पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुङ्गे पुलहरूको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतया कर्णालीवासीहरूको उत्साह देखियो । दलवीरको ’वाह वाह’ गर्नेहरू धेरै भेटिए । उनको जन्मस्थल रहेको गुराँस गाउँपालिका तथा प्रदेश सरकार पनि सचेत भएको देखियो । तर, यस किसिमका उत्साही र समाजप्रति निःस्वार्थ भावले पुल बनाइदिने अरु पनि थिए । त्यो बेला झोलुङ्गे पुल बनाउने आँट गर्नु त्यति सहज थिएन । सोचेर मात्र सम्भव थिएन । धन भएर मात्र पनि सम्भव थिएन । तर पनि यस किसिमको झोलुङ्गे पुल बनाएर समाजमा अनुकरणीय उदाहरण देखाउने धेरै भेटिन्छन् ।
यो कथा पूर्वी नेपालको लिम्बूनी पुलको हो । ६०–६५ वर्षअगाडि बनेको वास्तविक लिम्बूनी पुलको अस्तित्व अहिले छैन तर त्यही स्थानमा बन्न लागेको नयाँ पुलको नाम पनि उही लिम्बूनी पुल रहेको छ । तसर्थ यो नाम अहिले फेरि सुनिन थालेको छ । तमोर करिडोरको रूपमा हिमाल र तराई जोड्ने सहज र छोटो बाटो तयार हुँदैछ । चिनियाँ सीमा टिप्ताला भन्ज्याङबाट भारतीय सीमा रानी भन्सार जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्दैछ । यसै राजमार्गमा पर्ने तमोर नदीको पुललाई लिम्बूनी पुल नै नामाकरण गरिएको छ ।
पहिले हिँडेर जाँदा निधुरादिनबाट अमरपुर निस्कदा तमोर खोला तर्ने पुल नै लिम्बूनी पुल थियो । यो पुल हाल ओलाङचुङगोला लोकमार्गअन्तर्रगत पर्दछ । अझ भनौँ भने पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको सेतुको रूपमा रहेको तमोर नदीको झोलुङ्गे पुल नै लिम्बूनी पुल हो ।
लिम्बूनी शब्दले नै जनाउँछ कुनै महिलाको नामबाट बनेको पुल हो । हालको ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं ५ चाँगेको नेसुममा वि.सं. १९३४ को चैत्रमा जन्मिएकी विष्णुमाया लिम्बूनीको नामबाट बनेको पुल हो । विष्णुमायाको पूरा नाम बिष्णुमाया नाल्बो आंगबुहांग हो ।
नेपालमा राणाशासनको अन्त्यको समय आफ्ना श्रीमान् गुमाएकी विष्णुमायालाई आफ्नो श्रीमानको सम्झनामा केही गर्ने रहर जाग्न पुग्यो । जीवनको सबैभन्दा ठूलो धन भनेकै श्रीमान् थिए, श्रीमान् नै गुमाए पछि यो धनको मेरो लागि अरु धनको महत्व नै के छ भनेर सोच्दै उनले तमोरमा झोलुङ्गे पुल हाल्ने सोचिन् । आफ्नाहरू तथा छरछिमेकको सल्लाहले पुल बनाउने ठाउँको निधो गरिन् । पुल बनाउन आवश्यक सामग्री खरिद गर्न भारतको सिलिगुडीमा गाउँलेहरूलाई पठाइन् । मुख्य सामग्री फलामे लट्ठा तथा फलामे साङ्लो उतैबाट ल्याइयो । अन्य सामग्री गाउँमा नै तैयार बनाइयो ।
उनको गाउँदेखि करिव चार घण्टा हिँडेर पुगिने तमोर हिउँदमा त मुश्किलले तर्न सकिन्थ्यो तर वर्षामा भने तर्ने आँट कसैले गर्न सक्दैनथे । खोलामा राखिने फड्केको कुनै भर नै हुँदैनथ्यो । ताप्लेजुङ तथा पाँचथरबाट नुन तेलको लागि ढाकर बोकेर आउने भरियाहरू कति त तमोरले बर्सेनि खान्थे । हरेक वर्षातमा मृत्युका समाचारले आक्रान्त बनेको बुढ्यौली मनले पुल बनाउने अठोट नै गरिन् । विष्णुमायाले पुल बनाउने आँट गर्दा उनको उमेरले चार बीस पुग्न पाँचै वर्ष मात्र बाँकी थियो । यो बुढ्यौली उमेर सबै चिन्ता पीरलाई थाँती राखेर आराम गर्ने दिन थियो । तर विष्णुमायाको कमलो मन तथा श्रीमानबाट बियोगले आक्रान्त भएको मनले पुल बनाउने निश्चित गरिन् ।
विसं २००९ सालमा पुल तयार भयो । पुल बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका गाउँले सबैलाई सहज भयो । गाउँबाट ढाकर बोकेर लहरै हिँड्ने भरियाहरू पनि खुशी भए । अब बर्सेनि जीवन गुम्ने डर भएन । गाउँले सबै मिलेर पुलको नाम नै विष्णुमायाको सम्झनामा लिम्बूनी पुल राखिदिए । विष्णुमायालाई कसैले सम्झन्छन् या सम्झदैनन् त थाहा भएन तर लिम्बूनी पुलको नाम सदैव अमर भएको छ । उनले बनाएको पुलको स्थानमा नयाँ पुल बन्यो, त्यसपछि फेरि यातायात नै सञ्चालन हुने गरी पक्की पुल बन्दैछ । तर नाम भने अहिले पनि लिम्बूनी पुल नै रहेको छ ।
बुढापाकाले भन्ने गर्छन् भगवान हुन्छ या हुँदैन थाहा छैन तर भगवानले सधैँ भन्ने गर्छ, ’तिमी आँट म पूरा गरिदिन्छु ।’ कुनै पनि काम गर्न उमेर वा धन होइन मन हुनुपर्छ । दृढ संकल्प हुनुपर्छ । आटेको पूरा हुन्छ । हुन पनि विष्णुमायाको उमेरले ७५ छोएको थियो । गाउँकी एक गृहिणीसँग पक्कै पनि पर्याप्त धन पनि थिएन । तर, उनको आँट र साहासका अगाडि कसैको केही लागेन । उनले गाउँलेका लागि झोलुङ्गे पुल बनाइछाडिन् ।
यो पुल रहेको ठाँउमा हरेक वर्ष श्रीपञ्चमीको दिन मेला लाग्ने गर्दछ । मेला भर्न आउनेहरूले सधै बोजूलाई सम्झने गर्दछ । लिम्बुनी बोजूको ७९ वर्षको उमेरमा २०१५ साल मंसिरमा स्वर्गारोहण भयो । उहाँको देहले यो संसार छोडेर गए पनि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनताहरूको मनमा सधैँ बसिरहनुभएको छ ।
(सुनिल उलकको फेसबुकबाट लिएको सामाग्री ःस.) ।००