्ट ज्ञान छ। यो कुरो झुटो हुँदैन भन्नेमा शत प्रतिशत बिश्वास छ। म एकछिन घोरिएँ। आदिवासीको छोरो जुनसुकै पार्टीमा जेसुकै भएपनि नेपाली राजनीतिमा त्यो स्थानमा पुग्न एक शतक वा त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यसैले उहाँलाई जसरी बचाउनुपर्छ भन्ने मलाई लाग्यो । किरात धर्ममा आयु जोड्ने एउटा बिधि छ जुन बिधि गुरुज्यू बाहेक कोहीसँग सम्भव छैन । प्रष्ट उदाहरण छन् कोही क्यान्सर लागेका कोही दुईपटक तीन पटक किड्नी फेरेर बिज्ञान प्रबिधिलाई पनि चुनौतीदिदै गुरु आशीर्वादले बाँचेका हामी सामु छन् तर तिनैले भष्मासुरको कथा झैं गरिरहेका छन् । तर अबश्य देवदण्ड गुरु दण्ड लाग्छ।
गुरुज्यूबाट सुबासको आयुको बारेमा किटानीका साथ आइसकेपछि सुबास बचाउन गुरुज्यूसँग अनुनय बिनय ब्यक्तिगतरुपमा गरें। यस बारेमा किरात धर्मका अरु केही उच्च पदाधिकारीहरुसँग पनि कुरा गरें। स्वयं सुबाससँग पनि कुरा राखें। आयु जोड्ने बिधिमा चाहिने सामाग्री बारेमा पनि बताएँ। यति भएपछि उहाँ माब्गसेबुङ आउन तयार रहनुभयो। उहाँका निकटस्थ बन्धु नेताहरु समक्ष पनि यो कुरो पुग्यो। फागुन २९ गते जन्मदिन भने जस्तो लाग्छ । धर्मगुरुज्यूसँग सल्लाह गरेर उहाँलाई माङसेबुङमै बोलाएर २०७८ फागुन २९ गते जन्मदिन पारेर उहाँको आयु जोड्ने कर्मकाण्डको लागि मिति पनि तय भयो । सबै चाहिने सामाग्री बन्दोबस्त गर्नको लागि एकजनालाई ( नाम नतोकौं ) जिम्मेवारी समेत प्रदान गरियो। तर दुर्भाग्यवश उहाँको ब्यस्तताको कारण होला वा उनी स्वयं र जिम्मेवारी दिइएको ब्यक्तिले यो वहियात कुरो ठानी यि दुबैले बिश्वास पनि गरेनन् पनि होला । अन्ततः यति छिटै नहुनु थियो दुर्घटना भएरै छाड्यो। लिम्बु भाषामा एउटा उखान छ,” उम्केको माछा ओखल जत्रो । “

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार