
विषय प्रवेश :
नेपालमा केही वर्ष यता चलिरहेको पहिचान र अस्तित्वको मुद्धामा लिम्बु/याक्थुङ युवाहरूको ध्यान केन्द्रीकृत गरि छलफल बहस गर्नु अत्यन्तै राम्रो पक्ष हो । विशेष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रूपमा स्थापित भइसकेपछि २०७२ सालमा जारी भएको संविधानले आदिवासी जनजातिहरूको पक्षमा व्यवस्था गरिएको संवैधानिक हक, अधिकारको सुनिश्चिततावारे राज्यले सम्बोधन गर्न कंजुसांई गरेपछि पहिचान र अस्तित्वको मुद्धा पेचिलो बनेर आएको छ । राज्य पुनर्संचना गरेर मुलुकलाई ७ वटा प्रदेशमा प्रादेशिक बनाईसकेपछि प्रदेशको नामकरण गर्नेदेखि लिएर भाषा, साहित्य, संस्कार, संस्कृतिको विकास, विस्तार र प्रवर्द्धनमा समान रूपले राज्यद्वारा सम्बोधन नगरिनु पनि पहिचानको सवाल टड्कारो रूपमा उठेको देखिन्छ । भन्नैपर्दा हिजोको राणा, पञ्चायत र सुधारिएको प्रजातन्त्र शासन व्यवस्थामा आदिवासी जनताहरूमाथि जुन किसिमले व्यवहार गरिन्थ्यो, अहिले गणतन्त्र शासन व्यवस्थामा पनि राज्यको हेर्ने र व्यावहार गर्ने कार्यशैली खासै परिवर्तन भएको देखिँदैन । हिजोसम्म यो मुलुकमा समाजवाद र साम्यवादको सिद्धान्त व्याख्या गर्दै सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिको लागि राजनीति गरिन्थ्यो भने आज उप्रान्त पहिचान र अस्तित्व पनि जोड्नुपर्ने अवस्था आयो । हुन त पहिचान अस्तित्वको सवालहरू आदिवासी जनजातिहरूले अहिले मात्र नभएर आदि अनादिकालदेखि नै उठाउँदै आएका हुन् । तर हिजो उठ्दै आएको सवाल सङगठित थिएन । पछिल्लो समयमा सङगठित रूपले उठ्न खोजिरहेको छ ।
यहि शिलशिलामा आज पहिचानको सवालमा याक्थुङ /लिम्बू युवाहरूको भूमिकावारे बहसको थालनी भएको छ । यसै सन्दर्भमा याक्थुङ/लिम्बू युवाहरूको भूमिकावारे आफ्नो विचार राख्न चाहन्छु ।
पहिचान र अस्तित्व के हो त ?
हामीले कुनैपनि विषयको गम्भीर बहस गर्नु परेमा त्यस विषयको गहिरो ज्ञान हुनुपर्छ । अध्ययन हुनुपर्छ । यसो भन्दै गर्दा हरेक कुराहरूको परिभाषा, अर्थ, व्याख्या, विश्लेषण ठूलठूला डिस्नेरी पल्टाएर खोज्ने गर्छौं । अनि अरू भाषा, साहित्यका विद्वानहरूले निर्माण गरेका भाष्यको पछि दगुर्छौं । जसले गर्दा हामीसँग भएको मौलिक र अस्तित्वसँग जोडिएको भाष्य विर्सन्छौं । उदाहरणको लागि आजको अन्तरकृया, बहस कार्यक्रममा याक्थुङ/लिम्बू युवाहरूद्वारा कम्तिमा पनि छलफल र बहसका कुराहरू याक्थुङ/लिम्बू भाषामै व्यक्त गरिएको भए के हुन्थ्यो ? कतिको पहिचान र अस्तित्व झल्कन्थ्यो होला ? तर तपाईं हामी त दोस्रो भाषामा शुरुदेखि नै बडो घमण्डका साथ खोकिरहेका छौं । अनि कसरी रह्यो ? याक्थुङ/लिम्बूको पहिचान र अस्तित्व ?
वास्तवमा भन्ने हो भने आदिवासी जनजाति मध्ये पहिचान र अस्तित्वको सन्दर्भमा लिम्बू / याक्थुङ जाति जति धनी अरू छैनन् होला भन्ने लाग्छ । जस्तै: या?ला:ङ, के ला:ङ, मुन्धुमी संस्कारगत सांस्कृतिक पक्षहरू, धार्मिक अनुष्ठानका पक्षहरू, जीवन दर्शनका पक्षहरू । जो यहाँ सम्पूर्ण कुराहरू व्याख्या गर्न सम्भव छैन ।
तथापी हाम्रा जीवनका हरेक पाइला पाइलामा, हरेक समय र परिस्थितिमा चिनारी दिने अस्तित्व र पहिचान नै तिनै तत्व हुन् । ती तत्वहरू भनेकै भाषा, लिपि, साहित्य, संस्कार र संस्कृति नै हुन् । यो भन्दा अरू थोक छ भने त्यो भाष्य निर्माण गरिएको अलङकारयुक्त सामग्री मात्रै हुन् ।
आज हाम्रो मुलुकको राज्य सत्ताले पुर्खाहरूले निर्माण गरेको ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान भन्न दिएन, हाम्रा पुर्खाहरूले नाम राखेका याक्थुङ/लिम्बू भाषाका गाउँ, ठाउँ र वस्तुको नाम राज्यका उपनिवेशवादी मतियारहरूले मेटाईदिए । अनि त हामी अहिले पहिचानको आन्दोलन गरिरहेका छौं । अस्तित्व जोगाउन आन्दोलन गरिरहेका छौं ।
हाम्रो भाषा, साहित्य, संस्कार संस्कृतिप्रतिको विभेदकारी राज्यको नीति विरुद्ध लडिरहेका छौं । यो मुभमेण्टले याक्थुङ/लिम्बू युवा पनि चुपो लागेर बस्न दिएन । र चुचाप बस्नु पनि हुँदैन ।
हाम्रो समुदायमा कमजोरी कहाँ रह्यो त ?
हामीले अहिले पहिचानको कुरा गरिरहँदा विगतलाई पनि फर्केर हेर्नुपर्छ । जब शाहवंश र लिम्बुवानको बिचमा १८३१ मा सन्धि सम्झौता भयो । त्यसबेला हाम्रा पुर्खाहरूले ठूलो गल्ति गरेका छन् । हुन त अहिले हामीले लालमोहर पाएका थियौं भनेर गर्व गर्छौं । तर लालमोहरसँगै सबैथोक समर्पण गरे पुर्खाहरूले ।थोरैपनि अाफ्नो लागि केही राखिछोडेनन् पुर्खाहरूले । सन्धि सम्झौता गर्दै गर्दा कम्तिमा पनि राज्यको मूल कानूनमा लिम्बुवानी जनतामध्ये याम्थुङ/ जातिको लागि भाषा लिपि पढ्न पाउँने, धार्मिक संरक्षणमा राज्य कोषद्वारा संरक्षण गरिने, ऐतिहासिक रूपमा पुर्खौली थलो र विकसित नामहरू यथावत राख्ने भन्ने संझौता भएको भए आज यसरी हामी पहिचानको आन्दोलन गरिरहनुपर्ने थिएन । यसको अर्को स्टेपको रूपमा आर्थिक क्रान्तिमा होमिएको हुन्थ्योहोला हाम्रो याक्थुङ समुदाय ।
आज हामीले १८३१ पछिको सन्धि संझौताले निम्त्याएको बाध्यकारी वर्गीय विभेदको चपेटामा अहिले याक्थुङ/लिम्बू समुदाय पिसिएको छ । त्यसको प्रत्यक्ष असर याक्थुङ युवामा परेको छ । त्यसकारण युवाहरूमा एकता हुन गाह्रो भएको छ । किनकि जब सुभा, सुभाङगीको शासकीय प्रथाले जन्माएका लिम्बू कुलिनतन्त्रवादी र सत्तापक्षीय वर्गका भए भने त्यो बाहेकका याक्थुङ/लिम्बू आफ्नो पहिचान र अस्तित्वको लागि लडिरहने वर्ग भए ।
वास्तवमा अहिलेको समयमा याक्थुङ/लिम्बूबिचमा एकता हुन नसक्नु र पहिचानको आन्दोलनमा सर्वपक्षीय सर्वस्विकार्य छलफल , बहस हुन नसक्नु धेरै कारणहरूमध्ये यो पनि एक हो ।
त्यसकारण पुर्खौली सन्धि संझौतामा भएको कमिकमजोरीलाई केलाउँदै पहिचानको छलफल, बहस गर्नुपर्छ भन्ने लाग्छ ।
याक्थुङ/लिम्बू युवा पहिचानको सवालमा कसरी प्रस्तुत हुने त ?
युवा भनेको समाजलाई हरेक पक्षबाट जुरुक्कै उठाउने एउटा शक्ति हो । मानिस जन्मेपछि यदि युवा नहुने हो भने मानव सभ्यताको निर्माण हुन सक्दैन होला । युवा तिनै हुन् जो सन्तान उत्पादनदेखि, आर्थिक उपार्जन र सत्ता प्राप्तिको खेलको सक्षम पात्र हो युवा । यी तिनै पक्षलाई काँधमा राखेर आज याक्थुङ/लिम्बू युवा पहिचानको सवालमा बहस गरिरहँदा राज्यको सत्ता प्राप्ति नगरि हाम्रो पहिचान र युवाको शाब्दिक अर्थ रहँदैन भन्ने निष्कर्षमा याक्थुङ युवा पुगेको अवस्था हो । त्यसरी आएको युवा पहिचानको सवालमा कसरी प्रस्तुत हुने भन्ने मूल विषय हुन सक्छ ।
यश सन्दर्भमा सम्पूर्ण याक्थुङ/ लिम्बू युवाहरूले अहिलेसम्म प्रयोग गरिरहेको अवस्थालाई अलिक परिवर्तन गर्नुपर्छ कि भन्ने लाग्छ । पहिचानको परिभाषालाई परिभाषित गर्दै पोशाक र छातिमा सिलाम साक्मा टाँसेर हिड्दैमा मात्र अब हुँदैन । सिलामसाक्मा कट्टर पहिचान बिरोधी मानिसले पनि लगाएर हिड्न थाले । पोशाक र लोगो प्रयोगलाई सच्चा पहिचानवादी पथमा ल्याउनको लागि अब याक्थुङ/लिम्बूको राष्ट्रिय पोशाक तागा र मेख्लिमा सिलामसाक्मा प्रयोग गर्नुपर्छ । अनि यिनै आवरणात्मक शक्तिलाई सत्ता प्राप्तिको खेलमा कुशल सिपाहि बनाउँन सङगठन निर्माण गर्नुपर्छ र त्यस सङगठनको त्यागी, जिम्मेवारी र वफादार सदस्य निर्माण हुनुपर्छ ।
याक्थुङ/लिम्बू नै भए पनि पहिचानको कित्ता बाहिर रहेर काम गर्छ भने त्यस पात्रलाई तुम्याहाङ प्रणालीको सिद्धान्त अनुरुप निलम्बन, जरिवाना र कारवाही पनि गरिनुपर्छ ।
पहिचानको सवालमा युवाको भूमिका
अहिलेको जमानामा जुनसुकै जाति र समुदायका युवाहरू सामाजिक सञ्जालमा मात्र पहिचान र अस्तित्वको कुरा गरेर बस्ने होईन । औंपचारिक कार्यक्रमहरूको आयोजना गरेर खस या अंग्रेजी भाषामा मात्र भाषण गरेर बस्ने होइन । यदि आफ्नो पहिचानको कुरामा आफ्नो सोचाई अनुसार पहिचानको सिद्धान्तलाई पेचिलो बनाउने हो भने निम्नानुसारको रणनीतिक कुराहरूको प्रयोग गर्नुपर्छ भन्ने लाग्छ ।
१. सबैभन्दा पहिलो कुरा औंपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा याक्थुङ/लिम्बू भाषा लेखेर भएपनि बोल्ने र आफ्नो विचार भाषाबाटै अभिव्यक्त गर्ने ।
२. माइन्युट लेखन आफ्नो लिपि र भाषामै लेख्ने ।
३. छोटा छोटा रोचक भिडियो क्लिप्सहरू निर्माण गरि सामाजिक सञ्जालमा पोष्ट गर्ने ।
४. कला, कर्मी र रङगकर्मीहरूलाई सङगठित बनाएर वा आफैले अभिनय गरेर पहिचान सम्बन्धि नाटकहरू निर्माण गरि सडकमा प्रस्तुत गर्ने गराउने ।
५. जहाँ, जस्तो, अनि जताततै भेटघाट हुँदा पनि कम्तिमा ५ मिनट पहिचान र अस्तित्वको बारेमा छलफल गर्ने ।
६. गाउँ, शहर, वडा र टोलहरूमा मित्रवत चुम्लुङ गरि बिहान बेलुका आफ्नै भाषामा सकि नसकी गन्थन मन्थन गर्ने ।
उल्लेखित रूपमा काम गर्नुको मूल कारण युवाको काम युवा आफैले गर्ने शुरुवाती पनि हो । आफ्नो काम अरूले गरिदिँदैन भन्ने कुरा हेक्का राखेर अाफैले सुरुवाती गर्ने एक महत्वपूर्ण अभियान हो ।
युवा मञ्चले युवालाई समेट्ने एक अवसर
याक्थुङ युवा मञ्चले सम्पूर्ण युवाहरूलाई समेटेर अघि बढ्ने अत्यन्तै ठूलो अवसर आएको छ । विशेष गरेर प्रदेश नं. १ नाम गत फागुन १७ गते कोशी नामकरण गरिसकेपछि उठेको आन्दोलनले सम्पूर्ण युवाहरूलाई एकजुट हुने अवसर जुटेको छ । तर सम्पुर्ण याक्थुङ युवाहरू जुटेर पहिचानको आन्दोलनको सडकमा युवा आए, आएनन् । आन्दोलनमा मञ्चले मञ्चमा आबद्ध सम्पूर्ण युवा शक्ति उतार्न सक्यो सकेन । त्यो पनि एकपटक समीक्षा गरेर अघि बढ्ने सके पहिचानको सवालमा युवाको भूमिका कस्तो रहने भन्ने कुराको शिक्षा हुन सक्छ ।
होइन युवाले पहिचानको कुरा गर्ने अनि पहिचानको आन्दोलनको समयमा सडकमा नआउने हो भने त्यसको अर्थ सिद्धान्तवाद मात्र हुन्छ, व्यवहारवाद हुन सक्दैन ।
यसैगरि आगामी २०८१ बैशाख १५ गतेइलाम क्षेत्र नं. २ मा सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा सदस्यको उप-निर्वाचनमा आफ्नो सङगठनमा आबद्ध भएका युवाहरूलाई परिचालन गर्ने सके सङगठन बलियो बनाउने अवसर जुट्न सक्छ । तर औंपचारिक कार्यक्रम गरेर मात्र पहिचानप्रतिको भूमिका दर्विलो हुन सक्दैन ।
युवा मञ्चलाई हुन सक्ने जोखिम
राजनीतिक खेलमा युवालई अत्यधिक बढि प्रयोग गर्ने गरिन्छ । चाहे भोटर्सको रूपमा होस्, चाहे शक्तिको रूपमा होस् । यस्तो अवस्थामा बढिसे बढि याक्थुङ युवाहरू नै कुनै कतैको तवरबाट प्रयोग भइरहेको हुन सक्छ । यस्तो अवस्थामा आफ्नो सङगठनमा आबद्ध युवालाई कसरी जोगाई राख्ने भन्ने जोखिम हुनसक्छ ।
यस्तो जोखिमबाट मञ्चमा आबद्ध सदस्य र सिङगै मञ्चलाई जोगाएर साँचिकै पहिचानवादी युवा मञ्च याक्थुङ/लिम्बू जातिकै युवाको सङगठन बनाई राख्न केही संस्थागत नीतिहरू पनि निर्माण गर्न जरुरी छ । अबको संस्था र सङगठन भावनाले मात्र सञ्चालन हुन सक्दैन । सम्भव भएको र सहन गर्न सकिने गरिको नीतिगत र केही प्रावधानहरू निर्माण गरेर त्यसैको संहितामा संस्था अघि बढाउन सके जोखिमबाट जोगिन र जोगाउन सकिन्छ ।
अन्त्यमा
जतिसुकै लामो व्यख्या गरेपनि, संसारकै मुलुकहरूको युवा परिचालनका तर्कहरू पेश गरिएपनि आखिर काम गर्ने त यहिकै युवा नै हुन् । त्यसकारण आफूसँग भएको याक्थुङ मुन्धुमी शक्तिहरूकै आधारहरू टेकेर अघि बढ्ने सके नै पहिचानको पक्षमा युवाले खेलेको कुशल र सबल भूमिका हो भन्ने लाग्छ ।
पहिचानको सवाल र अस्तित्वका पक्षमा जतिसुकै ठूलठूला गफ, भाषण भूषण गरेर भाषा लिपि, धर्म, संस्कार, संस्कृति, मु्न्धुमी लोक संकृति र मुन्धुमी जीवन दर्शनलाई विर्सेमा सच्चा पहिचानवादी हुन सक्दैन ।
(-लेखक किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष हुन्।)