याङ्बेन (झेउ) लेकाली वन जङ्गलको रुखको हाङ्गाबिगामा विशेष गरेर ओखर, कटुस, उतिस, चुत्रो र ढुङ्गामा टाँसिएर रहेको हुन्छ । जालीदार गुचुमुच्च आकारको हुन्छ । यसको विकासक्रम लेउ वा ढुसीबाट गुणात्मक रुपमा फैलिएर जान्छ । याङ्बेन (झेउ) विभिन्न प्रकारका हुन्छन् । (क) यो ढुङ्गा वा रुखको हाँगाको बोक्रा सतहमा टाँसिएर पात आकारको भएर फैलिएर बसेको हुन्छ । (ख) रुखको बोक्रा वा हाँगाको सतहमा मसिनो हाँगा–हाँगा परेको (फाटेको) गुचुमुच्च फस्टाएको हुन्छ । (ग) ढुँगा वा सुकेको, मक्किएको रुखको सतहमा टाँसिएर रहेको फुस्स–फुस्स धुलो उड्ने झर्ने सुनौलो, बैगुन, सुन्तला रङ्गको हुन्छ । त्यसैले जङ्गलमा याङ्बेन (झेउ) टिप्न जाँदा जात प्रजात छुट्टयाउन सक्ने अनुभवी मान्छे चाहिन्छ । यसको जात पहिचान भनेको रुखको हाँगाको बोक्रा सतहमा टाँसिएर पात आकारको भएर फैलिएको कालो, खैरो रंगको गुचुमुच्च पोको भएको आकर्षक किसिमको थुंगा हुन्छ । यो लेउ वा ढुंसी प्रजातीको भएकोले यसको वंश विस्तार कमिला, शंखेकिरा, झुस्लिकिराले गरेको हुन्छ । कमिला, शंखेकिरा, झुस्लिकिराको जीउमा यसको ढुंसी टाँसिएर रहेको हुन्छ । ती जीव जता–जता जान्छन् त्यतै–त्यतै ढुंसीहरु झर्ने र छरिने भएकोले याङबेन (झेउ) फैलिन्छ । ओसिलो, घना जङ्गल, कम घाम पुग्ने स्थानमा पाईन्छ । यसले आफ्नो तौलभन्दा २० गुना बढी पानी सोस्ने क्षमता राख्दछ । बोट बिरुवाले झैं पानी सोस्ने र आवश्यक पोषक तत्व ग्रहण गर्दछ । रुखको बोक्रा सतहमा टाँसिएर रहे पनि यो ढुसी परजीवी नभई माध्यम मात्रै हो ।
विश्व ब्रम्हाण्डको मौसम परिवर्तनको प्रकोपले गर्दा याङ्बेन (झेउ) को अस्तित्व खतरामा रहेको पाईन्छ । पहिला घर नजिकैको जङ्गलमा पाईने अहिले याङ्बेन (झेउ) खोज्न निकै लेकाली क्षेत्रमा पुग्नु पर्ने अवस्था छ । च्याउ जस्तै याङ्बेन (झेउ) को अस्तित्व कायम राख्नका लागि याङ्बेन प्रजाति ढुंसी सङ्कलन गरी ल्याबमा विकास गरेर कृषि उत्पादनमा ल्याउन जरुरी भैसकेको छ । कृषि विज्ञान अध्ययन गर्ने सोधकर्ताहरूले यो विषयमा खोज अनुसन्धान गर्न सकेमा राम्रो विषय छनौट हुन सक्छ ।


याङ्बेन (झेउ)लाई जङ्गलबाट टिपेर ल्याईसकेपछि राम्रोसँग केलाउनु पर्दछ । ठूलो भाँडामा ( याङ्बेन) झेउ लाई खुल्ला, (नखाँदिने तरीकाले) खरानी हालेर केही समयसम्म (पाक्ने गरी) उसिन्ने । खरानीले याङ्बेन (झेउ) मा टाँसिएर रहेको फोहोर, मैला, अनावश्यक ब्याक्टेरियालाई तातो पानीको तापमा पखाल्ने धुने काम गर्दछ । त्यसरी उसिनिएको याङ्बेन (झेउ) लाई चिसो पानीले मज्जाले पखाल्नु पर्दछ । भण्डार गर्नको लागि गुन्द्री, मान्द्रोमा राखेर चर्काे घाममा सुकाउनु पर्दछ । त्यसरी सुकाईएको याङ्बेन (झेउ) लाई आवश्यकता अनुसार पकाएर खान सकिन्छ ।
याङ्बेन (झेउ) बनाउने तरिका
(२ जनाको लागि)
क्र.सं. मिश्रण विवरण मात्रा ः
१. याङ्बेन (तातो पानी हालेर नरम बनाई राख्ने) – २५० ग्राम
२. सुँगुरको बोसोसहितको टुक्रा पारिएको मासु – १०० ग्राम
३. सुँगुरको टुक्रा पारिएको आन्द्रा – १०० ग्राम
४. सुँगुरको टुक्रा पारिएको मुटुरकलेजो – १००र१०० ग्राम
५. सुँगुरको रक्ती – २०० ग्राम
६. टमाटर मसिनो काटेको – १०० ग्राम
७. प्याज काटेको – २ वटा
८. खोर्सानी धुलो – १ चम्चा
९. धनिया धुलो – १ चम्चा
१०. अदुवा पेस्ट – १ चम्चा
११. लसुन पेस्ट – १ चम्चा
१२. बेसार – आधा चम्चा
१३. तेल – २०० एम् एल्
१४. हरियो धनियाँ (मसिनो काटेको) – १ मुठा (सानो)
१५. नून – स्वाद अनुसार
(धेरै वा थोरै कति बनाउने हो त्यही अनुसार आवश्यक सामाग्री थपघट गर्न सकिन्छ ।)
पकाउने तरिका ः
कराई तताउने र तेल हाल्ने । तातो तेलमा प्याज फुराउने । प्याज फुरिएपछि टुक्रा पारिएको मासु र आन्द्रा हालेर चलाउने । मासु र आन्द्रा पाके पछि टुक्रा पारिएको मुटु र कलेजो हालेर पकाउने । टुक्रा पारिएको टमाटर हालेर एकछिन छोपेर पकाउने । क्रमबद्ध तरिकाले नून, खोर्सानी धुलो, धनियाँ धूलो, अदुवा पेस्ट, लसुन पेस्ट, बेसार हालेर राम्रोसँग चलाउने । त्यसपछि सुँगुरको रक्ती (रक्ती एकै ठाउँ पोको नपर्ने तरिकाले) हालेर राम्रोसँग चलाउने । मासु, मरमसला र रक्तीसहितको मासु पाकेपछि अन्तिममा याङ्बेन हालेर सानो आगो बनाएर राम्रोसँग छोपेर पकाउने । तयारी याङ्वेनमा माथिबाट मसिनो काटेको हरियो धनियाँ हाल्ने । यसपछि याङ्वेन खानका लागि तयार हुन्छ ।००


202 पटक हेरिएको 










