फाल्गुनन्द लिङ्देन राज्यको विभुति हुन् । फाल्गुनन्दको जन्म, इलामको माङ्सेबुङ गाउँपालिका साविक इभाङ ५, चुक्चिलिम्बाको डाँडा गाउँमा भएको हो । वि.सं. १९४२ कार्तिक २५ गते जन्मदा, आमाको स्तनमा खटिरा भएकाले स्तनपान गर्नुभएन, ३÷४ घण्टासम्म पनि रुनुभएन । सानोमा फलामसिंह र नरध्वोज लिङ्देनको नामले गाउँघरमा बोलाउँथे । बाल्याकालमा फलामको चुरा लगाएका हुनाले फलामसिंह नाम रहन गएको हो । फलामसिंह वहाँको माङ्गेन्नाको नाम पनि हो । बुबा जगुनबाज र आमा हंसमती बेघाको कोखबाट साहिला छोराको रुपमा जन्मनुभएका फाल्गुनन्दको आमा सानैमा देहान्त भएको थियो । घरमा ४ दिन अघि ब्याएको बाख्राको दुध खाएर हुर्कनुभयो । आर्थिक रुपले विपन्न परिवारमा जन्मिएका फाल्गुनन्दले बन, जङ्गलमा गोठालो गर्दै वित्यो । सुखिम्मा कुल्ली काम गरेर जीवनसमेत गुजारा चलाउनु पनि भयो । ८ वर्षको उमेरमा साविक देउमाई नगरपालिका साविक जितपुर– ८ खत्रक्पा खोल्सी माइखोला किनारमा वहाँले ज्ञान प्राप्त गर्नुभयो ।
वि.सं. १९६४ सालमा पल्टनमा माइला दाइ राजवन्त लिङ्देनलाई भेट्न जाँदा झुक्याएर भर्ति हुनुभयो । फाल्गुनन्द लाहुरे भइ दशक काम गर्नु भयो । हबल्दारसम्मको दर्जा पाए पनि व्यक्तित्व चाहि ‘ध्यानी’ नामले चिनिनुहुन्थ्यो । गोर्खा पल्टनमा माङ्सेवा गर्न छाड्न्ु भएन । खाटको सिरानी पट्टी दियो, कलश राखेर धप सल्काएर सेवा साँझ विहान गर्नुहुन्थ्यो । आध्यात्मिक कार्यमा लगाब भएकाले ‘ध्यानी’ भनिएको हो । अतभूत शक्ति भएका वहाँको कमाण्डमा विश्व युद्ध भएको थियो । वहाँले ‘सिपाहीहरुलाई हेर दुश्मनलाई मारेमा पाप लाग्छ । त्यसैले आकाश र भुइँमा गोली हान्ने’ आदेश दिनुभयो । युद्धमा युमा सुनको थुन्सेमा दुश्मनको बम बारुद्ध पसेको जस्तै दृश्य देखिन्थ्यो । माङ्लाई सम्झिए, सत्य धर्ममा बसे, सबै मरिदैन भने बमोजिम सिपाहीहरू मरेनन् र घाइते पनि भएनन् । पछि अपिसबाट घरजान नदिएपछि झुक्याएर घर फर्कनुभयो ।
किरात धर्म दर्शनदाता, विश्व शान्ति तथा मानब एकता सम्बाहक, समाजसुधारक, महर्षि, किरात धर्मका छैठौं माङ् अवतारी, राष्ट्रिय विभुति, साहित्यकार, साम्याङ्वालिङ्गे, युप्पावालिङ्गे, थाक्थाकुम लिङ्देनहाङ्मा, मामाङ, युमा, माङ्नारा, मुहिङगुम अङ्सीमाङ्, महागुरु नामले पनि चिनिनुहुन्छ । वर्मा, भारत, भुटानमा समेत भ्रमण गर्नुभएपछि पूर्वी पहाडी इलाका लिम्बुवानका इलाम, पान्थर, ताप्लेजोङ, धनकुटा, तेह्रथुमलगायतका स्थानमा यात्रा गर्नुभयो । लिम्बुवानको दुरदराज घुमेर समाजलाई नियालेर समाजलाई रुपान्तरण गर्नुभएकाले सामाजिक अध्येता समेत हुन् । ती स्थानहरुमा अशिक्षितलाई शिक्षा दिने काम गर्नुभयो । खासगरी समाजमा रहेका कुरिति, कुसंस्कारलाई परिवर्तनतर्फ आजीवन लागिरहनुभयो । आफ्ना अनुयायीहरूसँग आफ्नो भाषा, लिपि प्रचार गर्दै मृत्यु संस्कार, विवाह संस्कारलगायत कर्म काण्डका विकृतिहरुलाई हटाउन अग्रणी भूमिका खेल्नुभयो । चोकमागू पान्थरका दिलमान तुम्बापो, बद्रिनन्द तुम्बापो, इम्बुङ पान्थरका रणध्वोज नेम्बाङ, यासोक पान्थरका सेरबबहादुर लावती, जितपुर इलामका नरप्रसाद लिङ्देन, मधुमल्ला मोरङका रामप्रसाद राई, सौरेनी दार्जिलिङका श्रीप्रसाद नेम्बाङ, रवि पान्थरका मणिराम साम्पाङ, छत्रमान साम्पाङ, तेह्रथुमकी जोगमाया तुम्बापो लिङ्देनलगायत चेलाभुला वहाँको थियो । आफ्नो परम्परागत भाषा, धर्म, संस्कार, इतिहास लोप हुन लागेकाले सो जोगाउन गाउँगाउँमा जनचेतना जगाएर अमूल्य गुन लगाउनुभयो । मातृभाषाको शिक्षा लिपि भाषा स्वयम् पाठनपाठन गर्नुका साथै गर्न लगाउनुभयो । केही सताब्दीसम्म मौखिक परम्परामा रहेको मुन्धुमलाई लिपिबद्ध गर्नुभयो । छरपष्टिएको साम्जीक मुन्धुमलाई संहिताकरण गर्दै ‘हाङसाम शक्लो’, ‘याक्थुङ साप्शक साम्लो’, ‘सत्यधर्म मुचुल्का’ (१९८८), ४२ भाग पाण्डुलिपिबद्ध गर्नुभयो । सत्य आहार, सत्य व्यबहार, सत्यधर्म, सत्य कर्म, खाली सत्यको कुरा गर्नाले सत्य हाङ्मा नाम रहन गयो । अविवाहित वहाँले समाजमा विद्यमान अन्धविश्वास, परम्परा कुरितीविरुद्ध गाउँघरतिर प्रचारात्मक क्रिया गर्नुभयो । निरङ्कुश राजा शासन तथा स्वेच्छाचारी राणा शाषन कालको दमन चक्रमा परेर असतित्व पहिचान नामेट हुदै गरेको बखत अनुकरणीय भुमिका खेल्नुभयो । आफ्नो अभियान सञ्चालन गर्दा लुकीछिपी अनुयायीहरुलाई ठाउँठाउँमा चुम्लुङ गर्नुभयो । माङ्इङ्घङ्हरु सुनाउँदै हिड्दा, कतिले अपहेलना मात्र गरेनन् तत्कालिन र सरकारले जेलनेल हाल्ने प्रपन्च पनि गरेको थियो । फाल्गुनन्द लिङ्देनको विरुद्धमा विरोधी तीन सय जनाले अनेक लाल्छना लगाएर उजुरी दिए । पूर्वबाट स्वघोषित राजा बनाएर ल्याएको खबर काठमाडौँ हल्लियो । सभामा नेलकडी लगाएर हाजिर गराए पनि नेलकडी खत्रक्क भुइमा खस्यो । तर सरकारको केही सिप लागेन । ईश्वरीय क्षमता भएको धार्मिक सन्त रहेछ, भनी खाना बस्नको प्रबन्ध मिलाउन आदेश भयो । श्री ५ लाई पनि श्री ३ ले हरूले दरबारमा नजरबन्द गरेको अवस्थामा सुधारात्मक अभियान सञ्चालन गर्न छाड्नुभएन । कहिले देशद्रोहीको आरोप खेप्दै, कहिले फोस्रा साधु भन्दै, हेय गर्नेहरूलाई सहदै, वहाँ भोक तिर्खा नभनी मानब मोक्षमा निम्ती लागिरहनुभयो । किराती हिन्दु नभएपनि हिन्दू राज्य भएकाले राज्यबाट बच्न हिन्दूको भेष, तपस्वीको मुखुण्डो ओडेर होम यज्ञ बनाएर काबेलीलाई गंगायमुनाको प्रति रुप सम्झेर यज्ञ गर्नुभयो । महिलाको भेषभुषा र गहनामा सज्जिएर हिड्नु हुने वहाँ कम बोल्ने, साहकारी हुनुहुन्थ्यो ।
घुम्ने क्रममा विश्वास गरेर जोखना, विराम देखाउने भीड लाग्थ्यो । इलाम जिल्लाको साविक साक्फारा–८, कालीखोला र बुवाना खोलाको शिरमा पहिरो जाने गर्दथ्यो । ‘माङ् रिसाएर पहिरो गएकाले घट्ना घटेको भन्नु हुदै, जीव हिंसा नगर्ने’ स्थानीयहरूले कबुल गरेपछि स्वस्ती शान्ति गरिएको थियो र समस्या सामाधान भयो । तात्कालिन बाझो–८ आदिपुर (माङ्सेबुङ, गाउँपालिका) इलाम, तात्कालिन चोकमागू बेतनी (फिदिम नगरपालिका) पान्थरमा पहिरो जाने समस्या थियो । सेवा गरेपछि थामियो । पान्थरको रवीमा खरेडी परेर आजित स्थानीयलाई २ दिनको सेवा पछि २ दिनसम्म बर्षा भयो । साविक जितपुर–८, लिङ्देन गाउँमा धारा टाढा थियो । तत्पश्चात पानी उमारी सहज बनाइदिनुभयो । वि.सं. १८९१ मा इलामको माने भञ्ज्याङमा पानीको माग गरेपछि पानी माग गर्ने सेवा तीन दिनसम्म जारी भयो । फलस्वरुप वर्षा भयो । इलामको माङ्माल्ुङ, इभाङ, ताप्लेजोङको कोमेहेले, सुकेटार, पान्थरको कुरुम्बा १ सिक्तेम्बु, याम्बोङ, लुङरुम्पामा त्रिशुल गाडेर पानी उमार्नुभयो ।
फाल्गुनन्दले चारखाल चुकचिनाम्बा माङ्हिम् (१९८३), नाम्भुनयन लोब्रे सुर्यद्धारी माङ्हिम् (१९८७), लब्रे माङ्हिम् १७ थुम (१९८८), याङ्रुप काबेली (१९९२), चिलङ्सिे माङ्हिम् (१९९७), चारखोला जितपुर गाछी माङ्हिम् (१९९९), कुम्भकर्ण घुँसाघुँसा माङ्हिम् १९९४) र भुटान घुम्ने ब्लक लामिटारमा युमा माङ्हिम् निर्माण गरी सेवा गर्ने परम्पराको जग बसाल्नु भयो । सामाजिक चालचलन र मुन्धुम दर्शनमा सुधारको खाँचो देखेपछि फाल्गुनन्दको उपस्थितिमा शेरबहादुर लावतीको सभापतित्वमा १७ थुम १० लिम्बुवानका प्रतिनिधित्वसहित वि.सं. १९८८ साल बैशाख २४ गते पान्थर जिल्ला साविक चेक्मागू गाविस, तिउली चाङ्गू, साबेन हाङ् तुम्याङ यकमा महाचुम्लुङ गरिएको थियो । चुम्लुङबाट ७ वटा बुद्धाहरु पारित गरी ‘सत्य धर्म मुचुल्का’ तयार गरिएको थियो । मुचुल्कामा आफ्नो भाषा लिपिबाट अध्ययन, अध्यापन गर्न विद्यालय स्थापना गर्ने, इटदेव पितृपुजन र जन्म, विवाह र मृत्यु संस्कारमा जीवघात, हिंसा, मद, मंस परित्याग गरी फलफुल कन्दमुल नैबेध सिन्दुर धुप पातीले गर्नु, मृतकमा ९ दिनमा कुश्रृङ्बा बारी १० दिनको दिन शुद्ध हुने गरी क्रियापुत्री बाहेक तीन दिन बार्नु, शुद्धाइ मरु, मृत्यु कार्य मुक्ति दिदा सामसामा विधि विधानबाट मुक्ति दिनु र पिण्ड दिदा चढाउदा मासुमंस, जाडरक्सी नचढाउनु, दुध फलफूल अदुवा चामल, पिण्ड दिनु, सुगुर र कुखुराको मासु नखानु, किरातीले जाँडरक्सी परित्याग गर्नु, घरघरमा तानबुनी स्वदेशी कपडा लगाउनुजस्ता समाज सुधारक कुरा उल्लेख छ । वहाँले अगुवाई गरी जारी मुचुल्का २०२७ सालमा वीरेन्द्र कुमार तुम्बापो र विष्णुनाथ श्रेष्ठले सम्पादन गरेर बैजनाथ तु्म्बापोले प्रकाशन गर्नुभयो । ‘किरात सुषमा’ नै पहिलो, पुनः प्रकाशित सत्य धर्म मुच्ल्का हो । १० वुद्धे यदाकदा पनि भन्ने गरिन्छ तर त्यो असत्य हो । मुचुल्का ७ वुद्धे नै हो । लिखित पाण्डुलिपि १७ थुमको १७ थान लेखेर सबैलाई वितरण गर्नुभएको थियो । तीन स्थान सरेर ५ दिनसम्म लामो छलफल गरेर सत्य धर्म मुचुल्का पारित भयो । मुचुल्काले समुदायमा सकारात्मक छाप छोड्यो । फाल्गुनन्दले समाज सुधारमा अतुलनीय योगदान पु¥याउनु भएको छ ।
सांसारिक जीवनबाट पान्थर सिलौटीमा वि.सं.२००५ चैत ५ गते सोमबार ६३ वर्ष ४ महिना २७ दिनमा निधन हुनुभयो । सिलौटीमा वहाँको समाधिस्थल छ । समाधिस्थल किरात धार्मिक पर्यटकीय क्षेत्र हो । महागुरु फाल्गुनन्दको स्मृतिमा तेह्रथुमको इवा र संक्रान्तिबजार, झापाको दमकको फाल्गुनन्द चोक र बेलडागी, शान्तिनगर, इलामको माङ्सेबुङ, हात्तीलेदा, ललितपुरको चुम्लुङ हिम्, पान्थरको फेदेन, हाङ्गुम, रवि, लगायत स्थानहरुमा मुर्ति राखिएको छ । राष्ट्रको विभुति घोषणा गरिएपनि विशेषतः लिम्बु, किरातजन्य संघसंगठनले विशेष श्रद्धापूर्वक कार्यक्रम गर्दै समाज सुधार दिवस मनाउने चलन बढ्दो छ । वहाँको सम्मानमा बैशाख २४ गते किरात समाजसुधार दिवस, कार्तिक २४ गते जन्मजयन्ती र चैत २२ गते स्मृति दिवस मनाइदैछ । नेपाल सरकारले राष्ट्रिय विभुतिको नाममा रु १५ को हुलाक टिकट (२०५०), नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनी, दमकदेखि माङ्सेबुङ, रविहुँदै राँके जोड्ने सडकलाई फाल्गुनन्द मार्ग नामाकरण(२०५७), राष्ट्रिय विभुति घोषणा (२०६६ मंसिर १६) र सार्वजनिक विदा दिएको छ । माङ्हिम् (मन्दिर), गाउँ, टोल, बाटो, संघसंस्थाको नाम पनि राख्ने क्रम बढ्दो छ ।
विभुतिले देशको अमुल्य निधि भाषा, लिपि, धर्म संस्कृति, इतिहास जोगाइ राख्न, समाजमा व्याप्त कुरिति, कुस्कारलाई रोकी समाज सुधार गरी राष्ट्रलाई अतुलनीय योगदान गर्नुभएको छ । पुरै देशले नै राष्ट्रिय विभुति मानिरहदा सगौरब वहाँको योगदानको चर्चा गर्न जरुरी छ । कोही सत्यहाङ्मा, कोही हत्याहाङ्मा भनेर छेडाछेड गरिहेको परिस्थिति पनि छ । यस्ले वहाँको महिमा घटाइ रहेको प्रष्ट छ । सत्र्य धर्म मुचुल्कामा उल्लेखित जुनसुकै देशका नागरिकहरु सत्यहाङ्मा हो । कुनै धर्म सँग जोडिएर मात्र नहेरौ । वहाँको योगदानको सदैब कदर गरौं ।
सन्दर्भ समाग्री
–किरात समाचार मासिक, वर्ष २१, अंक १
–किरात लिम्बुवान र लिम्बुहरु(सेर्मा साम्जीरी सेमी)
–सिक्मिका लिम्बु अनि लिम्बु भाषा(पहलमान सुब्बा)
–सत्यधर्म मुचुल्का (चन्द्रकुमार सेर्मा लिम्बु पापोहाङ)
–लिम्बु विद्यार्थी मञ्चको ताप्लीजोङ घोषणा पत्र
(लेखक ः लिम्बू विद्यार्थी मञ्चको पूर्व अध्यक्ष र सेवारो पोष्टका प्रधान सम्पादक हुन् ।}


192 पटक हेरिएको 












