लिम्बू जातिमा तुम्याङ न्याय प्रणाली ः प्रथाजनित कानून
अमृता थेबे
१. प्रथाहरु कानूनको रुपमा विकसित
कुनैपनि व्यक्ति, परिवार, जाति, समुदाय, सम्प्रदायका जीवनमा उनीहरुका परम्पराहरुले गहिरो प्रभाव पारेको हुन्छ । उनीहरुको परम्परागत विश्वासहरुले समाजलाई बाँध्न रीतिरिवाजहरुको निर्माण गरेको हुन्छ । हिजोको सामाजिक विकासमा कस्ले के गर्दा हुने, कस्ले के गर्दा नहुने सामाजिक व्यवहारहरु रीतिरिवाजहरुमा भेटिन्छन् । जब रीतिरिवाजहरुलाई समाज विकासले संक्रमण गर्छ अनि त्यस्ता रीतिरिवाजहरुलाई प्रथाका रुपमा चिन्न थालिन्छन । रीतिरिवाजहरुमा भेटिने यस्ता सामाजिक व्यवहारहरु प्रथाको रुपमा स्थापित भएर हाल आएर समाज र राज्यको आवश्यकता बमोजिम कानूनको रुपमा विकास हुँदै आएका छन् । कुनै पनि जाति, समुदायले राज्यको स्थापना गरेर आफ्ना प्रथाहरुलाई सामाजिक व्यवहारमा ल्याएपछि प्रथाले कानूनको रुप लिएको भेटिन्छ । हाम्रो देशमा विशेषगरी आर्य नश्ल मूलकाहरुले जबरजस्त राज्य विस्तार गरेपछि बाँकी नश्लका प्रथाहरुले कानूनको रुप लिन नसके पनि मुलुकी ऐनका कतिपय कानून विभिन्न जाति, समुदायका प्रथाबाट प्रभावित छन ।
२. लिम्बू जातिमा प्रथा जनित कानून
लिम्बूहरु आफूलाई सुसुवा लिलिम याक्थुङहाङ का सन्तान भनेर चिनाउँछन । आफ्नो भाषालाई याक्थुङबा पनि भन्छन । उनीहरुको आफ्नै सिरिजङ.गा लिपि छ । उनीहरु आफ्नो पितृ पुकार्ने बोलीलाई मुन्धुम भन्छन । मुन्धुमलाई लिम्बू तुम्याङ (भद्रभलाद्मी) फेदाङबा÷मा, साम्बा, येबा, येमा (पुजारी) हरुले हिजो देखि वर्तमान सम्म व्यवहारमा ल्याईरहेका छन् । मन्धुम मार्फत उनीहरुका आस्था, संस्कृति, संस्कार, परम्परागत न्यायिक मान्यताहरु निर्देशित छन । मुन्धुम उनीहरुले सामाजिक इतिहास मात्र नभएर नीति कथा पनि हो ।
लिम्बू जातिमा पाईएका परम्परागत कानूनी मान्यताहरुको टिपोट देखि अध्ययन–अनुसन्धान गर्ने कार्य देशी विदेशी विद्वानहरुबाट भइरहेको छ । ब्रिटिश लेखक ब्रयाएन हग्टन हज्शन (१८४५ई.) ले आफ्नो पाण्डुलिपी खण्ड – ७४ र ८५ मा विवाह संस्कारलाई लिएर सैमुन्द्री (मे?लुङ फुसिङमा) दस्तुरको बारेमा लेखेका छन । सैमुन्दी दस्तुर बुझाउन नसकेमा लोग्नेको आफ्नी श्रीमती, छोराछोरी ससुराली घरको नोकर सरह हुने र छोराछोरी बाबुआमा बेगरका बतासे (खोसा) र नोकर हुने लेखेका छन । त्यस्तै उनले हाडफोरालाई तुम्याङ (बुढापाका) हरुले ढुङ्गा छुवाई (हातले सोहोरेर छुनु) छुवाई छुट्टयाउने चलन रहेको लेखेका छन । इमानसिं चेम्जोङले दश लिम्बूको रीतिथितिलाई लिएर तुम्याङको चर्चा गरेका छन् । उहाँका अनुसार लिम्बूका राजसभामा हाङतुम्याहाङहरु राजा, मन्त्री, भारदार र थक्तुम्बाहरु मूल सरदारका रुपमा रहन्थे । बाँकी सदस्यहरु पासिङपादाङ भनेर चिनिन्थे । ज्यानमारालाई बदली ज्यान लिइन्थ्यो । चोर्नेको हात उम्लेको पानीमा डुबाइन्थ्यो । गाउँको छुल्याहालाई देउताकोथानमा लगेर आइन्दा नगर्ने कसम खुवाइन्थ्यो । हाडफोरालाई जन्मभर दास बनाइन्थ्यो । दूधफोरालाई गाउँबाट निकालेर ओढारमा राखिन्थ्यो (१९४८?, पृष्ठ २६ ई.) । त्यस्तै उहाँको पछिल्लो प्रकाशनमा चुम्लुङ (कचहरी) बोलाएर तुम्याङले गर्ने कार्य चोक्फुङ र साम्योकलुङको चर्चा भएको पाइन्छ । उनले फेदाङबा (कुल पूजारी) बाट विधि सम्पन्न गरि गैह्र लिम्बूलाई लिम्बू बनाउने (भैयाद बनाउने विधिलाई चोक्फुङ भनेका छन् । त्यस्तै झगडाका दोषीहरुलाई कायलनामा गराई दुबो–ढुङ्गो छुवाउने विधिलाई साम्योकलुङ भनेका छन् (२००३, पृष्ठ ६०–६५ ई.) । अर्जुनबाबु माबुहाङ (वि.सं. २०७० पृष्ठ ०७–११) ले दाजुको मृत्य पश्चात भाउजु बेहोर्ने (फावा चेप्मा), घर–जग्गा नीति मिलाउने (सादाप्ला याङदाप्ला एप्मा) ऋण खाए बमोजिम वा क्षेतिपूर्ति बुझाउन रुपिँया बुझाउन नसकेमा नोकरचाकर बसेर चुक्ता गर्ने (खेब्जा) लगायत झड्केलो छोरा (कुन्धासा) लाई सामाजिक मर्यादा दिलाउने परम्परागत न्यायिक मान्यताहरुको चर्चा गरेका छन् । यहाँनेर लिम्बूजातिले परम्परादेखि गर्दै आएका न्यायिक कार्यहरुको चर्चा गर्न लागिएको हो ।
२.१ चुम्लुङ
मुन्धुममा प्राकृतिक विपत्तीबाट बच्न चुम्लुङ (कचहरी÷सभा) को आयोजना भएको पाउँछौं । मुन्धुम अनुसार घामलाई पृथ्वीतलका पशुपंक्षीको चुर्तिफर्ति मन पर्दैन र उसलाई डाह हुन्छ र बेस्सरी जलचर थलचरहरुलाई सेक्न थाल्छ । यस्तो भएपछि दुष्ट घामबाट बच्न भूमिपुत्रहरु लुङबोङबा खाम्बोङबाको अगुवाइमा पुच्छर डढेका दुम्सी, प्वाँख डढेका चरा लगायतका मनुष्य, पशुपंक्षकिो चुम्लुप सभा बस्छ । घामको अन्त्य गरिन्छ । यसरी हेर्दा चुम्लुङ लिम्बूहरुको पहिलो न्यायिक निकाय हो । गाउँघरका झै–झगडाहरु आजसम्म पनि गाउँका ठूलावडा तुम्याङहरुको चुम्लुङमा मिलाउँछन । चुम्लुङ भनेको कचहरी सभा हो । चुम्लुङ (सभा÷कचहरी) मा येहाङसा .प्रजा) हरु न्याय माग्न आउँथे । कचहरीमा पासिङ पादाङ÷साजोरा इङपम (कचहरीलाई सहज बनाउने÷प्रतिनिधि) हरुको भूमिका हन्थ्यो । कचहरी भेला (चुम्मा) भईसकेपछि चुम्याङले न्याय दिन्थे । तुम्याङले दिएको न्यायलाई सभाले अनुमोदन गरेपछि लामो ढुंङ्गा गाढेर (लुङ लेप्मा) आधिकारिता दिइन्थ्यो ।
२.२. तुम्याङ मुन्धुममा दुष्ठ घामलाई अन्त गर्न मुसा, दुम्सी, चरा लगायतका पशुपंक्षीहरुले लुङबोङबा खाम्बोङबा हरुसँग ज्याला मागे । लुङबोङबा खाम्बोङबाहरुले मनुष्यले लगायका अन्नवालीहरु मनुष्यले नटिपी नखाई तिमीहरुले खान भनेर ज्याला तोकिदिए । यसरी ज्याला तोक्ने हैसियत राख्ने लुङबोङबा खाम्बोङबाहरु तुम्याङ कहलिएको पाउँछौं । यसरी मुन्धुममा दुष्ट घामलाई दण्ड दिएर पहिलो चोटी तुम्याङले न्याय दिलाएको पाउँछौं ।
तुम्याङ भनेका चुम्लुङमा उपस्थित प्रजाहरुलाई न्याय दिलाउने निकाय हो । गाउँघरमा आजसम्म केही संस्कारजन्य कार्य र कचहरीमा उपस्थित केही पाका मानिसहरुलाई तुम्याङ भन्ने चलन छ । ‘तुम्याङ’ शब्द हाक्पारे गीत गाउँदा र चिन्ता राख्दा फेदाङबा÷मा, साम्बा र येवा÷येमाहरुले कताकता बोलेको गाएको सुन्न पनि पाइन्छ । विशेषगरी विवाहको रित मिलाउने जस्तोः जारी उठाउने जस्ता झमेलाहरु आजसम्म पनि तुम्याङले मिलाउँछन । गाउँका ठाउँठाउँमा च्याप्लेटी ढुंङ्गाहरु बिछ्याएको आजसम्म पाइन्छन । त्यहाँ चुम्लुङ (कचहरी) बसेर तुम्याङले झगडा मिलाउँथे भनेरु अझै भन्छन् बुढापाकाहरु । ठाउँठाउँमा ठाडो गाडिएका ढुङ्गाहरुलाई आजसम्म पवित्र रुपमा पुजिने गरिन्छ । जग्गा जमिनको साँध सीमाना मिलाउन यस्ता ढुङ्गाहरु तुम्याङले गाडेको भनेर अझै लोकोक्ति छँदैछ । यसदेखि बाहेक मृत्यु संस्कारहरुमा पनि आजसम्म पनि तुम्याङको भूमिका पाइने गरिएको छ । युम्सा (नुन, तेल) खाउमा (शृद्धाई देखि गाली सराप बगाउने जस्ता संस्कारहरुमा तुम्याङको उपस्थित अनिवार्य पाइन्छ । तुम्याङ हुनुलाई कस्तो योग्यता चाहिने भन्ने दृढ लोकोक्ति नभएपनि तुम्याङ चिनिनलाई मुन्धुमको ज्ञाता र परम्परागत नीतिलाई बहस गर्न सक्ने हुनुपथ्र्यो । लिम्बू जातिका प्रायः जसो सबै सांस्कृतिक कार्यहरु देखि न्यायिक कार्यहरुमा तुम्याङको उपस्थिति अनिवार्य रहन्छ । राजनीतिक व्यवस्थाको परिवर्तन सँगसँगै तुम्याङबाट सुब्बा, सुब्बाबाट पञ्चको रुपमा प्रतिस्थापित भएको सजिलै अनुमान गर्न सकिन्छ ।
२.३ साम्योक लुङथिम÷चोक्फुङ (भैयाद बनाउन)
लिम्बू समुदायमा बारिहका व्यक्तिहरुलाई आफ्नो वंश भित्र ल्याउने विधिलाई चोकफुङ (भैयाद बनाउने भनिन्छ । यस प्रकारको चलन लिम्बू समुदायमा धेरै पछि सम्म रह्यो । चोकफुङ बनाउन आवश्यक सामाग्रीहरु यसप्रकार छन ः
१) लुङदुमपक्वा (ढुङ्गामा जमेको चोखो पानी)
२) सिङदुम पक्वा (रुखको टोड्कामा जमेको चोखो पानी)
३) साम्बोक यान (दुबो)
४) मिलाकलुङ (दलसीन ढुंङ्गा)
५) चिसो छपनी÷जाँड (पगुम कुथिः)
६) रातो अचानो÷मासु (लासा कुसा)
पहिले तुम्याङले चुम्लुङ्ग (कचहरी) बोलाउँछन । भयौद बन्न चाहनेहरुले लङुदमु पक्वा, सिङदमु पक्वा, साम्बोक यान (दुबो), मिजाकलुङ (दलसीन ढुङ्गा), चिसो छपनी, रातो अचानो तुम्याङका अगाडी राख्छन् । यस पश्चात एकजना पासिङ पादाङ (सभाका सदस्य) उभिएर ‘फलाना फलाना व्यक्तिहरु आज यो वंश र थर भित्र प्रवेश हुने भनेर तुम्याङहरुसँग अनुमती मागेका छन् । तिमीहरु देउता सरह मानिएका पुजिएका तुम्याङको के राय छ ?’ भनेर उद्घोषण गरेपछि तुम्याङहरुले ‘ठीक छ आज उनीहरु हाम्रो वंशमा प्रवेश गराई दाजुभाई बनायौं । दुबो जस्तै मौलाउनु, ढुंङ्गो जस्तो अटल रहनू’ भनेर आशिर्वाद दिँदै तुम्याङहरुले प्रवेशकर्ताहरुलाई दुबो ढुङ्गो छुवाएर चोखो पानीले अभिषेक गराउँछन् । यति भएपछि जाँडपानी, मासु खाने कार्य हुन्छ । यस्तो प्रथालाई साम्योक लुङयोकथिम अथवा चोक्फुङ पनि भनिन्छ ।
२.४ शसीङ लाप्मा (धर्मपुत्र राख्ने)
आफ्ना सन्तान नभएको अवस्थामा वा आफ्नो वंश वृद्धि गर्न इच्छा भएमा शसिङलाप्मा कार्य गरिन्थ्यो । धर्मपुत्र बन्नेको मञ्जुरी चाँहि अनिवार्य चाहिन्थ्यो । यसका कार्यका लागि तुम्याङले चुम्लुङ बाृेलाएर चोखो पानीले अभिषेक गर्दै दुबो ढुङ्गो छुृवाएर भैयाद बनाए जस्तै शसिङ लाप्मा संस्कार सम्पन्न गरिन्थ्यो ।
२.५ मे?लुङ फसुङमा (सैमुन्द्री÷क्रिया सार्नु)
छोरीले माइतबाट आफ्नो घर तिर क्रिया सार्ने संस्कारलाई मे?लुङ फुसिङमा भनिन्छ । छोरीज्वाईलाई मे?लुङ फुसिङमा संस्कार नगरेसम्म छोरी र भान्जाभान्जी मामलाकै हुन्थे । जुठो पनि मावलीलाई नै लाग्थ्यो । यसकारण आवश्यक दस्तुर बुझाएर बाबुले आफ्ना परिवार ससुरालीबाट सैमुन्द्री दस्तुर बुझाएर उकासेर ल्याउनु पथ्र्यो । दस्तुर लिने दिने दशलिम्बू सत्रथुममा एकैनासका पाइन्दैन । खोक्पा, सुँगुर, रक्सी र शिर उठाउनी रुपिँया ससुरालीमा बुझाएपछि मात्र ससुराली तिरका तुम्याङले चुम्लुङ भेला गरेर ज्वाईँतिर जुठो सारीदिन्थे । यदि मे?लुङ फुसिङ संस्कार नगरि आफ्नो परिवार, छोराछोरीको मसत्यु भएमा ससुरालीमा गएर उक्त संस्कार गरेर मात्र बाबुले आफ्ना परिवारको सतगत गर्न पाउँथ्यो ।
२.६ का?इ सोधोक (हाडनाता बिग्रने)
आफ्नो नाता, साइनो लाग्नेहरुसँग यौन सम्बन्ध वा विहावारी भएमा का?इसोधोक (हाडनाता करणी भइन्छ । यस्ता मुद्दाहरु तुम्याङहरुले चुम्लुङ बोलाएर छिन्थे । तुम्याङहरुले साइनो केलाएर हाडनाता भएको ठहर गरेपछि उनीहरुलाई गाउँ निकाला सम्म गर्ने । त्यस्तालाई अर्कै थर दिन्थे । त्यसपछि सिमल, फलेदो रोपिन्थ्यो । मुन्धुम अनुसार हाडनाता गर्नेलाई माथिबाट चट्टयाङले बर्सनु र तलबाट भुँइचालोले पुर्नु भन्ने भएकाले चट्टयाङ, भुइचालो रोक्न सिमल फलेदो रोपिएको हो ।
२.७ खोसा (बेवारिसे बालक)
बाबु पत्ता नलागेको बच्चाहरुलाई खोसा भनिन्थे , पहिलो लोग्ने छोडेर गएको स्त्रीको पेटबाट जन्मिएका बच्चाहरु बढीजसो खोसा हुने गर्थे । तुम्याङले चुम्लुङमा आमालाई आधार मानेर फलानोको बच्चा हो भनेर टुंङ्गो लगाइदिन्थे । अनि मात्र खोसाहरुले सामाजिक मर्यादा पाउँथे ।
२.८ चि?लि नारा फोःङमा (शिर उठाउनी)
सानो साइनो भएकाले ठूलो साइनो पाएकालाई गाली बेइज्जती वा कुटपिट गरेमा ठूलो साइनो पाएकाको गल्ती नै भएमा शि ढलेको (लि?लि नारा सुःम्मा) मानिन्छ । यस्तो अवस्थामा तुम्याङले साना साइनो पाएकाले ठूलो साइनो पाएकालाई माफ माग्न लगाई एक चौँठो रक्सी रु.१।– राखेर मुन्धुम गर्दै शीर उठाइदिने चलन छ । यसपछि झगडनामा भएको धनजनको क्षति हेरी बाँकी क्षेतिपूर्ति गराइने चलन छ ।
२.९ जारी उठाउने (लाबा याङ कुप्मा ?)
लिम्बू गाउँघरमा आजसम्म पनि जारी उठाउन जाँदा झगडा भएको कुरा बुढापाकाहरु गर्छन । आफ्नो श्रीमनी पौयला लाने लोग्ने मान्छेलाई जार भनिन्थ्यो । जारबाट पहिलेको लोग्नेर्ला तुम्याङले जारी उठाइदिन्थे । यस्तो अवस्थामा पहिले विवाहमा पहिलेको लोग्नेले ससुरालीमा तिरेको सुनौली र रुपौलीको आधारलाई मानेर तुम्याङले जारी उठाइदिन्थे । लिम्बू भाषामा सौतालाई लामा भन्छन् । त्यस्तै जारलाई लाबा भन्ने हो कि ।
२.१० लुङ लेप्मा
जग्गा जमिनसँग सम्बन्धित झगडामा तुम्याङले झगडाको छिनोफानो गराएपछि सत्यवाचा गरि ढुङ्गा गाढ्ने चलनलाई लुङलेप्मा थिम भनिन्छ । दाजुभाई छुट्टिदाँ, जग्गा अंशवण्डा गर्दा, जग्गाको साँध सिमाना छुट्टयाउँदा जस्ता न्यायिक कार्यमा तुम्याङहरुले झगडा छिनोफानो गरेपछि ढुंङ्गा गाडिन्थे । यसरी तुम्याङले झै झगडा सल्टाएर गाडिएका ढुङ्गाहरु अझै पनि गाउँघरमा देख्न पाइन्छ । यस्ता ढुङ्गाहरु गाडिइका गाउँघरमा आजसम्म पनि देख्न पाइन्छ, जसलाई लिम्बूहरुले पवित्र वस्तु मानेर श्रद्धा गर्छन ।
२.११ नाजोङ
विवाह लगनमा फेदाङबाले तुम्याङहरुको रोहवरमा बेहुलाले बेहुलीको मोजेत्रोमा सत्यवाचा गराएर ढुङ्ग बाँधिदिने चलन छ । ढुङ्गाको ठाउँमा चाँदीको ढ्याक बाँध्न थालेपछि त्यसलाई युप्पालुङ भनिन थालियो । उक्त बाँधिएको ढुङ्गासँग फेदाङबाले यस्तो सत्य वाचा बाँधेको हुन्छ ः–, ‘यदि श्रीमतीले लोग्नेसँग घरजम गरिदान नसकेमा श्रीमतीले लोग्नेलाई उक्त युप्पालुङले लोग्नेको निधारमा हानेर गएमा श्रीमतीले लोग्ने छोडेर गएको ठहरिनेछ ।’ पहिले पहिले लिम्बूनीले आफ्नो श्रीमानसँग चित्त नबुझेमा युप्पालुङले हानेर आफ्नो लोग्ने छोड्ने चलन थियो । त्यसपछि लिम्बूनी फेरी कन्या हुन्थे । यसरी स्वास्नीले लोग्ने छोड्ने परम्परालाई नाजोङ भनिन्थ्यो ।
२.१२ खेमजोङ
लोग्ने स्वास्नीबीच घरजम नहँुदा लोग्नेले श्रीमतीसँग सम्बन्ध विच्छेद पाउँथे । यस्तो अवस्थामा तुम्याङले श्रीमतीले पाउने अंश लोग्नेबाट दिलाइदिन्थे । यस्तो परम्परालाई खेमजोङ भनिन्थ्यो । यस्तो परम्परा कमै मात्र भएको अनुमान गर्न सकिन्छ ।
२.१३ थाङसिङमा (सुनौली – रुपौली)
विवाहमा बेहुला पक्षले बेहुली पक्षलाई बुझाउनु पर्ने गरगहनालाई सुनौली र रुपिँयालाई रुपौली भनिन्छ । यस प्रकारको सम्पत्ती, रुपियाँ वास्तवमा माइती पक्षकाले छोरीचेलीकै लागि तुम्याङको रोहवरमा राखिने गरिन्छ । भावी दिनमा छोरीले दुःख पाएमा त्यही सम्पत्ती छोरीलाई दिने गरि जम्मा गरिएको हुन्छ । तर बढीजसो प्रचलनमा माइतीले छोरीचेलीको सुनौली रुपौली मासिदिएको देखिन्छ । छोरीको रित खाने चलनलाई लिएर बुढापाकाहरुको जनश्रुति यस्तो छ, ‘उहिले एक तरुणले र तरुणीलाई विवाह गर्न प्रस्ताव राखेछ । तरुणीले तरुणलाई ढुङ्गाको तराजु नेन्दुरि पासाङगा मा मा जोखिन्दा तौलमा जित्न सक्यौ भने मात्र विवाह गरौं भनेछ । अनि जोखिएछन । तरुणस् भन्दा तरुण खुकुरी भिरेको कारण गह्रौं भएछ । यस कारण तरुणीले समान तौलको अपेक्षा तरुणसँग गरेकाले तरुणीलाई कान, नाक, घाँटी, हात र खुट्टामा गहनाहरु लगाएदिनु परेको हो ।’
२.१४ चारकलम (सुङलिङ ना?ला ?)
विवाहमा चारकलम महत्वपूर्ण रित हो । यस भित्र केटी माग्न जाँदादेखि बेहुली भोज (इङमे) सम्म केटा पक्षकाले केटी पक्षकालाई बुझाउने दस्तुर पर्दछन् । चारकलम रितको थुमथुममा फरकफरक विधि अपनाइएको र फरकफरक दस्तुर लिने गरिएको पाइएको छ । यहाँ नेर चारकलमका लागि केटी माग्नजाँदा सम्मको विधिको मात्र व्याख्या गरिएको छ ।
१) याङथोक्मा ः केटी माग्न जाने लमीले केटीपट्टीकासँग बास माग्ने दस्तुर …….।
२) पान ताप्मा ः केटी माग्न कुरा चलाउने दस्तुर …………..।
३) थाङसिङमा ः केटीका लागि माइतीले गहना, रुपिँया लिने दस्तुर …………. ।
४) सुभाचा ः तुम्याङ दस्तुर …………………… (सुबाङ्गी चलेपछि तुम्याङको दस्तुर सुभाचा (सुब्बाको पाँदार) मा परिवर्तन भएको अनुमान गर्न सकिन्छ । यी दस्तुरहरु तुम्याङका अगाडी राखिदिएपछि तुम्याङले केटा पक्ष केटो पक्षका लागि सहजवातावरण बनाउने र समुदायमा अनुमोदन गर्ने कार्य गर्छन ।
विवाहको रितलाईलिएर थुपै्र किसिमका दस्तुरहरु प्रचलनमा आएका छन् । विशेष गरी चोरी विवाहमा घरमा राखिएको पेको सुप्मा (छोरी चेली भागेर पोइल गएपछि सानो बाकसमो चोयाले बुनिएको पेरुङ्गोमा दुइटा सिन्का राखिने चलनबाटै रितभात सुरु हुन्छ । भागेर पोइल जाने छोरीचेलीको फुप्पु, दिदीहरु छन भने केटा पक्षकाले सिङको कोक्मायाङ तिर्नुपर्ने महत्वपूर्ण दस्तुर हो । लिम्बूसंस्कारमा जुनसुकै दस्तुर एक चौंठो रक्सी (सिजङवा पङ थिक) र रु. १।– याङथिक) प्रचलनमा ल्याइन्छ । यसैलाई कसैले कम पनि राख्छन त कसैले धेरै । यस्तादस्तुरहरु लिन थुम थुमका तुम्याङहरुमै भर पथ्र्यो ।
२.१५ तुम्याङ न्यायिक प्रणालीलाई कसले प्रभाव पा¥यो ?
वास्तवमा लिम्बूहरुको जातीय शासनको अन्त्यसँगै तुम्याङ प्रणालीमाथि पनि प्रभाव पर्दै गएको अनुमान गर्न सकिन्छ । तुम्याङ प्रणालीलाई तिब्बतका लामाहरुले राजनीतिक र साँस्कृतिक रुपमा सबैभन्दा पहिला प्रभाव पारेको देखिन्छ । लिम्बू भाषा, लिपिका प्रचारक सिरिजङ्गालाई सिक्किममा लामाहरुले नै हत्या गरे । अर्जुनबाबु माबुहाङ (वि.सं. २०६९ वृष्ठ २९) का अनुसार मिवाखोलाका श्रेङ लिम्बूहरुका भान्जा सुनमाला अङ्शिले नाल्बो (फचङ) मा गुम्बा बनाएर बौद्ध धर्मको प्रचार गरेका थिए । लामाहरु पश्चात हिन्दु गोर्खालीले लिम्बूहरुको परम्परागत आस्थामा विचलन ल्याएको देखिन्छ । वि.सं. १८७५ मा नीति (परम्परागत मुन्धुम मान्नेहरु) र स्मृति (हिन्दु धर्म मान्न थालेकाहरु) मा लागेको लिम्बूहरु पाइन्न् (नेपाल, वि.सं. २०५५, पेज २६४, ६५) । साम्मृति (मनु स्मृति ?) मान्ने लिम्बूहरुमा चैनपुरका फागु चङबाङ, मास्रेङका सिरिङ (सिरेङ) र याङरुपका योङहाङ र नीति (मुन्धुम लाई मान्ने अनुसरण गर्ने आङबुहाङ, हाङबाङ, साम्बाहाङ (साँबा ?) थिए (काइँला, वि.सं. २०६३, पृष्ठ १११) । वर्तमान आधुनिक नियम कानूनहरुले तुम्याङ प्रणालीलाई प्रभाव पारेपनि साँस्कृतिक सवालहरुमा तुम्याङ प्रणाली जिवितै छ ।
३. वर्तमानमा तुम्याङको महत्व र औचित्य
पहिले तुम्याङ हुनलाई खासै यसरी त्यसरी योग्यउ हुनुपर्छ भन्ने नभएपनि तुम्याङ हुनलाई पाको हुनभन्दा पनि लिम्बूको संस्कृति, संस्कार र नीतिमा जानिफकार हुनु अनिवार्य थियाृ । लिम्बूका संस्कार, संस्कृति र नीति बुझ्नलाई मुन्धुममा पोख्त हुनु पथ्र्यो । फेदाङबा, साम्बा र येवा÷येमाहरु तुम्याङबाटै निर्देशित हुन्थे । तृम्याङ प्रणाली भित्र न्यायिक र संस्कारगत गरी दुइवटा फाँट बनाई तुम्याङ, फेदाङबा, साम्बा र येवा÷येमाहरु उत्पादन गर्ने संस्थाको निर्माण गर्न जरुरी देखिन्छ । यसका लागि लिम्बूको जातीय संस्था किरात याक्थुङ चुम्लुङ, थरगत लिम्बूका संस्थादेखि लिम्बू बुद्धिजीविबाट पहल हुनु जरुरी छ । तुम्याङ प्रणालीको पुन स्थापना भएको खण्डमा लिम्बू भाषा, संस्कृति र प्राचीन ज्ञानको स्रोत मुन्धुमको महत्व बढ्न जान्छ । मुन्धुमको ज्ञान भएपछि आस्था र पहिचानका सवालमा लिम्बू जातिमा दुविधा हुँदैन । यसकारण लिम्बूजातिमा एकता बढ्छ । यस्तो अवस्थामा आजसम्म लिम्बू समाजमा चलन चल्तीमा मर्यादित र सम्मानित ढङ्गले हेर्ने गरिएको ठानिएको वाक्यमा मात्र सिमित ‘तुम्याङ’ प्रणालीले जिवन्त पाउने निश्चित छ ।
४. लिम्बू संस्कृति र संस्कारको व्यवस्थापन
फेदाङबा, साम्बा र येवा÷येमाहरु तुम्याङबाट निर्देश हुने परम्परा कायम राख्न सकिएमा लिम्बूको परम्परागत संस्थाहरुले निरन्तरता पाउँछन र लिम्बूका आस्थामा विचलन आउने क्रम रोकिन्छ । मुन्धुम नै लिम्बू भाषा, संस्कृति, संस्कार र नीतिको स्रोत भएकोले लिम्बूको पहिचान संस्थागत भएर जान्छ । यसकारण हिजोको तुम्याङ प्रणालीलाई संस्थागत गर्न तमाम आज लिम्बूहरुको दायित्व बनेको छ ।
५.तुम्याङ प्रणालीलाई कसरी संरक्षण गरेर कसरी व्यवहारमा ल्याउन सकिन्छ ?
लिम्बू जातिले आफ्नो पहलमा तुम्याङ प्रणालीको संरक्षण गर्न जरुरी छ । प्रत्येक लिम्बू थरै पिच्छेका लिम्बूका लागि छुट्टाछुट्टै गाउँटोललाई चुम्लुङ गरेर तुम्याङ प्रणाली संस्थागत गर्न जरुरी छ । ती चुम्लुङमा भेला भएका सहभागीहरु पासिङ पादाङ बाट मुन्धुमका जानिफकारहरुलाई प्रतिनिधि साजोरा इङमि चुनेर तुम्याङ इकाई प्रणाली बनाउन सकिन्छ । हाल आएर लिम्बू जातिले तुम्याङ प्रणालीलाई कानूनको रुपमा स्वीकार्न राज्यलाई बाध्य पार्ने अवस्था सृजना गर्न जरुरी छ ।
६.स्थानीय सरकारमा प्रथा जनित कानून
वर्तमानमा नयाँ संविधान जारी भइसकेको छ । स्थानीय सरकारहरु बनिसकेका छन । स्थानीय सरकारमा गाउँपालिकाको उपाध्यक्ष वा नगरपालिकाका उपमेयरको अध्यक्षतामा न्यायिक समिति बनेका छन । स्थानीय निकायमा यस्ता प्रथागत कानूनहरु प्रयोगमा ल्याउन जरुरी देखिन्छ । प्रथाजनित कानूनहरु बढी व्यवहारिक छन् । यस्ता कानूनहरुलाई कानूनी मान्यता दिन जरुरी छ । यस्तो हुन सकेमा विशेष गरि यो देशका भूमिपुत्रहरुलाई आफ्नो माटो, इतिहास, परम्परा र परम्परागत ज्ञानको अपनत्व महत्व हुने निश्चित छ ।
७.सन्दर्भ सामाग्रीहरु
काइँला, बैरागी ।
वि.सं. २०६३ । हज्शन पाण्डुलिपिमा लिम्बू भाषा सम्बन्धी सामाग्रीको संक्षिप्त विवरण, बहाः जर्नल ।
हिमाल एशोसियसन, पाटनढोका ललितपुर ।
चेम्जोङ, इमानसिं ।
(मिति नभेटिएको ………………. १९४८ ई.) । किरात इतिहास, कालिम्पोङ ।
चेम्जोङ, इमानसिं ।
२००३ ई. (पहिलो संस्करण १९६७ ई.), हिष्ट्रि एण्ड कल्चर अफ किरात पिपल, किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय ललितपुर ।
नेपाल ज्ञानमणी ।
वि.सं. २०५५ । नेपाल निरुपण, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौ ।
माबुहाङ, अर्जुनबाबु ।
वि.सं. २०६९ । लिम्बू जातिका मुन्धुम र इतिहास, हरिश्चन्द माबुहाङ र भिम माबुहाङ, काठमाण्डौ ।
source : Yensalam 2077


185 पटक हेरिएको 












