चासोक तङनाम र यसको महत्व

 118 पटक हेरिएको

  • भूपेन्द्र खुदाङ लिम्बू

पर्वहरु सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बुवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक रुपमा चाडपर्व मान्दै आएका छन् । लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । हाल विभिन्न पेशा र जीवनशैली अपनाए तापनि कृषिमा आधारित जीवनशैली अपनाउने लिम्बू जाति प्रकृतिक पूजक हुन् । मुलतः लिम्बू चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ झल्कन्छ ।

के हो, त चासोक तङनाम ?

लिम्बू समुदायले महान चाडको रुपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्राउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाईएको नयाँ अन्नबाली चढाउने पूजा  हो भने तङनाम भनेको पर्व(चाड) हो । मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किरात याक्थुङ चुम्लुङले २०५९ सालमा  प्रकाशित गरेको किरात चाड एक परिचय पुस्तकमा उल्लेख अनुरुप मुन्धुमअनुसार कृषियुग शुरु हुनुअघि लिम्बूहरुका आदिम पूर्खा सावा येत्हाङहरुले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रर्थना गर्दथे ।

    यही प्रार्थनाले गर्दा नै उनीहरुले पेना÷माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए ।यसरी धान र अन्नका वीउ विजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठमो खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर वीउ विजन रोपी छरी अन्न फलाइन । यसरी छरपोख गरी उब्जाएर खानु भन्दा अगाडि माङहरु(देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो भन्ने पाइन्छ । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथन अनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

  आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने(अन्धो बनाउने), कान दुखाउने(बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ ।यतिबेला लिम्बू समुदाय बसोबास रहेको लिम्बुवानको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैंयू फुलेको छ । यसरी पैँयू फुलेको समयलाई किरात लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । यहि समयमा हिमाली भागमा हिँउ पर्ने भएकोले उच्च पहाडि भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठहरु पनि तल बस्तितिर झारिन्ने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यीनै गाईगोठहरुलाई हिउँदो भरी खेतबारीमा मलजल गराई पुनः बैशाख महिनामा उकालो लगिईन्छ, जसलाई उभौली भन्ने गरिन्छ । जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृतिक पूजक लिम्बूहरुले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवताहरुसँग प्रार्थना गर्ने गर्छ । जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ । र यीनै देवीदेवताको आर्शिवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

    पहिला घरघरमा चासोक  थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरुले हाल आएर सामुहिक रुपमा यसलाई महान उत्सवको रुपमा मान्दै आएको छ । लिम्बू समुदाय रहेको लिम्बुवान बाहेक काठमाडौँ उपत्यका तथा विदेशमा समेत यसलाई सामुहिक पुजा तथा खुसियाली मनाउदै आएका छन् । वर्षमा एक पटक आउने यो पर्वमा खुसियाली साटासाट गर्ने तथा वर्षभरी भेट नभएको आफ्न्तजन तथा साथिभाइहरुसँगको भेटघाटको अवसर मानिन्छ । यस्तै यो अवसरमा विभिन्न मेलाको आयोजना गरी शुभकामना आदानप्रदान तथा मौलिक गीतसङ्गीत सहितको सांस्कृतिक कार्यक्रम, (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच पनि नाचिन्छ । उधौली पूजालाई किरात समुदायको मुख्य पर्वको रुपमा मान्दै आइरहेका छन् । किरातीहरु भन्नाले किरातको चार शाखा लिम्बू, राई, याक्खा र सुनवारलाई बुझिन्छ । यसरी मनाईने किरातहरुको महान चाड तथा राष्ट्रिय पर्व लिम्बूहरुले उधौलीलाई चासोक तङ्नामको रुपमा मान्छन् भने अन्य किरात वंशका शाखाहरुमध्ये राईले उधौली साकेला, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदरको रुपमा मान्ने गर्दछन् । नेपाल सरकारले यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात मङ्सिर पूर्णिमाका दिन सार्वजनिक विदा २०५८ सालदेखि दिँदै आएको छ । नेपाल सरकारले सो विदा दिने घोषणा २०५८ चैत २६ गतेको नेपाल राजपत्र भाग ५० अङ्क ५१ मा प्रकाशित गरेको थियो ।

चासोक पूजा तथा पुजिन्ने देवीदेवताहरु 

मुख्यतः युमा, थेबा तथा थङदाङबाको पूजा गरिने भएतापनि  पूजा प्रार्थनामा विध्नवाधा नहोस, प्रार्थना गरे अनुरुप सफलता प्राप्त होस भनी चासोक थिसोक पूजा गरिन्छ । पूजामा पुजिन्ने देवीदेवताहरु निम्न छन् ।१,मिसेक (सम्पन्न गरिन लागेको पूजाकार्य विध्नवाधारहित सम्पन्न होस् भनी सर्वप्रथम मिसेक्पा पूजा ),

२,कुइकुदाप वा ताक्फेङमा वा ताम्भूङना (गृहस्थी जीवनमा विध्नवाधा आइनपरोस् भनी मनाइने शिकारी पूजा) । निम्न शिकारी वनदेवता, वनदेवीहरु मान्ने गरिन्छ ।

(क) तक्सङबा (विध्नवाधा नाशक शिकारी देवता)

(ख) सिरिङमा वा मुदेनहाङमा साया मुदेन (लिम्बूहरुले मान्दै आएको रक्षा गर्ने उत्तरबाट याक्थुङलाजे प्रंवेश गरेकी वनदेवी

(ग) तेन्छामा (दक्षिणबाट याक्थुङलाजेमा प्रवेश गरेकी वनदेवी,

(घ) खञ्जमा वा खजुमा (कहिले उत्तर कहिले दक्षिण घुमी हिँड्ने वनदेवी,

(ङ) वजमा (बिजुवा, येवा, येमा आदि तान्त्रिकहरुले पनि गुरु मानी उनीहरुमा शक्ति गर्ने वनदेवी आदि ।

३, काप्पोबा हिम्साम्याङ (घरको रक्षा गर्ने बुढा देवता) ।

४, काशीहाङमा (युमा साम्याङसँग साथ लागि आएकी उनको सहयोगी देवी) ।

५,युमा साम्याङ (तागेरानिङवाफुमाङ मातृशक्तिको रुपमा प्रकट भएकी लिम्बूहरुको सर्वोपरी इष्टदेवी ।

६, थबा साम्याङ (तागेरानिङवाफुमाङ पितृशक्तिको रुपमा प्रकट भएका लिम्बूहरुका आदि पुरुष देवता अथात् अग्रज देवता (बाजे) ।

७, थुङदाङबा (अन्नबाली उत्पादनमा घामपानी मिलाई उब्जाउ गराइदिने, राखनधारन, खानपिन, कलाकौशलसमेत सिकाउने चासोक पूजामा अनिवार्य रुपमा पुजिन्ने इष्टदेवता । सँगसँगै सिवेरा, चखोबालाई पनि पूजा गर्ने गरिन्छ (तान्छोप्पा वर्ष ११, अङ्क ११, २०६३) ।

चासोक पूजाको सामग्रीहरू र पूजाविधिः 

(क) नयाँ अन्न मकै, कोदो, धान आदि पाकेपछि घरको मूली आइमाईले चोखोनितो गरी धान र कोदोको बाला टिपी ल्याउँछन् । धानको बालाबाट धान झारेपछि त्यसलाई हाँडीमा भुटी ओखलीमा कुटेर च्युरा बनाइन्छ भने नङ्ले छोडाएको नयाँ धानको अक्षता चामल बनाइन्छ ।

(ख) कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ । कोदोको गेडा, मर्चा र पानी मिसाएर पूजाको लागि जाँड साप्तोक बनाइन्छ ।

 (ग) नरकट वा मालिङ्गो वा निगालो आदिको तल्लोपट्टि भुइँमा गाड्न सजिलो हुनेगरी चुच्चो पार्ने र माथिपट्टि मुठारेको ढुङ्गो ५÷६ इन्च लामो बनाई त्यसभित्र साप्तोक हाली थिः तङ्बा बनाइन्छ । तङ्बा बनाउने वस्तुबाटै सिन्का बनाई पिचिङ (पाइप) तङ्बामा हाल्ने र तङ्बालाई केराको पातले छोपी पिछिङले छेडेपछि पूजाको लागि तङ्बा तयार हुन्छ ।

(घ) वासो फुङ्वेत् (चिण्डो) वा लोहेोटा÷डबकामा वादुम्पक्वा (चोखो पानी) हाली वासाङ्ना वा लाइक्इक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने वस्तु) तयार गर्नुपर्छ ।

(ङ)  विभिन्न प्रकारका फलफूल, सुकेको तीतेपाती र धूपीको धूलो धूप, सालधूप, अन्य सुगन्धित धूपहरू, भेटी, च्युरा, अक्षता तयार गर्नुपर्छ ।

(च)  ३ देखि ६ इन्च गहिरो जमिन खनेर निक्लेको माटोले जमिन सम्याउनुपर्छ । सम्याइएको जमिनमा पूजा गरिने विभिन्न देवीदेवताहरूको लागि सुल्टैसुल्टो पारी केराको पात दुईसरो पात ओछ्याई लासो (पूजाथान) बनाइन्छ । लासो थाप्ने तरिका कहीँकहीँ फरकफरक पनि हुन्छ ।

(छ)  युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लिखित सामग्रीहरूका अतिरिक्त थालमाथि फुङसारी (कलश) र दियो जलाई पूजा गर्नुपर्छ । घरभित्र लासो थाप्दा जमिन खनी सम्याउनु पर्दैन (याक्थुम्बा–२०६२, पृ२०)।

यी माथि उल्लेखित सामाग्री तयारी पछि मुन्धुम साम्बा, फेदाङ्मा पूजा गर्ने विधि सम्पन्न गरिन्छ । गाउँघरमा फेदाङ्मा कमै हुन्छन् । त्यसैले अनुकूलता अनुसार गाउँका प्रत्येक घरमा पालोपालो गरी पूजा सम्पन्न गराउँछन् । फेदाङमा बाहेक मुन्धुम जान्ने जो कोहीले पनि यो पूजा सम्पन्न गर्न सक्छन । यो पूजा साँझपख सुरु गरिन्छ । विभिन्न ठाउँहरूमा सम्पूर्ण लिम्बूहरूले पूजी ल्याएको देवीदेवताहरू उही नै हुन् । तर नामाकरण र पूजा गरिने तरिकामा केही फरक भने हुनसक्छ ।

 चासोकको महत्व

चासोक तङनामले धार्मिक महत्व जति बोकेको छ त्यतिकै सामाजिक महत्व पनि बोकेको पाइन्छ । वर्ष दिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्न सराप्ने आदि भए गरेका गालीसराप नलागोस् भनी बगाई पठाउने अनुष्ठान गर्ने प्रचलन लिम्बू जातिमा रहिआएको छ । लिम्बू भाषामा यस अनुष्ठानलाई माङहुप वादेम्मा भनिन्छ । यसो गर्नालेगाली सराप बग्छ भन्ने विश्वास गरिन्छ । यो अनुष्ठान अरु समयमा गर्ने भएतापनि सामुहिक भेला भएको अवसर पारेर चासोक तङनाममा गरिन्दै आएको पनि पाइन्छ । यस्तै चासोक कै अवसर पारेर एकराते तङसिङ पनि गर्ने चलन बढन थालेको पाइन्छ । आफूले मान्दै आएको प्रमुख पर्व कै अवसरमा गर्दा प्रभावकारी हुने ठानी लिम्बूहरुले चासोक कै अवसरमा यो तङसिङ गर्ने गर्दछन् । तङसिङ खास गरेर लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताको बारेमा मुन्धुमअनुसार साम्बा, विजुवाहरुबाट मुन्धुम गाएर सम्पन्न गर्ने गरिन्छ । जसलाई धार्मिक महत्व मानिन्छ भने सामाजिक महत्वमा चासोक तङनाममा रिस, ईष्याहरु विर्सेर आत्मीयताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनीहरु भेटघाट र शुभकामना आदन–प्रदान गर्दछन् । पाहुनाहरु आउने–जाने, मिठो मसिनो विभिन्न खानपिन बनाई खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीहरुबाट हुक्वा, चेसुङ ल्याउने, माईत तथा ससुराली जाने अवसरको रुपमा यस पर्व मान्दै आएका छन्, लिम्बूहरुले । सामुहिक रुपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन् । यस्तै परम्परागत खेल पक्लुङ लेप्मा(छेलो हान्ने) खेल खेल्ने गर्दछन् ।यस चाडले लिम्बू जातिको पहिचान र सांस्कृतिक गौरव  राख्ने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिवीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा भूमिका निर्वाह गरेको छ ।

टुङ्गयाउनी ः

सबै चाडपर्वहरुको आफ्नै महत्व रहेको हुन्छ । चासोक तङनामले राष्ट्रमा मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापित गरेको छ । यसलाई सही रुपमा ग्रहण गरी मान्ने, मनाउने निरन्तरता दिनु आजको दायित्व हो । चाडपर्व सही रुपमा अगाडि नबढेमा मौलिक चाडहरु माथि विकृति विसङ्गति हावी नहोला भन्न सकिन्न । लिम्बू जाति आफ्नो पहिचान मौलिक रीतिरिवाज, संस्कार, कला संस्कृति, भेषभूषा, भाषा, लिपि आदिले सम्पन्न मानिन्छ । अहिले मौलिक कला संस्कृतिहरु जस्तै यालाःङ (धाननाच), केलाःङ (च्याब्रुङ नाच) स्टेज कार्यक्रम हुन पुगेको छ । जुन कलाकारले मात्र नाच्न र गाउन सक्छन् । यसको अर्थ आज स्टेजमा भएको चिज भोलि सङ्ग्राहलयमा नपुगोस् भन्ने हो, यसैले लिम्बूजन्य सामाजिक सङ्घ–संस्थाहरु सामाजिक जागरण, अभियानमार्फत् रीतिथिति, परम्परा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिको बारेमा लिम्बू समुदायमा लगेर यी विषयवस्तुको बारेमा जानकार बनाउन आजको आवश्यकता बनेको छ । आधुनिकताको नाममा संस्कार, संस्कृतिहरु लोप हुने अवस्था पुगेकोले सचेत हुन जरुरी छ । यसरी नै हाम्रो मौलिक चाडपर्वहरुको पनि संरक्षण, सम्बद्र्धन, व्यवस्थापन गर्दै निरन्तरता दिइएन भने मौलिक परम्पराहरु लोप हुनेछ । कुनै पनि चाडपर्वहरु सामाजिक चलन तथा समयको परिवर्तनसँग सम्बन्धित ग्रहण गर्ने र मान्ने मनाउने शैलीहरु परिवर्तन भएता पनि पहिचान झल्कनु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार